पहिरोले जलविद्युत् निर्माण रोकियो

    1006

    विद्युत् उत्पादन ठप्प

    upper-madi
    बाढीपहिरोले कास्की र लमजुङका विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाको काम रोकिएको छ। कास्कीको एक आयोजनाको उत्पादनै ठप्प भएको छ। वर्षापछि आएको पहिरोले सिल्दुजुरे र नामार्जुन गाविस क्षेत्रमा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको काम अवरुद्ध भएको हो।

    बाँध नजिकै गएको पहिरोले सिभिल वक्र्सअन्तर्गत सुरुङ र डिसेन्डर जोड्ने कनेक्सन वेयर (नहर) निर्माणको काम रोकिएको आयोजनाले जनाएको छ। पहिरोले केही उपकरण पनि पुरेको आयोजनाका कोअर्डिनेटर राजकुमार बरालले बताए। नहर बनाउन १० चिनियाँ र ४५ नेपाली कामदार खटिएका थिए। ‘थप पहिरो आउन सक्ने/नसक्ने अवस्था हेरेरमात्र काम अघि बढाउने भनेर अहिले रोकिएको छ,’ उनले भने, ‘सहज अवस्था नभएसम्मलाई काम स्थगित गरेका छौ।’ त्यहाँको पहरो चर्किएकाले फेरि खस्न सक्ने अवस्था रहेको उनले बताए। अन्य काम भने सूचारु छ।

    ९८ प्रतिशत काम सकिएको २५ मेगावाट क्षमताको आयोजनाले आगामी डिसेम्बरभित्र व्यावसायिक उत्पादनका लागि काममा तीव्रता दिएको थियो। तर पहिरोले केही ढिलाइ हुन सक्ने उनले बताए। बाँध निर्माण र उपकरण जडान, चार हजार दुई सय मिटर लामो सुरुङ तयार भएर त्यसमा कंक्रिट लाइनिङ (फिनिसिङ) को काम धमाधम भइरहेको थियो। विद्युत् गृहको पनि सबै काम सकिएको छ। बरालका अनुसार बाँधदेखि सुरुङमा पानी पठाउने नहरको २० मिटर जति मात्रै जोड्न बाँकी रहेका बेला पहिरो खसेको हो।

    लमजुङ र कास्की सीमाको रुदी खोलामा बिन्ध्यवासिनी हाइड्रोपावरले निर्माण गरिरहेको ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ र ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ साना जलविद्युत् आयोजनाको निर्माण रोकिएको हो। बुधबार रातिको बाढीपहिरोले लमजुङको करापुटार रामबजारदेखि आयोजनास्थलसम्म जाने ३० किलोमिटर बाटोमा क्षति पुर्‍याएपछि सामग्री ढुवानी र ओसारपसार बन्द भएको प्रोजेक्ट इन्जिनियर सरोज भट्टराईले बताए। उनका अनुसार रुदी र मादी दोभानमा निर्माण गरिएको मोटरेवल पुल पनि बगेको छ। ‘पुल भत्किनुका साथै सडकमा क्षति पुग्दा आयोजनाको काम ठप्प भएको छ,’ उनले भने।

    उनका अनुसार रुदी ‘ए’ को पावर हाउस निर्माणस्थल मिजुरे ६, बालुवाबेंसीमा पहिरो गएपछि पावर हाउस नै सार्नुपर्ने अवस्थामा पुगेको छ। आयोजनाको क्याम्प र स्टोर पहिरोले पुरिदिएको छ। ‘आयोजनास्थलमा कन्ट्रक्सनका लागि ल्याइएको विद्युत्मा क्षति पुर्‍याएको छ। विद्युत् अवरुद्ध छ,’ उनले भने, ‘काम बन्दसँगै हामी पनि अन्धकारमा छौं।’ उनले १ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको बताए।

    रुदी ‘ए’ आयोजना ०७४ असारभित्र सक्ने योजना प्रवद्र्धन कम्पनीले लिएको छ। गत असारमा सक्ने आयोजना नाकाबन्दी र भूकम्पले समस्यामा पारेको इन्जिनियर भट्टराईले बताए। लमजुङको पसगाउँस्थित सिङीबेंसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमिटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेंसीस्थित विद्युत् गृहबाट उत्पादन गरिने छ। ३० प्रतिशत निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ। रुदी ‘बी’ आयोजनाको भौतिक संरचनामा क्षति नपुगे पनि सामग्री ढुवानी गर्ने बाटो बन्द भएको छ।
    यसैगरी विजयपुर खोलामा आएको बाढीले १ मेगावाट क्षमताको टास्क हाइड्रपावर अन्तर्गतको सेती दोस्रो आयोजनाको पावरहाउसस्थित स्विचार्ड सबै पुरेको छ।

    साथै ट्रान्समिसन लाइनलगायत सिभिल संरचनामा क्षति पुगेको आयोजनाका प्रशासन प्रमुख लेखनाथ देवकोटाले बताए। ‘बाढीले ९ करोड बराबरको क्षति पुर्‍याएको छ,’ उनले भने ।

    स्रोत : कान्तिपुर