
दार्चुला, पुस ९- तीस हजार मेगावाट बिजुली निकाल्न सकिने संभावना बोकेको सुदूरपश्चिममा अहिले एक सय ३४ मेगावाटको चमेलिया बाहेक अर्को आयोजना सुरु भएको छैन। मुलुकले अहिले दैनिक १० घन्टा उर्जा संकट झेलिरहेको छ। सरकारले यो क्षेत्रमा पञ्चेश्वर, कर्णाली, पश्चिमसेतिजस्ता ठूला र राज्यका लागि महत्वका परियोजनाहरु बनाउने घोषणा नगरेको भने होइन। तर, अहिले चमेलिया बाहेक अन्य कुनै पनि आयोजना बनाउन थालिएको छैन।
मुलुकमा अहिले २२ योजना निमाणाधीन हुँदा सुदूरपश्चिममा चमेलिया एक्लो हो। सुदूरपश्चिममा सरकारको ध्यान पुगेको भए निर्माणको तयारीमा रहेका २७ आयोजनामा कम्तिमा ५ आयोजना सुदूरपश्चिममा हुनु पर्ने यहाँका वासिन्दाको धारणा छ।
साढे ६ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना घोषणा गरिएको दुई दसक पुग्दा पनि बन्ने कुनै छाँट देखिएको छैन । राजनैतिक र कुटनैतिक रंग दिएको यो आयोजना शुरू होला भन्ने सूदूरपश्चिमेलीको आस मरिसकेको छ।
महाकाली नदीमा पञ्चेश्वर जस्तै ६ सय ३० मेगावाट क्षमताको अर्को आकर्षक योजनाको सम्पुर्ण अध्ययन भएर पनि नेपाल भारतबीच कुटनैतिक पहलका अभावमा काम अगाडी बढन सकेको छैन। कम लागत र विवादरहीत हुने यो योजना कुटनैतिक पहल गर्ने हो भने चाँडै बन्ने सम्भावना छ।
सरकारको तथ्यांक हेर्ने हो भने अछाममा २ सय मेगावाटको कर्णाली-७, दार्चुलाको चमेलियामा ८५ मेगावाटको छटीगाड, ३२ मेगावाटको छटीगाड-२, २० मेगावाटको लोअर चमेलिया, बझाङमा ८० मेगावाटको सेती नदी- ३,बाजुरामा ४ दसमलव ५ मेगावाटको बडीगाड, बझाङमा १५ दसमलब ७ मेगावाटको कलंगा र १० दसमलव ७ मेगावटको सानीगाड, दार्चुलामा ५ मेगावाटको अपर नौगाड, डोटीमा ३ दसमलब ३ मेगावाटको कापडीगाड योजनाको विस्तृत अध्ययनका लागि सरकारले अनुमति दिएको छ। यी सबै आयोजनाको केही काम सुरु हुन सकेको छैन।
सरकारले मुलुकभर निर्माण अनुमति दिएका पछिल्ला ५७ योजनामध्ये दार्चुलामा ९ दसमलब ५ मेगावाटको नौगाड परेको छ। यसको पनि काम सुरु हुन सकेको छैन।
सरकारका कुनै राष्ट्रिय गौरवका आयोजना सुदूरपश्चिममा नहुनुले नै सरकारको यो क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रष्ट हुने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण कुँवर बताउँछन्।
पटक पटक सूदूरपश्चिमलाई प्राथमिकता दिने दाबी गर्ने लोकतन्त्र पुर्नस्थापना पछिका सरकारले यो क्षेत्रलाई अहिलेसम्म चासो नदिएको सूदूरपश्चिमेलीको गुनासो छ। मुलुकको तीब्र शहरीकरणमा उपल्लो स्थानमा रहेको कैलालीमा विद्युतिय अभावमा नयाँ उद्योग खुल्ने सम्भावना पनि घटेका छन्।
‘भएको एउटै उद्योग बासुलिंग सुगर मिल बन्द छ। एउटै आयोजना चमेलिया हो त्यो पनि सन २०११ को डिसेम्बरमा सक्लान भनेको २०१४ सम्म लम्ब्याएका छन्’, उनले भने।
चमेलीया जल बिद्युत आयोजनाका अनुसार अहिलेसम्म करिब ९० प्रशित भन्दा बढी काम सकिएको छ। दार्चुला शिखर-४ बलाँचमा निर्माणाधिन बिद्युत गृह निर्माणको काम ९० प्रतिशत भन्दा बढी सकिएको हो।
आयोजना प्रमुख गोपालबाबु भट्टराईले भने, ‘कुनै अबरोध नआएर आयोजना सन् २०१३ अगस्त भित्रै सकिन्छ। आयोजना सन् २००७ देखि निर्माण शुरु भएको हो। लक्ष्य भन्दा करिब २५ महिना पछि आयोजना निर्माण सम्पन्न हुने भएको हो।
शुरूवातमा ८ अर्ब ५० करोडमा बन्ने भनेको आयोजनाको लागत बढेर १२ अर्ब ६६ करोड पुगेको छ। यसले बार्षिक सरदर १८४.२ गिगावाट आवर बिद्युत उत्पादन गर्नेछ। आयोजनामा प्रभावित क्षेत्रका ७२ परिवारलाई मुआव्जा समेत दिइसकेको छ।
चमेलियाको सुरुङ्ग, पावर हाउस, ड्याम र ट्रान्समिसन लाईनको काम तिब्र गतिमा भइरहेको छ। आयोजनाको मुख्य सिभिल निर्माणका कार्य चिनिया चाईना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनीले गरिरहेको छ।
प्रस्तुति: अभियान