धितोपत्र बोर्डले माथिल्लो तामाकोसीलाई आईपीओ निष्कासन गर्न दियो अनुमति, २६४ करोडको आउने

    1096

    काठमाडौं । धितोपत्र बोर्डले निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बिहीबार आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

    केही दिनभित्रै प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

    यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।

    तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । ४५६ मेगावाटको सो आयोजना १ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    विकासन्युज