माथिल्लो त्रिशूली थ्री ए को गुणस्तरहीन सिमेन्ट हटाइयो

    2618
    Diversion Weir construction at right bank of Headworks
    Diversion Weir construction at right bank of Headworks

    रसुवा, १ पुस – निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाका लागि राखिएकोे डल्ला परेको गुणस्तरहीन सिमेन्ट गोदामबाट हटाइएको छ । सोही गुणस्तरहीन सिमेन्टको प्रयोग गरी आयोजना निर्माणको काम भइरहेको भन्ने समाचार सार्वजनिक भएपछि सो स्टोरमा राखिएको सिमेन्ट अन्यत्र सारिएको छ ।
    निर्माणको जिम्मा पाएको चाइना गेजुवा ग्रुप सिजिजिसीले एक महिनाअघि लगाएको ताला फुटाएर एकतर्फी सिमेन्ट प्रयोग गरेपछि आयोजनाका कर्मचारीहरूले गोदाम खाली गरेका हुन् । गोदाम खाली गरी सो ठाउँमा नयाँ सिमेन्ट भण्डारण गरिएको आयोजक प्रमुख ऋषिकेश शर्माले बताए । ठेकेदार कम्पनीले नयाँ सिमेन्ट भण्डारणका लागि ताला फुटाएको दाबी गरेको छ ।
    आयोजनाको बाँधस्थलनजिकै स्टोरमा राखिएको सिमेन्ट जिल्ला प्रशासन कार्यालयको रोहबरमा नयाँ स्टोरमा सारिएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि ल्याइएको उक्त सिमेन्ट प्रयोगमा नआएको आयोजना प्रमुख ऋषिकेश शर्माले बताए । कमसल सिमेन्ट प्रयोग गरेर बाँधस्थल कमजोर बनाउने र आयोजनाको काम असफल भए चिनियाँ ठेकदार कम्पनी नै असफल हुने उनले बताए । शर्माले भने, “यो आयोजना असफल भए चिनियाँ गेजुवा ग्रुप कम्पनीले कही पनि काम गर्न पाउँदैन ।”
    यसैबीच सरकारले त्रिशूली थ्री ए लाई ६० मेगावाटबाट बढाएर ९० पु¥याउने कसरतमा लागिरहेकामा आयोजना प्रमुख शर्मा भने क्षमता बढाउने पक्षमा नरहेको बताए । शर्माले भने, “क्षमता बढाउँदा वर्षायामको तीन महिना मात्र ९० मेगावाट हुने भए पनि हिउँदमा त्यो क्षमताले काम नगर्ने हुँदा बढाउन आवश्यक छैन ।”
    ९० मेगावाट बनाउँदा आयोजनाको लागत पनि बढ्ने र दुई वर्ष काम ढिला हुने भएकाले आफू क्षमता बढाउनुपर्छ भन्नेमा नरहेको शर्माको भनाइ छ । रसुवा डाडाँगाउँ गाविस वडा नं. ५ स्थित मैलुङमा निर्माण भइरहेको बाँधका लागि चिनियाँ ठेकेदार कम्पनी गेजुवा ग्रुपले हाल ९ सय ७५ मिटर टनेल निर्माणको काम पूरा गरेको छ ।
    चाइनाको एक्जिम बैकको ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजना ८९ मिलिएन डलर अर्थात् नेपाली ७ अर्ब ५५ करोड ५० लाख अनुमानित लागतमा निर्माण हुँदैछ । डाँडागाउँको मैलुङमा बाँध बाँधेर चार हजार ९३ मिटरको सुरूङमार्ग हुँदै नुवाकोटको मनकामना गाविस वडा नं. १  अर्चेलेमा विद्युत गृह निर्माण हुनेछ । सन् २०११ मा निर्माण सुरु भएको यो आयोजना २०१४ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हाल २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

    प्रस्तुति: कारोवार