काबेली ‘बी वान’ अन्तिम चरणमा

    1747

    पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भई बग्ने काबेली नदीमा निर्माणाधीन काबेली ‘बी वान’ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । तीन वर्ष अघिदेखि निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
    पूर्वनिर्धारित समय अवधिमा निर्माणकार्य नसकिए पछि म्याद थप गरी निर्माणकार्य अगाडि बढाइएको हो । हालसम्म ९८ प्रतिशत निर्माणकार्य सम्पन्न भएको निर्माण पक्षले जानकारी दिएको छ । काबेली ‘बी वान’ जलविद्युत् आयोजनाको निर्माण अरुण काबेली पावर लिमिटेडले गरिरहेको हो । काबेली ‘बी वान’ जलविद्युत् आयोजनाको निर्माणकार्य ३ वर्ष अगाडिबाट सुरु भएको थियो ।
    १३२ केभीए विद्युत् प्रशारणलाइन काबेली करिडोरको काम नसकिएपछि जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको आयोजनाका सिभिल हाइड्रोपावर इन्जिनियर माधव भुर्तेलले जानकारी दिए । “माघ महिनामै परीक्षण उत्पादन गर्ने लक्ष्य राखेका थियौं,” भुर्तेलले भने, “काबेली करिडोरको प्रशारण लाइनको काम नसकिएपछि उत्पादन गरिएको बिजुली बिक्री गर्न नसकिने भएकाले काममा ढिलाइ गरिएको हो ।
    एक वर्षअघि नै मुलुकको विद्युत् प्रणालीमा २५ मेगावाट विद्युत् जोड्ने लक्ष्यका साथ २०७२ वैशाख १० गते आयोजना निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता भएको पाँच महिनापछि असोजदेखि आयोजना निर्माणको काम सुरु गरिएको थियो । निर्धारित समयमा काम नसकिएपछि आयोजनाले म्याद थप गरी कामअघि बढाएको हो । माघको पहिलो सातामा आयोजनाको सम्पूर्ण काम पूरा गर्ने लक्ष्य रहे पनि अहिलेसम्म निर्माणको काम पूरा भएको छैन ।
    विद्युत् प्रशारणलाइन निर्माणको कामले गति नलिँदा यहाँ निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित भएका हुन् । नेपाल विद्युत् प्राविधकरणले वैशाख १० गतेभित्रमा प्रशारण लाइनको सम्पूर्ण काम सक्न निर्देशन दिए पनि काम पूरा भएको छैन । पूर्वी पहाडबाट उत्पादन गरिएको विद्युत्लाई केन्द्रीय विद्युत् प्रणालीमा जडान गर्ने उद्देस्यका साथ निर्माण सुरु गरिएको १३२ केभीए विद्युत् प्रशारणलाई काबेली करिडोरको कामले गति नलिएको हो । उक्त प्रशारणलाइन सम्पन्न नभई यहाँ उत्पादन गरिएको विद्युत्लाई मुलुकको विद्युत् प्रणालीमा जडान गर्न नसकिने भएकाले काममा ढिलाइ गरिएको आयोजनाको तर्क छ ।
    आयोजनामा सिभिलको काम करिब सकिएको छ । मेकानिकलको काममात्र बाँकी छ । “मेकानिकल अन्तर्गतको होस्टिक सिस्टमको काम पनि अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षकाअनुसार अबको दुई महिनाभित्रमा आयोजनाको सम्पूर्ण काम पूरा हुनेछ । तर, उत्पादन गरिएको बिजुली बिक्री गर्न नसकिने भएपछि कामलाई स्थगित गर्न कम्पनीमा छलफल भइरहेको कम्पनीले जनाएको छ । पाइपलाइन, ब्यारेज र पावर हाउस निर्माणको सिभिल वर्क सकिएको छ । पावर हाउसमा हाइड्रो मेसिन जडानको काम भइरहेको छ । इन्टेक र बालुवा थिगार्ने पोखरी निर्माणको काम पनि पूरा भएको छ ।
    पाँचथरको याङवरक गाँउपालिकामा पर्ने साविकको थर्पु, नागी र अमरपुर गाविस र ताप्लेजुङको साविक थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम गाविस आसापासमा आयोजनाको निर्माणकार्य भइरहेको छ । थर्पुको दाहाल गाँउबाट पाइपलाइन निर्माण गरिएको छ । ५८० मिटर लामो पाइपलाइन निर्माण गरी नागीको पिपले भन्ने स्थानसम्म पाइपलाइन विस्तार गरिएको छ । सोही स्थानमा पावर हाउस निर्माण गरिएको छ । चार अर्बको लगानीबाट आयोजनाको निर्माण सुरु गरिएको हो ।

    -कारोबार