छिमेकी भारतले सीमा नदी महाकालीमा अर्को जलविद्युत् आयोजना बनाउन प्रस्ताव गरेपछि नेपाली अधिकारीले सो आयोजनाको विषयमा आन्तरिक छलफल थालेका छन् ।
परराष्ट्र मन्त्रालय र ऊर्जा मन्त्रालयका अधिकारीबीच बुधबार आयोजनाको विषयमा आन्तरिक छलफल भएको छ । नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी महाकाली नदीको गर्वा तावाघाटमा एउटा जलविद्युत् आयोजना बनाउने भनेर प्रस्ताव गरेपछि नेपाली अधिकारीले आन्तरिक छलफल थालेका हुन् ।
आयोजना पोखरी नदीको बहावमा आधारित (पण्डेज रन अफ दि रिभर ) प्रकृतिको रहेको छ । भारतले गरेको प्रारम्भिक अध्ययनले आयोजनाको जडित क्षमता ६३० मेगावाट हुने देखाएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । अध्ययनपछि आयोजनाको क्षमता अझै बढ्ने संभावना रहेको स्रोतको भनाइ छ । आयोजना धौलीगंगा भन्दा केही किलोमिटर माथि रहेको बताइएको छ ।
भारत सरकार स्वामित्वको नेश्नल हाइड्रोपावर कर्पोरेशन लिमिटेड (एनएचपीसी) का अधिकारी आयोजना अघि बढाउने विषयमा छलफल गर्न नेपाल आउने तयारी गरिरहेका छन् । भारतले महाकाली सन्धि अन्र्तगत आयोजना अघि बढाउन चाहेको प्रष्ट पारेको छ । भारतीय अधिकारीसँग छलफलपछि मात्र आयोजनाको विषयमा थप प्रष्टता आउने स्रोतको भनाइ छ । आयोजना अघि बढाउने विषयमा एनएचपीसीका अधिकारी नेपाल आउने तयारी गरिरहेको स्रोतको भनाइ छ ।
भारतले प्रस्ताव गरेको प्रस्तावित ५ हजार ४० मेगावाट क्षमताको पञ्चेश्वर परियोजना भन्दा धेरै माथि रहेको बताइएको छ । सीमा नदीमा भएकाले द्विपक्षीय रूपमा परियोजना बनाउन भारतले चाहेको परराष्ट्र स्रोतको भनाइ छ ।
स्रोत : १२ खरी