विद्युत् चुहावटमा सरकारी निकायकै तीनथरी तथ्यांक

1200

बैशाख ३, २०७६

नेपाल विद्युत् प्राधिकरणले गत मंसिरसम्ममा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक ग¥यो । आर्थिक वर्ष २०७४-०७५ मा २०.४५ प्रतिशत रहेकोमा चालू वर्ष २०७५-०७६ मा १८.५ प्रतिशतमा झार्ने लक्ष्य थियो तर प्राधिकरणले पाँच महिनामै ५ प्रतिशत घटायो ।

नेपाल विद्युत् प्राधिकरणले गत मंसिर सम्ममा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक ग¥यो । आर्थिक वर्ष २०७४-०७५ मा २०.४५ प्रतिशत रहेकोमा चालू वर्ष २०७५-०७६ मा १८.५ प्रतिशतमा झार्ने लक्ष्य थियो तर प्राधिकरणले पाँच महिनामै ५ प्रतिशत घटायो । तथ्यांक सही छ भने विद्युत् प्राधिकरणले ठूलो समयमा ठूलो उपलब्धि हो । तर,  चैत्र पहिलो साता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको एक वर्षको प्रगतिमा चुहावट १९ प्रतिशत रहेको सार्वजनिक गरे । दुईथरी तथ्यांक आएकोबारे प्रश्न उठेपछि ऊर्जा मन्त्री पुनले पहिलाभन्दा घटेको जवाफ दिए तर प्राधिकरणको तथ्यांकलाई ठीक भनेनन् । फेरि राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औ पञ्चवर्षीय योजनामा भने २० प्रतिशत चुहावट रहेको उल्लेख छ । तीन सरकारी निकायले तीनथरी तथ्यांक सार्वजनिक गरेपछि चुहावट कति हो भन्नेमा अन्योल देखिएको छ । वार्षिक रूपमा मात्र ७ अर्बभन्दा बढीको चुहावट भइरहेको बेला विद्युत् प्राधिकरणभित्र यो सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको छ । तर, तीनथरी निकायका तीनथरी तथ्यांकले समस्या परेको छ ।

“चुहावट कति छ भनेर स्पष्टसँग भन्न सक्ने अवस्था छैन, प्राधिकरणले आफ्नो तरिकाले तथ्यांक राखेको हुन सक्छ,” ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन्, “विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक पूर्ण रूपमा विश्वसनीय छैन, यति छोटो समयमा यति धेरै प्रतिशत घट्ने सम्भावना देखिँदैन ।”विद्युत् प्राधिकरणका अनुसार, ५.५ प्रतिशत प्रसारण चुहावट रहेको प्राधिकरणमा १ प्रतिशत उत्पादनमा चुहावट छ । यसको आधारमा वितरण चुहावट झन्डै नौ प्रतिशत छ । विगतमा विद्युत् प्राधिकरणका  उच्च तहका कर्मचारीहरूले नै १५ प्रतिशत प्राविधिक र १० प्रतिशत चोरी चुहावट (नन टेक्निकल) रहेको बताउँदै आएका थिए तर अहिलेको तथ्यांकले भने धेरै घटेको देखाएको छ । विद्युत् प्राधिकरणका प्रवक्ता भने विद्युत् प्राधिकरणले प्राविधिक र गैरप्राविधिक चुहावट न्यूनीकरणमा ठूलो प्रगति मारेको बताउँछन् । “धेरै सवस्टेसन निर्माण भएर प्राविधिक चुहावट घटेको छ, गैरप्राविधिक चुहावट घटाउनका लागि पनि प्राधिकरणले अभियान चलाएर सफलता प्राप्त गरेको छ,” उनी भन्छन्, “वास्तविक तथ्यांक त विद्युत् प्राधिकरणको हो, अरुले चुहावटको तथ्यांक कसरी गणना गरे थाहा छैन ।”प्राधिकरण स्रोतले भने विद्युत् प्राधिकरणले सबै क्षेत्रीय कार्यालय र  वितरण केन्द्रसँग कार्य सम्पादन सम्झौता गरेर लक्ष्य दिएको तथा लक्ष्य पूरा नगर्ने वितरण केन्द्रहरूलाई कार्बाही समेत गर्ने चेतावनी दिएकोले त्यसको असर तथ्यांकमा देखिएको बतायो । “अहिलेकै तथ्यांक मान्ने हो भने त गैरप्राविधिक चुहावट त शुन्यमा झर्न लागिसक्यो, तथ्यांकमाथि प्रश्न उठेको छ,” स्रोतले भन्यो, “कतिपय वितरण केन्द्रले चुहावटविरुद्धको अभियान चलाएका पनि छन् तर कतिपयले राम्रो प्रगति देखाउन पनि यसो गरेका हुन सक्छन्, यसका लागि स्वतन्त्र रूपमा अनुसन्धान गर्नुपर्छ ।”प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रूपमा चलाइरहेकाले यसको प्रभाव देखिएको प्राधिकरणले बताउँदै आएको छ । प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रूपमा चलाइ रहेको भने छ ।

भीम गौतम

स्रोत:कारोबार