अपर तामाकोशीको नवौं साधारणसभा सम्पन्न

    1186

    जेठ ३, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । राजधानीमा आयोजित सभाले कम्पनी सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ्द्वारा प्रस्तुत आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन, सोही अवधिको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०७३/७४ को लागि लेखा परीक्षकको नियुक्ति र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । जसअनुसार दुई जना लेखा परीक्षक नियुक्त गरिनेमा प्रति लेखा परीक्षक रू. २ लाख ५० हजार पारिश्रमिक दिने निर्णय भएको छ ।

    यो कम्पनी, दोलखा जिल्लास्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण, सञ्चालन र व्यवस्थापन गर्न २०६३ मा स्थापना भएको हो । कम्पनीले आर्थिक वर्ष २०७३/७४ भित्र ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको उक्त आयोजना निर्माण गरी विद्युत् सङ्कट न्यूनिकरण गर्ने उद्देश्य लिएको थियो । जसअनुसार २०७१ चैतसम्ममा ७९ प्रतिशत काम पनि सम्पन्न भइसकेको थियो । तर, त्यस लगत्तै आएको भूकम्प साथै नाकाबन्दीका कारण आयोजनाको काम प्रभावित हुन गएको थियो । परिणामतः आर्थिक वर्ष २०७३/७४ को दोस्रो चौमासिक अवधिसम्ममा ८७ प्रतिशत काम सकिएको कम्पनीले जानकारी दिएको छ ।

    साधारणसभामा बोल्दै कम्पनी सञ्चालक समितिका अध्यक्ष घिसिङ्ले २०७५ असारभित्र कम्तिमा एउटा यूनिट भएपनि सञ्चालनमा ल्याउने गरी काम गर्न कम्पनी साथै आयोजनाका पदाधिकारीहरूलाई निर्देशन दिए । ‘निर्धारित समयमै आयोजना सम्पन्न गर्न सञ्चालक समिति पनि लागि परिरहेको छ,’ घिसिङ्ले भने ।

    स्रोत: अभियान