चमेलियामा खुम्चिएको २ सय मिटर सुरुङ निर्माण सकियो

    4990

    काठमाडौं, २० असोज

    Tunnel Chameliyaचमेलिया जलविद्युत् आयोजनाको खुम्चिएको (इस्क्विचिङ) ८ सय मिटर सुरुङमध्ये २ सय मिटर निर्माण सकिएको छ ।

    आयोजनाका उपनिर्देशक कपिलदेव अधिकारीले ठेकेदार चाइना गेजुवा ग्रुप कर्पोरेसन (सिजिजिसी)ले खुम्चिएको सुरुङ निर्माण आगामी चैत दोस्रो सातासम्म सक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । कमजोर भू–बनोटका कारण खनी सकिएको सुरुङ गत वर्ष भदौमा खुम्चिएको थियो ।

    विद्युत् प्राधिकरणको निर्णय प्रक्रियामा भएको ढिलाइका कारण खुम्चिएको सुरुङ निर्माण छिटो हुनसकेको थिएन । राखिएको टेवा (सपोर्ट) भत्काएर हटाएपछि उच्च स्तरको भार थाम्न सक्ने नयाँ सपोर्ट सिस्टम जडान भइरहेको आयोजनाले जनाएको छ । सुरुङ खन्नुभन्दा पनि खुम्चिएको भाग बनाउन प्राविधिक रूपमा कठिन हुने विज्ञले बताउँदै आएका छन् ।

    त्यसका लागि १ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिए पनि लागत प्राधिकरणले स्वीकृत गरेको छैन ।

    ठेकेदार कम्पनीले ठेक्का सम्झौताभन्दा बढी काम गरे पनि प्राधिकरणले थप कामको भुक्तानी नदिएको आरोप लगाएको छ । ‘हालसम्म माटो खस्ने समस्या हटाउन अवलम्बन गरिने थप निर्माण कार्यको अग्रिम भुक्तानी पाएका छौँ,’ चाइना गेजुवा स्रोतले भन्यो, ‘काम समयमै सम्पन्न सक्न निर्माण सामग्री, संयन्त्र र औजार आफ्नै खर्चमा किनेर उपयोग गरिरहेका छौँ ।’

    इलेक्ट्रोमेकानिकल, हाइड्रो मेकानिकल तथा प्रसारण लाइन निर्माण ठेकेदारसँगको विवाद तत्काल समाधान नगरिए त्यसको असर सिभिल निर्माणमा पर्नेछ । इलेक्ट्रोमेकानिकल, हाइड्रो मेकानिकल तथा प्रसारण लाइन निर्माण ठेकेदार कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी (एचएनपी) कन्र्सोटियमले गत १६ भदौदेखि काम रोकेको छ । परामर्शदातासँगको संयुक्त प्रयासमा सिभिल र मेकानिकलसँग सम्बन्धित काम सम्पन्न गर्न प्राधिकरणले कार्ययोजना समायोजन गरी अगाडि बढाइरहेको छ । केएचएनपीले निरन्तर काम बन्द गरे समग्र आयोजनाले ठूलो समस्या बेहोर्नुपर्नेछ,’ गेजुवाले भनेको छ ।

    आयोजना अगाडि बढाउन गर्नुपर्ने कतिपय महत्त्वपूर्ण निर्णय प्राधिकरण सञ्चालक समितिमा थन्किएका छन् । आयोजनाको सबैभन्दा बढी लागत सिभिल संरचना विद्युत्गृह, बाँध सुरुङलगायत निर्माणमा बढेको छ । डिजाइन परिवर्तन, भौगोलिक अवस्था, २ वर्षअघि भएको सुदूरपश्चिम बन्द, प्राधिकरणबाट निर्णय प्रक्रियामा भएको ढिलाइलगायतका कारणले सिभिलको लागत बढेको हो ।

    सिभिल निर्माणको ठेकेदार चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप (सिजिजिसी) हो । २ अर्ब ८८ करोड १३ लाखमा सिभिलतर्फको ठेक्का सम्झौता भएकोमा अहिले लागत बढेर ३ अर्ब ९७ करोड २१ लाख रुपैयाँ पुगिसकेको छ । सिभिलतर्फकै लागत करिब ५ अर्ब पुग्ने अनुमान गरिएको छ ।

    सुरुमा ०६८ वैशाखमा सक्ने लक्ष्य राखिएको आयोजना तोकिएको समयमा निर्माण हुन नसकेपछि सिभिल निर्माण आउँदो असार दोस्रो साताभित्रै सक्ने लक्ष्य राखिएको थियो । तर, त्यसलाई पुन: बढाएर ०७१ पुससम्म पुर्‍याइएको छ ।

    @नयाँ पत्रिका