शेयर निष्कासनको अनुमति माग्नेमा बढी जलविद्युत् कम्पनी

    1999

    चैत २७, काठमाडौं । शेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)मा निवेदन दिनेमा सबैभन्दा बढी सङ्ख्या जलविद्युत् कम्पनीको रहेको छ । आईपीओ र एफपीओ निष्कासनका लागि हालसम्म सेबोनमा निवेदन दिने १४ कम्पनीमध्ये १० ओटा जलविद्युत् कम्पनी रहेका छन्  । धितोपत्र बोर्डले बैङ्किङ, वित्तीय तथा बीमा कम्पनीबाहेकका अन्य कम्पनीका लागि तय गरेको मापदण्डका कारण केही समय जलविद्युत् कम्पनीको निवेदन कम देखिएको सेबोनमा अहिले मापदण्डलाई पछ्याउँदै निवेदन दिनेको सङ्ख्या बढेको छ ।

    मङसिर २१ गतेको बोर्ड बैठकले बैङ्किङ, वित्तीय तथा बीमाबाहेक अन्य कम्पनीको हकप्रद तथा थप सार्वजनिक निष्कासनका लागि शर्त तथा मापदण्डहरू तय गरेको थियो । बोर्डको निर्णयअघि हकप्रद निष्कासनका लागि अपि र सानिमामाई हाइड्रोपावर कम्पनी र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न आँखुखोला जलविद्युत कम्पनी लिमिटेड र गर्जाङ उपत्यका हाइड्रोले निवेदन दिएका थिए । अपि र सानिमामाईको हकप्रद अझै स्वीकृत हुन सकेको छैन । यी दुई कम्पनीको हकप्रद स्वीकृतिका लागि मापदण्डले प्रभाव पारेको बुझिएको छ ।

    मापदण्ड लागू गर्ने निर्देशनपछि जोशी, रैराङ, छ्याङ्दी, शुभम्, नेपाल हाइड्रो, बुटवल पावर र हिमालयन पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने अनुमति मागेका छन् । नेपाल धितोपत्र बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले कम्पनीहरूले बोर्डले निर्धारण गरेको मापदण्ड पूरा गरेर निवेदन दिएको भने पनि बोर्डले छानबिनपछि मात्र स्वीकृति दिने बताए ।

    धितोपत्र बोर्डले तय गरेको शर्त तथा मापदण्डमा बैङ्किङ, वित्तीय तथा बीमा कम्पनीबाहेकका अन्य कम्पनीको हकमा हकप्रद शेयर वा फर्दर इस्यू निष्कासनबाट प्राप्त हुने रकमको स्पष्ट वित्तीय योजना साधारणसभाबाट पारित गराउनुपर्ने, हकप्रद निष्कासन अनुपातको औचित्य पुष्टिका  आधारहरू स्पष्ट हुनुपर्ने छन् । यसबाहेक प्राथमिक निष्कासन गरेको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, जारी पूँजी शतप्रतिशत चुक्ता भइसकेको हुनुपर्ने, परियोजना निर्माणका लागि वित्तीय व्यवस्थापनको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्नेलगायत मापदण्ड पनि छन् ।

    स्रोत:अभियान