रुप्से झरनामा जलविद्युत् आयोजना बन्न दिन्नः मन्त्री अधिकारी

    2314

     संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले रुप्से झरनामा जलविद्युत् आयोजना बन्न नदिने बताएका छन् । विकास निर्माणले पर्यटनको क्षेत्रमा असर गरिरहेको अवस्थामा पर्यटकीय आकर्षण मानिएको रुप्से झरनाको सुन्दरतालाई प्रचारप्रसार गर्न सरकारले सघाउने बताउँदै झरनामा जलविद्युत् आयोजना सञ्चालन नगर्न निर्देशन दिएका हुन् ।

    आइतवार म्याग्दी भ्रमण वर्षको उद्घाटनका लागि बेनी पुगेका मन्त्री अधिकारीलाई झरनामा जलविद्युत् आयोजना बनाउन नदिन माग गर्दै अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको अगुवाईमा ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले जलविद्युत् आयोजनालाई रोक्न पहल गर्ने बताएका छन् ।

    झरना माथिबाट रिर्चस एण्ड डेभलपमेण्टले निर्माण गर्न लागेको चार मेगावाट र बीचबाट मूक्तिनाथ उर्जा विकास कम्पनी प्रालिले स्थानीय केही व्यक्तिलाई प्रयोग गरी जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढाउने प्रयास गरेको समाचार आर्थिक अभियानमा प्रकाशित भएपछि स्थानीय सरोकारवाला समेत आन्दोलित भएका थिए । जनप्रतिनिधिलाई नै प्रयोग गरी जलविद्युतमा आवश्यक स्थानीय सिफारिस लिएर गएपछि विभिन्न सञ्चारमाध्यममा लगातार समाचार प्रकाशित भएपछि दबाबमूलक कार्यक्रम समेत सार्वजनिक भएका छन् ।

    अन्नपूर्ण गाउँपालिकाको दानामा अवस्थित अपार प्राकृतिक सौन्र्दयतायुक्त झरना विश्वमै चर्चित छ । झरनाको माथिल्लो क्षेत्रबाट बन्ने आयोजनाले झरनाको २० मिटरमाथि पानी खसाल्ने गरी विद्युत् विभागबाट अनुमति लिएको भएपनि प्रभावित क्षेत्रमा अन्धगल्छी सहित आसपासका सयौं सम्भावनायुक्त क्षेत्र समेत दर्ता गरेको छ ।

    त्यस्तै मूक्तिनाथ उर्जा विकास कम्पनी प्रालिले समेत झरनालाई असर नगर्ने बताउँदै आएपनि झरनाको स्वरुप बिग्रिने र झरना आसपासमा निर्माणकार्य हुदाँ झरना भासिने सम्भावना समेत रहेको जलविद्युतका सरोकारावालाको भनाई छ । रुप्से झरना १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा समेत समावेश गरिएको र संसारकै गहिरो अन्धगल्छी संरक्षणको पखाईमा भएपनि जनप्रतिनिधि यो विषयमा मौन रहेको स्थानीयको गुनासो छ ।

    – अभियान