प्राधिकरणले काबेली कोरिडोर निर्माणमा ध्यान दिएन, ५७ मेगावाट विद्युत् खेर जाँदै

    2190

    अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको काबेली कोरिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा पूर्वाञ्चलमा उत्पादन हुन लागेका ५७ मेगावाट विद्युत् खेर जाने भएको छ ।

     आगामी दुई महिनादेखि तीन महिना भित्र सो कोरिडोरमा तीन वटा आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

    तर काबेली कोरिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकता नराखेको र प्राधिकरणले समेत ठेकेदारलाई समेत काममा लगाउन सकेको छैन ।

     सो कोरिडोर निर्माण नहुँदा २५ मेगावाट क्षमताको काबेली बी एक, २२ मेगावाटको हेवाखोला  र १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कुल ५७ मेगावाट क्षमताका आयोजना हुन् ।

    काबेली बी एक आयोजना अरुण काबेली जलविद्युत् आयोजनाले निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले प्राधिकरणले काबेली कोरिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिदा आफूहरुलाई समस्या परेको बताउनुभयो ।

    उहाँले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधै समस्या मात्रै देखाउने र भारतबाट विद्युत् आयात गर्न मात्रै प्राथमिकतामा राख्ने गरेका कारण निजी ऊर्जा उत्पादकलाई समस्या परेको बताउनुभयो ।

    काबेली बी एक आयोजनाको हाल मेशिन जडानको काम अन्तिम चरणमा पुगेको छ । प्रमुख पोखरेलले पेनस्टक पाइप तथा मेशिन जडानको काम भइरहेको र आयोजना निर्माण सम्पन्न हुन लागेपनि प्रसारण लाइनको अभावमा समस्या पैदा भएको बताउनुभयो ।

     उहाँले आफूहरुले पटक पटक प्राधिकरणलाई छिटो प्रसारण लाइन बनाइदिन आग्रह गरेको भएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो । तर प्राधिकरणले भने प्रसारण लाइन निर्माणको काम भइरहेको जनाएको छ ।

    प्रसारण लाइनको राइट अफ बेमा पर्ने जग्गााको मुआब्जा वितरणमा समेत समस्या पैदा भएको छ । कुल २२ वटा टावर निर्माणमा समस्या उत्पन्न भएपनि समाधानमा प्राधिकरणले सहजीकरण गर्न सकेको छैन ।

    भारतबाट विद्युत् आयात गर्न तयार हुने प्राधिकरणले स्वदेशमा नै निर्माण सम्पन्न हुन लागेका आयोजनाबाट उत्पादित विद्युत् जोडन भने चासो राखेको छैन । प्राधिकरणले प्रमुख जिल्ला अधिकारीसँग गम्भीरताका साथ छलफल गर्ने हो भने समस्याको समाधान हुन सक्छ तर त्यसतर्फ हालसम्म पहल हुन सकेको छैन ।

    प्रमुख पोखरेलले पटक पटक प्राधिकरणका कार्यकारी निर्देशक र आयोजवना प्रमुखलाई समस्याको बारेमा जानकारी गराएपनि समस्या समाधान नभएपछि आफूहरु निराश भएको उहाँको भनाइ छ ।

     स्रोत:अर्थसंसार