जनवरीदेखि थप २८० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको तयारी
नेपाल विद्युत प्राधिकरणले आउँदो जनवरीदेखि आयात गर्ने भनिएको थप विद्युतको भाउ निर्धारण गर्न भारतीय ऊर्जा व्यापार कम्पनीलाई पत्राचार गरेको छ ।
भारत सरकारले नेपाललाई बिजुली बेच्न तोकेको नोडल एजेन्सी एनभीभीएन विद्युत व्यापार कम्पनी र पहिलादेखि खरिद गर्दे आएको पावर ट्रेडिङ कर्पोरेशन (पीटीसी) लाई बिजुलीको भाउ निर्धारण गर्नलाइ पत्राचार गरेको छ । अन्तरदेशीय प्रसारणलाइन अन्र्तगत मुज्जफपुर–ढल्केबरबाट आयात गरिएको बिजुलीको सम्झौता आउदो डिसेम्बरदेखि सकिने भएपछि विद्युत् प्राधिकरणले थप विद्युत खरिदबिक्री दर निर्धारण गर्न पत्राचार गरेको हो ।
दुवै संस्थाले दर पठाएपछि वार्ता गरेर मूल्य निर्धारण हुने प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले बताए । “हामीले थप बिजुली कुन दरमा दिने हो जानकारी गराउन भनेका छौं” उनले भने, “भारतीय कम्पनीले प्रस्ताव गरेपछि वार्ता गरेर नयाँ मूल्य निर्धारण हुनेछ ।” उनका अनुसार हाल भारतबाट प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३ रुपैयाँ ६० पैसा भारु) मा ८० मेगावाट आयात भइरहेको छ भने अन्य बिजुली नेपाल–भारत विद्युत आदनप्रदान सम्झौता र व्यापारिक दरमा आयात भइहरको छ ।
“टनकपुरबाट थप बिजुली आयातका लागि पीटीसी र एनभीभीएन दुबै र अन्य प्रसारणलाइनबाट आयात गर्न एनभीभीएनसँग दर मागेका छौं” उनले भने । आउँदो जनवरीबाट जुलाईसम्म थप बिजुली आयात गरेर लोडसेडिङ घटाउने प्राधिकरणको योजना छ । आउँदो हिउँदमा थप २८० मेगावाट गरी भारतबाट कुल ६ सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । विद्युत्भार कटौती (लोडसेडिङ) लाई बढीमा ७ घण्टामा सिमित गर्न भारतबाट थप ३ सय मेगावाटसम्म बिजुली आयातको तयारी गरेको हो । भारतीय कम्पनीबाट नयाँ मूल्यको प्रस्ताव आउन बाँकी रहेको उनले जानकारी दिए ।
टनकपुर नाकाबाट १३२ केभी प्रसारण लाइनबाट ३० मेगावाट बिजुली आयात भइरहेकोमा ट्रान्सफरमरको क्षमता ५० बाट १ सय एमबी पुर्याएपछि थप ४० गरी कुल ७० मेगावाट बिजुली आयात गर्ने तयारी भएकाले पीटीसीसँग प्रस्ताव मागेको उनले जानकारी दिए । बंगलादेशमा प्रतियुनिट ५ रुपैयाँ भारुमा बिक्री गरिरहेको भन्दै एनभीभीएनले सोही दर दिनुपर्ने अडान लिदै आएको छ ।
ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माण भइरहेको छ । यो लाइनबाट थप १५० मेगावाट, कटैया–कुसाहबाट थप ५० र परवानीपुर–रक्सौलबाट ५० गरी र टनकपुरबाट थप ४० मेगावाट आयात गर्ने तयारी प्राधिकरणको छ । हाल ढल्केबरमा द्रुतगतिमा सवस्टेशन निर्माणको काम भइरहेको छ । आगामी डिसेम्बरसम्म सक्ने लक्ष्य प्राधिकरणको छ । यस्तै कटैया–कुसाह र परवानीपुर–रक्सौल प्रसारणलाइन सुधिढीकरणको काम पनि डिसेम्बरमा सक्ने लक्ष्य छ । आगामी जनबरीबाट थप २८० मेगावाट आयात गर्ने उनले जानकारी दिए । गत वर्ष भारतबाट ३४५ मेगावाटसम्म बिजुली आयात भएको छ । थप आयात भएपछि भारतबाट मात्र ६ सय मेगावाट बढी विद्युत आयात हुनेछ ।
स्रोत : १२ खरी