असोज ६, काठमाडौं । ऊर्जा मन्त्रालयले तयार पारेको लोडशेडिङ न्यूनीकरण कार्ययोजनामा बिदा बढाएर विद्युत् बचाउने उपाय सुझाइएको छ । सो कार्ययोजनामा हप्तामा एक दिन थप बिदा गर्दा १ सय मेगावाट विद्युत् बचत हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको अध्ययनमा यस्तो देखिएपछि मन्त्रालयले पुसदेखि चैतसम्म हप्तामा २ दिन बिदा दिई ५ दिनमात्र कार्यालय सञ्चालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिश गरेको छ ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवम् ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले एक दिनको बिदाबाट सरकारी कार्यालयमा उपयोग हुने २५ मेगावाट विद्युत् बचत हुने बताए । त्यस्तै, निजीक्षेत्रका कार्यालय एक दिन बन्द गर्दा ७५ मेगावाट विद्युत् बचत हुने उनले बताए ।
‘मन्त्रिपरिषद्बाट पारित भएमा कार्यालयको कार्य दिन कम गर्दा मात्र पनि लोडशेडिङ कम हुन्छ,’ कोइरालाले भने । प्रधानमन्त्री तथा ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका बाबुराम भट्टराईले सुक्खायाममा लोडशेडिङ १२ घण्टामा सीमित राख्न निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै ऊर्जा मन्त्रालयले लोडशेडिङ न्यूनीकरण कार्ययोजना तयार पारेको थियो । कार्ययोजनामा कार्यालयको कार्य दिन घटाउनेलगायतका करीब एक दर्जन कार्यक्रम अगाडि सारिएको छ ।
मन्त्रालयले कार्ययोजनामा भारतबाट विद्युत् आयात गर्नका लागि कटैयादेखि कुसाहासम्मको १५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने विषयलाई पनि प्राथमिकतासाथ अगाडि सारेको छ । भारत सरकारले प्रसारण लाइन निर्माणका लागि सहयोग गर्ने वचन दिएको ऊर्जा मन्त्रालयका प्रवक्ता अनुपकुमार उपाध्यायले बताए । करीब ६ महिनामा निर्माण गर्न सकिने सो प्रसारण लाइनको अनुमानित लागत २९ करोड रुपैयाँ रहेको छ । प्रसारण लाइन निर्माणपछि ७५ मेगावाट विद्युत् आयात गर्न सकिने पनि मन्त्रालयले बताएको छ ।
कार्ययोजनामा विद्युत् चुहावटलाई ३ प्रतिशतले कम गर्ने पनि उल्लेख गरिएको छ । हाल करीब २७ प्रतिशत विद्युत् चुहावट हुने गरेको छ । यसैगरी लोडशेडिङ कम गर्नका लागि चिनी कारखानाको बगासबाट उत्पादित विद्युत् खरीद गर्नेलगायतका कार्यक्रम अगाडि सारेको छ ।
Source: © 2012 Abhiyan