माथिल्लो तामाकोशीको सुरुङमार्ग अर्को हप्ता ‘ब्रेक थ्रु’

    547

    upper-tamakoshi

    दोलखाः माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थल पुग्ने पहुँचमार्गको लागि निर्माणाधीन सुरुङमार्ग अर्को साताभित्रै बे्रक थ्रु हुने भएको छ ।

    यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि बाँधस्थलसम्म पुग्ने पहुँचमार्ग खुल्नेछ भने २०७२ वैशाख १२ पछि रोकिएको लामाबगरस्थित बाँधस्थलको काम पुनः सुरु गर्न मार्गप्रशस्त हुनेछ । सुरुङमार्ग खुलेपछि लामाबगरसम्मको सडक सुचारु हुनेछ ।

    २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रवेशमार्गको काब्रेभिरक्षेत्रमा सडक भत्किएको थियो । भिर काटेर निर्माण गरिएको सडक भूकम्पले भत्किएर त्यही ठाउँबाट सडक लैजान अप्ठेरो भएपछि काब्रेभिरबाट सुरुङमार्ग निर्माण गर्न थालिएको हो ।

    काब्रेभिरमा सडक भत्किएर यातायात अवरुद्ध भएपछि अहिलेसम्म बाँधस्थलको काम हुन सकेको छैन । दोलखा बजारबाट लामाबगरसम्मको ६८ किलोमिटर पहुँचमार्ग मध्ये भोर्ले र काब्रे भिरमा सबैभन्दा बढी सडक क्षति भएको थियो ।

    ‘यही हप्ताभित्र सुरुङमार्ग ब्रेक थ्रु हुने योजना थियो’ माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने, ‘अन्तिम भागमा कमजोर चट्टान आएकाले केही दिनयता कामको गति घटेको छ ।’

    विगतमा दैनिक ५ मिटरसम्म सुरुङको काम हुँदै आएकोमा केही दिनयता दैनिक मुस्किलले २ मिटर प्रगति छ । कमजोर चट्टानका कारण बढी सुरक्षात्मक व्यवस्थाको काम धेरै गर्नुपर्ने भएकाले काम ढिला भएको डा. न्यौपानेले बताए ।

    निर्माण सम्पन्न भएपछि बाँधस्थलसम्म यातायात सञ्चालन भई त्यसक्षेत्रका काम सुरु गर्न बाटो खुल्ने छ भने लामाबगर र लप्ची जाने यात्रुहरुलाई आवतजावत गर्न समेत सहज हुनेछ । आयोजनाले काब्रेभिरबाट ३ सय ३७ मिटर सुरुङमार्फत यातायात सञ्चालन गर्ने वैकल्पिक उपाय अपनाएको हो ।

    सोमध्ये बुधवार दिउँसोसम्म १३ मिटर मात्र सुरुङमार्गको काम बाँकी छ । यही गतिमा अबको ५ दिनभित्र पूरा हुने उनले विश्वास व्यक्त गरे ।

    उनले भने, ‘अब १३ मिटर बाँकी भएकोले कुनै समस्या नआए अर्को हप्ता साताभित्र सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनेछ ।’ सुरुङमार्ग निर्माणको काम चौबीसै घण्टा भइरहेको छ । तथापि लामाबगरसम्म जाने यातायात अभावमा सुरुङमार्ग काब्रेभितिरबाट मात्रै खन्नु परेकोले यति ढिलो भएको हो ।

    इलेक्ट्रोमेकानिकल सामान ढुवानीमा ढिलाइ भएर पनि आयोजनाको काम ढिलो भएको हो । अत्यधिक भारका सामान ल्याउनका लागि सिन्धुपाल्चोकको खाडीचौरमा डाइभर्सन निर्माण गर्नुपर्छ ।

    तर सुनकोशी नघटिसकेकोले डाइभर्सन निर्माणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । उनका अनुसार पुसको तेस्रो सातासम्म सुनकोशीमा डाइभर्सन बनिसकेपछि इलेक्ट्रोमेकानिकल कामले पनि निरन्तरता पाउँछ ।

    हेडरेस सुरुङको ३ किलोमिटरमा डेढ वर्षयता पानी भरिएको छ । सुरुङमा भरिएको पानी एकैपटक फ्याल्दा सुरुङ खुम्चिने भएकोले मिलाएर फ्याल्दा ३ महिनाभन्दा बढी समय लाग्ने आयोजनाको अनुमान छ । विद्युत् लाइन केही दिनमा बनिसक्ने र त्यसपछि सुरुङमा जमेको पानी फ्याल्ने काम सुरु हुने आयोजनाले जानकारी दिएको छ ।
    आयोजनाको गोगरडाँडाबाट पनि हेडरेस सुरुङ निर्माणको तयारी भएको छ । ठाडो सुरुङको माथिल्लो भागसम्म पुग्ने ३ किलोमिटर पहुँचमार्ग पनि क्षतविक्षत भएकाले वैकल्पिकमार्ग बनाएर त्यहाँसम्म गाडी पुग्ने व्यवस्था भएको छ । आयोजनाको ठाडो सुरुङ निर्माणको काम पनि रोकिएको छ ।

    प्रवक्ता न्यौपानेले केही दिनमै ठाडो सुरुङ निर्माणको काम सुरु हुने जानकारी दिए । २ वटा ठाडो सुरुङमध्ये ३ सय ६० मिटरको तल्लो खण्ड २ वर्ष अघि नै पूरा भएको छ । माथिल्लो ३ सय १० मिटर मध्ये तलबाट १ सय ४० मिटर पनि पूरा भएको छ ।

    बाँकी सुरुङ माथिबाट तल ‘डाउन दी होल’ विधिबाट खन्नुपर्ने अवस्था भएको उनले बताए । आयोजनाको विद्युत गृहको काम र प्रसारण लाइनको काम भूकम्प र नाकाबन्दीले ८ महिना जति रोकिए तापनि त्यसपछि निरन्तर जारी छ ।

    आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण गर्न विद्युत्गृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ ।

    चार लटमा आयोजनाको काम भइरहेको छ । आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको इण्डिया लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले काम गरिरहेका छन् । आयोजनाको काम करिब ८३ प्रतिशत काम पूरा भएको छ ।

    निर्माण अवधिको ब्याज बाहेक आयोजनाको अनुमानित लागत ३५ अर्ब २९ करोड रुपैयाँ (४४ करोड १० लाख अमेरिकी डलर) छ । यो लागत १ डलर बराबर ८० रुपैयाँलाई आधार मानेर तय गरिएको हो ।

    हाल डलरको भाउ बढेर, १ वर्षजति काम ठप्प भएर र बजार मूल्य वृद्धिका कारण थप ८ अर्बभन्दा बढी आयोजनाको लागत अझ बढ्ने सम्भावना छ ।

    स्रोत : कारोबार