निर्माणमा ढिलाइले कोहलपुर–सुर्खेत प्रसारण लाइनको लागत २४ करोड बढ्योे

    1385

    कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तार कार्य ढिलाइ हुँदा २४ करोड रुपैयाँ लागत वृद्धि भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन स्तरोन्नति गरी १३२ केभी गर्ने सो आयोजनाअन्तर्गत ५२ किमि प्रसारण लाइन विस्तार गर्न यसअघि साढे ७६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । आयोजना निर्माणमा ढिलाइ भएकाले एक अर्ब रुपैयाँ बढी लागत लाग्ने आयोजनाले जनाएको छ ।

    २६ वर्षदेखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन विस्तारका लागि अहिले लाटिकोइलीमा जग्गा खरिद गरी सबस्टेसन निर्माण गर्ने कार्य सुरु भएसँगै विद्युत् लाइन विस्तार कार्य तीव्र गतिमा भइरहेको छ । सबस्टेसनका लागि जग्गा खरिद गर्न सरकारले पहिलो चरणमा आठ करोड रुपैयाँ उपलब्ध गराएको कोहलपुर–सुर्खेत १३२ केभीए प्रसारण लाइन आयोजनाले जनाएको छ ।

    पहिले ५२ किमि प्रसारण लाइन विस्तार गर्न साढे ७६ करोड लाग्ने अनुमान गरिएको पनि आयोजना निर्माणमा ढिलाइ हुँदा एक अर्ब बढी लाग्ने देखिएको कार्यालयको भनाइ छ ।  विद्युत् प्राधिकरणले हालको ३३ केभीलाई स्तरोन्नति गरी १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न लागेको हो ।

    आयोजनाको मुख्य उद्देश्य डबल सर्किट १३२ केभी प्रसारण लाइन निर्माण गर्नु र विद्यमान कोहलपुर सबस्टेसनको क्षमता वृद्धि गरी लाटिकोइली गाविसमा नयाँ सबस्टेसन (१३२ र ३३ केभी क्षमता) निर्माण गर्नु रहेको छ ।

    वि.सं २०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको आदेशमा हतारमा बनाइएको कोहलपुर–सुर्खेत ३३/११ केभी विद्युत् प्रसारण लाइनको भार क्षमता विगत लामो समयदेखि अपर्याप्त छ ।

    विद्युत् प्रसारण लाइन विस्तारका लागि दुई वर्ष पहिले नै प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागले वातावरणीय प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको थियो ।

    आयोजना कार्यालयका अनुसार प्रसारण लाइन मार्गको चौडाइ  १८ मिटर हुनेछ । प्रसारण लाइनमा २० वटा सामुदायिक तथा मध्यवर्ती वनको ७६.१४ हेक्टर वन क्षेत्रफल प्रसारण लाइनबाट प्रभावित हुनेछ ।

    प्रसारण लाइन बाँके, बर्दिया राष्टिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र हुँदै रत्नराजमार्गको दाँयाबाँया भएर जानेछ । एङ्गल टावरहरू बीचको दूरी २ सयदेखि ७ सय मिटरसम्म हुनेछ ।

    टावरहरूको संख्या झन्डै १५० रहनेछ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा करिब २९.९४ हेक्टर र सुर्खेतमा ४६.२० हेक्टर वन प्रभावित हुनेछ । वन क्षेत्रको ७६.१४ हेक्टरमा ५ हजार ३६ ठूला रुख र ११ हजार ९१ पोल साइज रुख गरी जम्मा १६ हजार १२६ रुख कटान गर्नु पर्नेछ ।

    आयोजनाको वातावरणीय व्यवस्थापन योजनाको लागि ६ करोड २२ लाख ८७ हजार रुपैयाँ बजेट प्रस्तावित गरिएको छ । उक्त बजेटबाट प्रभाव न्यूनीकरण तथा निराकरणका कार्यक्रम, सकारात्मक प्रभावको अभिवृद्धि, वातावरणीय अनुगमन तथा परीक्षण कार्य हुनेछन् ।

    आयोजनाले भेरी अञ्चलका बाँके, बर्दिया र सुर्खेतका ८ गाविसका २६ घरधुरी प्रत्यक्ष प्रभावित हुने मस्यौदा प्रतिवेदनमा उल्लेख छ । जसमा १२ घरधुरी पूर्ण र १४ घरधुरी आंशिक प्रभावित हुनेछन् । प्रभावित हुने गाविसमा बाँकेका कोहलपुर, रझेना, नौवस्ता र चिसापानी, बर्दियाको बेलवा तथा सुर्खेतको छिन्चु, रामघाट र लाटिकोइली गाविस छन् ।

    आयोजनाबाट प्रभावितमध्ये ९७.४९ हेक्टर क्षेत्रफल कृषियोग्य भूमि पर्दछ । जमिन अधिग्रहणबाट २६ घरधुरी प्रभावित हुनेछन् । उनीहरूलाई पुनस्र्थापना गर्नुपर्ने आयोजनाले जनाएको छ । प्रसारण लाइनको लम्बाइ बाँकेको कोहलपुरदेखि सुर्खेतको लाटिकोइलीस्थित ढोलढुंगासम्म करिब ५२ किमि रहेको छ । आयोजना प्रभावित परिवारको कुल जनसंख्या ११८ छ ।

    @ कारोबार संवाददाता