माथिल्लो तामाकोसी: आयोजना निर्माण कार्य ९१ प्रतिशत पूरा

    2033

    काठमाडौँ, कात्तिक २१ गते ।   स्वदेशी लगानीबाट निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण कार्य करिब ९१ प्रतिशत सम्पन्न भएको छ ।   यद्यपि मसिनो र मिहिनेत लाग्ने, खालका काम जस्तै उपकरण जडान तथा मुख्य सुरुङ मार्गको फिनिसिङ, इलेक्ट्रोमेकानिल र हाइड्रोमेकानिकलका काम बाँकी भएकाले आयोजनाले व्यावसायिक उत्पादन दिन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।   आयोजनाबाट ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
    आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठका अनुसार विद्युत् आयोजनाका लागि निकै समय लाग्ने र गुणस्तरीयताका लागि  काम अझै बाँकी रहेकाले संरचनागत अधिकांश काम सम्पन्न भइसकेको भए पनि  आयोजनाबाट व्यावसायिक उत्पादन लिन सन् २०१८ को डिसेम्बर महिनासम्म कुर्नैपर्ने हुन्छ ।
    पाँच वर्ष दस महिनामा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको यो आयोजना गत दुई वर्षअघिको बिनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले झण्डै अढाई वर्ष पछाडि धकेलिएको छ ।
    प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सोमबार भन्नुभयो, खास मिहिनेत लाग्ने काम बाँकी छ ।   पावर हाउसका युनिटका इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको काम भइरहेको छ, टनेल बे्रक थ्रु भएपछि यसको फिनिसिङ गर्ने काममा पनि निकै समय लाग्छ ।   झट्ट हेर्दा आयोजनाका ठूलाठूला काम  र संरचना निर्माण सम्पन्न भइसकेको देखिए पनि  अन्य धेरै काम बाँकी छन ।   त्यसलाई पनि निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यका साथ द्रूत गतिमा काम भइरहेको छ ।
    आयोजनाको आठ किलोमिटर ४० मिटर मुख्य सुरुङमार्गमध्ये अब ६० मिटर मात्र खन्न बाँँकी रहेको छ ।   प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, यही कात्तिक अन्तिमसम्म सुरुङको ब्रेक थ्रु हुन्छ होला, ढिलोमा मङ्सिरको पहिलो हप्ताभित्र हामी सुरुङको ब्रेक थ्रु गर्छांै ।
    सिभिल कार्यतर्फ हेडवक्र्सका मुख्य संरचनाहरूमा विशेष गरी डाइभर्सन बाँध, इन्टेक र बालुवा थिग्र्याउने पोखरीको सिभिल कार्य अन्तिम चरणका पुगेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो ।   पावरहाउस तर्फका मुख्य कामहरू पनि करिब करिब सम्पन्न भइसकेका छन् ।   छवटा युनिटमध्ये चारवटामा  लगातार काम भइरहेको छ, प्रवक्ता डा. न्यौपानेले भन्नुभयो ।
    उहाँका अनुसार आयोजनाको ३० एमभीए क्षमताका ११ वटा सिङ्गल फेज पावर ट्रान्सफर्मरमध्ये आठवटा आयोजनास्थललसम्म ढुवानी गरी सकिएको छ ।   विद्युत् गृहका मूख्य उपकरणमध्ये जेनेरेटरका केही पार्टपुर्जाहरू पनि आयोजनास्थलसम्म ढुवानी भइसकेका छन् ।
    आयोजनाको विद्युत् गृह गोँगरदेखि खिम्तिसम्मको ४७ किलोमिटरको २२० केभी प्रसारण लाइनमा १२७ वटा टावर राखिने  छन् ।   सोमध्ये ११८ वटा टावरको जग हाल्ने काम भइसकेको छ भने ९६ वटा टावरहरू पूर्ण रूपमा जडान गरिसकिएको छ ।   प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार ९६ वटा टावरमा अर्थिङको कार्य सम्पन्न भई करिब आठ किलोमिटर तार तान्ने काम पनि पूरा भइसकेको छ ।
    श्रेष्ठले भन्नुभयो, सुरुङमा पानी हाल्ने बेलासम्म पावर हाउसका कम्तीमा चार युनिटबाट व्यावसायिक उत्पादन गर्न सक्ने र उत्पादित बिजुली प्रसारण लाइनमा जोड्न सक्ने गरी प्रसारण लाइन बनिसक्छ ।   आयोजनाका सबै कामहरू सन्तुलन मिलाएर हामीले अगाडि बढाएका छौँ ।   कुनै काम नभएका कारणले निर्धारित समयमा आयोजनाबाट व्यावसायिक उत्पादन रोकिँदैन ।
    सडक विभागले यो क्षेत्रमा गर्न थालेको बाटो विस्तारले गर्दा ढुवानीको समस्या भएको र आयोजनाका काम प्रभावित भइरहेका छन् ।   लामुसाँघुदेखि चरिकोटसम्म र दोलखादेखि सिँगटीसम्मको सडक विस्तारले आयोजनाका उपकरण र मेसिन औजार ढुवानी गर्न निकै कठिनाइ भएको प्रवक्ता डा. न्यौपाने बताउनुभयो ।   सडक बनाउन सुरु गरिएको तर कछुवा गतिमा काम हुने ठेक्का प्रणालीको पीडा यो आयोजनाले भोगिरहेको छ ।   सडक निर्माणका कारणले दायाँ बायाँ किनार भत्किँदा मेसिन, उपकरणको  ढुवानी प्रभावित हुन थालेपछि आयोजना आफैले बिग्रे भत्केको ठाउँको सडक मर्मत गर्दै उपकरण बोकेको कन्टेनर आयोजनास्थलसम्म पु¥याउने कार्य भइरहेको छ ।
    डा. न्यौपानेले भन्नुभयो, आयोजनाका ठूल्ठूला उपकरण बोकेका कन्टेनर आउनै नसक्ने भएपछि आयोजनाले नै बाटो बनाएर ढुवानी गर्न थालिएको छ ।   यसमा पनि धेरै समय खर्चिनु पर्दा निर्धारित योजना अनुसार काममा अझै केही ढिलाइ हुन थालेको छ ।   सुरु लागत अनुमान ३५ अर्ब २९ करोड रुपियाँ भए पनि भूकम्प, नाकाबन्दी तथा कच्चा पदार्थको महँगीले आयोजनाको लागत बढ्ने देखिएको छ ।

    स्रोत : गोरखापत्र