उर्जामन्त्री प्रभाकरले भने,‘अलैंचीसँग बिजुली साटौं’

    1157

    ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अलैंचीसँग बिजुली साट्न सुदुर पूर्वका जनतासँग प्रस्ताव गरेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उनले अलैंचीबाट प्राप्त हुने आम्दानीबाट जलविद्युतमा लगानी गर्न आग्रह गरे ।‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईहरुको जीवनस्तर सोच्दै नसोचेको ढंगले सुधार हुनेछ ।’ उनले भने,‘यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।’

    ‘नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको सम्भाव्यता पहिचान भइसकेको छ ।
    सोही आधारमा सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिन्छ ।’

    उनले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममार्फत आफूले समाजवादी कार्यदिशा लागु गरेको तर्क गरे । नयाँ संविधानले समाजवादको बाटोमा अघि बढ्न स्पष्ट मार्गदर्शन गरेको भन्दै मन्त्री शर्माले आफूले सोही अनुसार काम गरेको बताए । नेपालमा रहेको अपार जलभण्डारको उपयोगमा जनतालाई प्रत्यक्ष सहभागी गराउने कार्यक्रम ऊर्जा मन्त्रालयले अघि सारेको भन्दै उनले जलविद्युतमा शेयर लगानी गरेर धनी हुन आव्हान समेत गरे ।

    मन्त्री शर्माले भने,‘नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको सम्भाव्यता पहिचान भइसकेको छ । सोही आधारमा सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिन्छ ।’ देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्‍याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिने भन्दै मन्त्री शर्माले भने,‘समृद्धि विनाको स्वाभिमानको नारा हवाई कल्पना मात्र हो ।’