अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने

    1229

    विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्सन सम्झौता

    अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना बनाउने भएको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको ग्रिड कनेक्सनसम्बन्धी सम्झौता भएको छ ।

    सम्झौतामा अपि पावर कम्पनीका सञ्चालक महेन्द्र न्यौपाने र नेपाल विद्युत् प्राधिकरणको ग्रिड सञ्चालक विभागका निर्देशक दीर्घायुकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् शक्ति बलाँच सब–स्टेसनको १३२ केभी बसबारमा जडान गरिनेछ ।

    ४० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि नेपालको सुदूरपश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

    यो आयोजना अपि पावर कम्पनीका लागि तेस्रो हो । यसअघि छोटो समय अर्थात् करिब १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगडगाढ साना जलविद्युत् आयोजना सम्पन्न गरी ०७२ साल भदौै महिनादेखि विद्युत् प्रवाह गरिरहेको कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले सोही नदीमा हाल निर्माण गरिरहेको ८ मेगावाटको अपर नौगडगाढ जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ ।

    सौर्य ऊर्जाको तयारी
    अपि पावर कम्पनीले जलविद्युत्बाहेक १८ मेगावाटको सौर्य ऊर्जा उत्पादन गर्ने तयारी गरिरहेको जनाएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणले जारी गरेको टेन्डरमा सहभागी भएको थियो । टेन्डरअनुसार १८ मेगावाट क्षमताको सोलार आयोजना परेकाले सौर्य ऊर्जा उत्पादनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

    कम्पनीले प्राप्त गरेको १८ मेगावाट क्षमताको सोलार अयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरी राष्ट्रिय ऊर्जा संकट कम गर्ने लक्ष्य राखेको छ ।

    स्रोत:नयाँपत्रीका