घारखोला जलविद्युत् निर्माण सुरु हुँदै

    2529
    • आयोजनाको निर्माण आगामी वैशाखदेखि
    • प्राधिकरणसँग ८.३ मेगावाटको खरिदबिक्री सम्झौता र ५.७ मेगावाटको सैद्धान्तिक सहमति

    फाल्गुन १३, २०७३- जिल्लाको उत्तरी भेग घोडेपानीबाट शिख र घार हुँदै बग्ने खोलामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । उक्त आयोजनाको निर्माण आगामी वैशाखदेखि सुरु हुने म्याग्दी हाइड्रोपावर प्रालिले जनाएको छ ।

    जिल्लामा निर्माणाधीन घलेम्दी र मिस्त्रीखोलापछि ‘रन अप द रिभर’ विधिको उक्त आयोजना बन्न लागेको हो । आयोजनाले घारको कुरिलाखर्कमा बाँध बनाई ३ किमि लामो नहर र १२ सय मिटर पेनस्टक पाइपबाट पानी ल्याएर पोखरेबगरमा विद्युत्गृह बनाउनेछ । ‘नयाँ वर्षको पहिलो सातादेखि नै आयोजनाको निर्माण सुरु गर्छौं,’ निर्माण कम्पनी म्याग्दी हाइड्रोपावरका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने, ‘आयोजनाको बैंक क्लोजरका रूपमा नेपाल मर्चेन्ट बैंकको नेतृत्वमा सह–वित्तीयकरण कर्जामा सहमति भइसकेको छ ।’ ०७६ मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बन्ने उक्त आयोजनामा २ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागत रहने अनुमान गरिएको छ । आयोजनाले विद्युत् प्राधिकरणसँग ८.३ मेगावाटको खरिदबिक्री सम्झौता गरेको र ५.७ मेगावाटका लागि सैद्धान्तिक सहमति भइसकेको जनाएको छ । उत्पादित बिजुली ६ किमि माथि निर्माणाधीन दाना सबस्टेसनमा जोडिनेछ ।

    प्राधिकरणले म्याग्दीको दाना र पर्वतको कुस्मामा २२०, १३२, ३३ र ११ केभीए कालीगण्डकी करिडोर प्रसारण लाइनको सबस्टेसन बनाउन सुरु गरेको छ । उत्पादित विद्युतलाई प्रसारण लाइनमा जोडन पाउने भएपछि पाइपलाइनमा रहेका जलविद्युत् आयोजनाहरूले निर्माणको काम धमाधम थालेका हुन् ।

    • कान्तिपुर