चमेलियाको परीक्षण जेठमा

    1285

    वैशाख १५, २०७४- दार्चुलाको शैल्यशिखर गाउँपालिकाको बलाँचमा ३० मेगावाट क्षमताको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको ड्राई टेस्ट जेठ १ मा गरिने भएको छ । विद्युत् उत्पादनका लागि निर्माण भएका उपकरण कन्डिसनमा छन्/छैनन् र जडान ठीक तवरले गरिएको छ/छैन भन्ने परीक्षण गर्न लागिएको चमेलिया जलविद्युत् आयोजनाले जनाएको छ ।

    आयोजनाले साइट टनेल पनि बन्द गर्न लागेको छ । टनेल सफा गरिएपछि यस्तो साइट टनेल बन्द गर्ने काम सुरु हुन्छ । पहिलो टनेल बन्द गरिएको छ । आयोजना प्रमुख अजयकुमार दाहालले भने, ‘दोस्रो टनेल बन्द गर्ने काम सुरु भएको छ, यो सक्नेबित्तिकै अर्को टनेल बन्द हुन्छ ।’ साढे चार मिटरको मुख्य सुरुङ खन्नका लागि ३ वटा टनेल खनिएका थिए । उक्त आयोजनामा ६५ मिटर रक ट्रयापिङ गर्नुपर्नेछ जसमध्ये हालसम्म १३ मिटरमा रक ट्रयापिङको काम गरिएको छ । बाँकीमा अहिले सरसफाइको काम भइरहेको दाहालले बताए । ‘आयोजनाको पावरहाउस ग्राडिङ फिनिसिङको काम चलेको छ,’ उनले भने, ‘हाइड्रोमेकानिज्मको काम सँगसँगै पावरहाउसमा जेनेटर जडान कार्य अन्तिम चरणमा पुगेको छ ।’
    त्यस्तै आयोजना स्थलबाट कैलालीको अत्तरियासम्मको १३२ किलोमिटर प्रसारण लाइनको कार्य पनि सकिएको छ । प्रसारण निर्माण कार्य सकिएको र जंगलबाट प्रसारण लाइन लगिएको हुनाले केही ठाउँमा रूखहरूले छोएको दाहालले बताए । उनले भने, ‘प्रसारण लाइनले छोएका रुखहरू कटानका लागि ठेक्का सम्झौता भइसकेको र अर्को साताबाट उक्त कार्य सुरु हुन्छ ।’

     प्रदेश नम्बर ७ मा सरकारको लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो उक्त आयोजनाको काम सन् २००७ बाट सुरु गरिएको थियो । सुरुमा सन् २०११ को अन्तिममा सक्ने सम्झौता भए पनि विविध कारण देखाउँदै निर्माण कम्पनीले पटक–पटक काम रोक्दै आएको थियो । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

    कमजोर भूबनोटका कारण कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरिएसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै बीचैमा काम रोक्न निर्देशन दिएको थियो । निर्माण कार्यको भुक्तानी नपाएपछि ठेकेदारले सन् २०१५ को फेब्रुअरीबाट बन्द गरेको सुरुङ मर्मतको काम २०१६ को सेप्टेम्बरबाट सुरु भएको थियो ।

    ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । अहिले सुरुङ निर्माणको काम सकिएको छ । आयोजनाले सिभिलतर्फको काम सेस्टेम्बरसम्म सक्ने योजना बनाएको छ । ‘सिभिलतर्फको काम सेस्टेम्बरमा सक्छौं,’ आयोजना प्रमुख दाहालले भने, ‘यो सकिएपछि इलेक्ट्रो मेकानिज्मको काम सुरु हुन्छ ।’ अहिले टेलरेसमा सरसफाइको काम सकिएको छ ।

    सरकारको बेवास्ता, ठेकेदार र परामर्शदाताको लापरबाहीका कारण ८ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि अहिले आयोजनाको लागत १५ अर्ब ६ करोड पुगेको छ । आयोजनाले आगामी डिसेम्बरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ ।

    स्रोत:कान्तिपुर