त्रिशूली विद्युत गृहमा अगलागी भए पनि लोडसेडिङ नहुने

    2030

    काठमाडौ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्र (जडित क्षमता २४ मेगावाट)को विद्युत गृहको जेनेरेसनतर्फको ६.६ केभी साइट बे्रकरमा मंगलबार दिउसो करिब साढे एक बजे आगलागी भएको छ । सुरक्षाकर्मी, विद्युत गृहका कर्मचारी, स्थानीय बासिन्दा लगायतको करिव साढे एक घण्टाको प्रयासपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।

    आगलागीपछि त्रिशूली जलविद्युत केन्द्र र त्यसको क्यासकेटकारुपमा रहेको देवीघाट जलविद्युत केन्द्र (जडित क्षमता १५मेगावाट)बाट करिब २८ मेगावाट विद्युत उत्पादन विच्छेद भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनु भयो ।

    ‘तर, यसबाट नुवाकोटका केही स्थानबाहेक मुलुकभरको समग्र विद्युत आपूर्तिमा कुनै असर गरेको छैन,उहाँले भन्नु भयो, ‘आगलागीबाट भएको क्षतिको यकिन र मर्मतसंभार तत्काल सुरु गर्न प्राविधिक टोली परिचालन गरिसकेका छौं ।’ उहाँले आगलागीको कारण प्राविधिक टोलीको अध्ययनपछि मात्रै यकिन हुने बताउनु भयो ।

    प्राधिकरणले विद्युत गृहमा आगलागीपछि विद्युत आपूर्ति बन्द भएका नुवाकोटका विभिन्न स्थानमा वैकल्पिक व्यवस्था गरी बुधबार १२बजेसम्म विद्युत आपूर्ति सुचारु गर्ने भएको छ । यसका लागि ६६÷११ केभीको ट्रान्सफर्मर राखी विद्युत आपूर्ति सुचारु गर्न लागेको हो । नुवाकोटमा १३ वटा फिडरमार्फत विद्युत् आपूर्ति भइरहेकोमा विद्युत गृहमा अगलागीका कारण ७ वटा बन्द छन् । ६ वटा फिडर मात्रै सञ्चालनमा छन् ।