पोल गाडेको चारवर्ष बित्यो, विद्युत् आएन

    1550

    कञ्चनपुर, माघ २७ गते । कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र तार तानेको भएपनि विद्युत् सेवा सञ्चालन नगर्दा यहाँका सातसय परिवार मार्कामा परेका हुन् । ट्रान्सफर्मर जडान नगर्दा विद्युत् सेवा सञ्चालनमा आउन नसकेको स्थानीयवासी रामसहाय रानाले बताउनुभयो । विद्युत् आउने आशामा घरमा गरिएको वायरिङसमेत मुसाले काट्न थालेको उहाँले बताउनुभयो ।

    “पटकपटक प्राधिकरणको कार्यालयलाई विद्युत् सेवा सञ्चालन गरिदिन भन्दै आएका छौँ”, अमरसिं रानाले भन्नुभयो, “अझै सम्म विद्युत् सञ्चालन हुने टुङ्गो छैन् ।” “ट्रान्सफर्मर आज ल्याउछौँ, भोलि ल्याउँछौँ भन्छन् कहिले आउँछ”, उहाँले भन्नुभयो । विद्युत् सेवा नभएपछि यस क्षेत्रका बासिन्दाले अँध्यारोमै रात काट्नुपर्ने अवस्था रहेको छ । विद्युत् नहुँदा टुकी बालेर रातिका बेला उज्यालो गर्नुपर्ने भएकाले विद्यालय पढ्ने बालबालिका र गृहिणीमा श्वासप्रश्वासको समस्या देखापरेको लालसिंह रानाले बताउनुभयो ।

    दोदा नदीको बाढीले नौ वर्षअघि विस्थापनमा पारेपछि यस क्षेत्रका बासिन्दा यहाँ बस्दै आएका छन् । विद्युत् नहुँदा खेतमा सिँचाइको कार्यसमेत गर्न नसक्दा अन्नबाली र तरकारी बालीको उत्पादन सन्तोषजनक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

    रासस