अवरुद्ध त्रिशूली ३ ‘ए’ को निर्माण मंसिरदेखि अघि बढाइने

    2814

    काठमाडौं : भूकम्पका कारण निर्माण अवरुद्ध भएको ६० मेगावाटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको काम आगामी नोभेम्बर अर्थात मंसिरमा  सुरु गरिने भएको छ ।

    नुवाकोट र रसुवा जिल्लामा निर्माणाधीन त्रिशुली ३ एक जलविद्युत् आयोजनाको पहुँचमार्ग पूर्ण रुपमा क्षति भएपछि अवरुद्ध भएको निर्माण कार्य मंसिरदेखि सुरु गरिन लागेको हो ।

    नेपाल विद्युत् प्राधिकरणले अघि बढाइरहेको आयोजनाको काम भूकम्पका कारण १२ वैशाख २०७२ देखि पूर्ण रूपमा अवरुद्ध  छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी नोभेम्बरदेखि निर्माण सुरु गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिए ।

    “पहुँच मार्ग निर्माणका लागि नेपाली सेनालाई पत्र लेखेर अनुरोध गरिसकेका छौं, आगामी मंसिरदेखि निर्माण अवरुद्ध भएको आयोजनाको काम गर्ने गरी प्राधिकरण अघि बढेको छ,” उनले भने । 

    नुवाकोटबाट मैलुङ हुँदै चीनको नाका रसुवागढीसम्मको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ । यी सडकभित्र आयोजनाको पहुँचमार्ग समेत पर्ने भएकाले प्राधिकरणले छिटो निर्माणका लागि सेनालाई अनुरोध गरेको छ ।

    आयोजना प्रमुख फणिन्द्रराज जोशीले सिम्लेदेखि छारेटारसम्मको ५ किलोमिटर सडकका साथै कतिपय स्थानमा पहिरोको उच्चजोखिम रहेकाले यसलाई दृष्टिगत गरी निर्माण गरिदिन नेपाली सेनालाई अनुरोध गरिएको र आगामी नोभेम्बरदेखि सुरु गर्ने गरी तयारी अघि बढाएको जानकारी दिए । सेनाले सडक निर्माणको कार्य भने सुरु गरिसकेको छ ।

    सन् २०१६ को जुनमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माणमा भूकम्पका साथै अन्य विविध कारणले ढिलाइ हुँदै आएको छ । विगतमा ठेकेदार कम्पनीले ६० मेगावाटबाट ९० मेगावाट बनाउनका लागि गरेको चलखेलका कारण निर्माणमा ढिलाइ भएको आयोजनाको काम पछिल्लो समयमा भूकम्पका कारण ढिलाइ भएको हो ।

    भूकम्पका कारण दुईदेखि साढे दुई वर्षसम्म निर्माणमा ढिलाइ हुने आयोजनाले जनाएको छ । सन् २०११ को जुनमा सुरु भएर ३५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको निर्माण सम्पन्न म्याद पटक–पटक थपिँदै आएको छ ।

    चाइनाको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना करिब १० अर्ब ६ करोड रुपैयाँमा निर्माण सम्पन्न हुने लक्ष्य राखेकोमा ढिलाइ  हुँदा लागत पनि बढ्दै गएको छ ।

    स्रोत : कारोबार