थप विद्युत् आयात गर्न प्राधिकरणका अधिकारी भारत जाँदै

    2672

    काठमाडौं, १४ पुस – आगामी वर्ष थप विद्युत् आयातका विषयमा छलफल गर्न नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारी भारत जाने भएका छन् ।
    आगामी बुधबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको नेतृत्वमा प्रसारण तथा प्रणाली सञ्चालन विभागका महप्रबन्धक राजेश्वरमान सुल्पिया र ग्रिड विकास विभागका महाप्रबन्धक गणेशप्रसाद राज भारत जाने भएका हुन् । भारत भ्रमणका अवरमा पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया(पीटीसी) लिमिटेडका साथै पावरग्रिड कर्पोरेसनका अधिकारीसँग थप छलफल गर्ने भएको छ ।
    पीटीसीले १ सय ५० मेगावाट विद्युत् दिने सहमति गरिसकेको छ । कमजोर प्रसारणलाइनका कारण यो बिजुली आयात हुन सकेको छैन ।
    भ्रमणका क्रममा आगामी वर्ष थप विद्युत् खरिदका लागि दुवैतर्फ प्रसारणलाइन क्षमता विस्तारका साथै नेपाल–भारत अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई गति दिने विषयम छलफल हुने प्राधिकरणका कार्यकारी निर्देशक यादवले बताए । उनले निर्माणाधीन आयोजना आगामी तीन वर्षसम्म पनि पूरा नहुने भएपछि आगामी वर्षका लागि भारतबाट थप विद्युत् आयात गरिने उनले बताए ।
    भारतले आगामी मंगलबारदेखि प्रतियुनिट ८ रुपैयाँ १६ पैसामा थप ७० मेगावाट विद्युत् दिने भइसकेको छ । योसमेत गरी यो वर्ष भारतबाट कुल १ सय ८० मेगावाट विद्युत् आयात हुने क्रममा छ । प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले विद्युत् आयात बढाउन प्रसारणलाइन आवश्यक पर्ने भन्दै ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई गति दिनुपर्ने बताउँछन् ।
    सरकारले ल्याउने भनेको ८० मेगावाट क्षमताको डिजेल प्लान्ट यो वर्ष पनि नआउने भएपछि थप समस्या आउने भएको छ । भारतबाट थप विद्युत् आयात भए पनि यो वर्षको सुख्खायाममा लोडसेडिङ दैनिक १४ देखि १६ घण्टासम्म पुग्ने प्रक्षेपण विद्युत् प्राधिकरणको छ ।
    प्रधानमन्त्री बाबुराम भट्टराईले यो वर्ष लोडसेडिङ दैनिक १२ घण्टामा सीमित गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएका थिए । प्राधिकरणले गत वर्ष भारतबाट ७१ करोड युनिट बिजुली किनेको थियो । यो वर्ष भारतबाट थप ३५ करोड युनिट बिजुली आयात गरी लोडसेडिङ कम गर्ने प्राधिकरणको लक्ष्य छ ।
    गत असोजमा लोडसेडिङ न्यूनीकरण कार्ययोजना ल्याई विद्युत् कटौती दैनिक १२ घण्टामा सीमित गर्न सरकारले ् प्राधिकरणलाई ५ अर्ब ४० करोड रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ । जसअनुसार तापीय विद्युत् केन्द्र सञ्चालनलाई २ अर्ब ८० करोड रुपैयाँ र भारतबाट विद्युत् आयातका लागि २ अर्ब ६० करोड दिने भनिएको छ ।
    ५० मेगावाट  विद्युत् आदनप्रदान सम्झौताबाट र बाँकी बिजुली व्यापारिक मूल्यमा विद्युत् प्राधिकरणले खरिद गर्दै आएको छ । प्रणाली सञ्चालनमा अहिले नै ५ सय मेगावाट विद्युत् कम भएपछि प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ गरिरहेको छ । प्राधिकरणका अनुसार यो वर्ष बिजुलीको माग बढेर १ हजार १ सय ६३ मेगावाट पुग्नेछ ।

    प्रस्तुति: कारोबार