पश्चिम सेती सुरु हुनेमा स्थानीयबासी अन्योलमा

    278

    माघ २, २०७३- गाडी नदेखेका ढंगाडबासीले चार दशकअघि नै हेलिकप्टर हेर्न पाए, पश्चिमसेती जलविद्युत् आयोजनाको नामले । उनीहरू मनमनै खुसी भए, परियोजनाको मुआब्जाबाट पहाडको सकसपूर्ण जीवनबाट पाउने सोच बनाए । उनीहरूको सोच व्यवस्थित बस्तीमा आधुनिक सुविधाको सुखभोग गर्ने बन्यो ।

    हिजोआज उनीहरूका आशाहरू चिसिन थालेका छन् । अझै बढी गरिबीमा धकेलिन पुगेका छन् । वरपरका गाउँहरूमा गाडीहरू हुइँकिँदा ढुंगाडबासीले खच्चरको सहाराले मालसामान ढुवानी गर्नुको विकल्प पाएका छैनन् । पश्चिम सेतीले उकासेर पछारेको अनुभव गर्दै छन् । ढुंगाडबासी उदाहरणका प्रतिनिधि मात्रै हुन् । डोटीको तलारा, डडेल्धुराको बेलादेवीपुर, बझाङको देउरालगायत ९ गाविसका बासिन्दाको अवस्था पनि त्यस्तै छ । चार दशकदेखि आसैआसमा दिनहरू बितेका छन् ।

    पश्चिम सेतीले बगर बन्यो खेतहरू
    ढुंगाड र तलराबासीका खेतहरू पश्चिम सेतीका कारण बगर बनेका छन् । ‘सेती किनारका खेतहरू एक माना बीउले चार बोरी धान फलाउँथ्यो,’ गाउँका मुखिया कर्णबहादुर चन्दले भने, ‘पश्चिम सेती परियोजनाको कारण बगर बन्यो ।’ उनका अनुसार कुनै बेला दिपायल, चैनपुर, डडेल्धुरासम्म बेच्ने खाद्यान्न बेचिन्थे । स्थानीयबासीले सेती नदीको किनारको उब्जनीले वर्षभरिको भोक मेटाउँथ्यो । तर, पश्चिम सेती परियोजना निर्माणले खेतको अन्नभन्दा मुआब्जाबाट फेरिने जीवनशैलीप्रति लोभ देखायो ।

    स्थानीयले सेतीका किनारमा रहेका खेत, बस्ती जोगाउनतिर ध्यान दिन छोडे । बोटबिरुवा हुर्काउन, वृक्षारोपण गर्नेतर्फ चासो जान सकेन । तटबन्धनतर्फ कसैको कुनै पहल भएन ।
    ०५७ सालमा सेतीमा आएको बाढी गाउँ पस्यो । घर, खेतबारी बगायो । बचेका खेतहरू बाढीको बालुवाले ढाक्यो । ‘हेर्दाहेर्दै त्यस्तो मलिलो जमिन बगर बन्यो,’ स्थानीय देवबहादुर लुहारले दु:खेसो गर्दै भने, ‘पेट भर्ने खेत बगर भएपछि परिवार भोकै पर्न थाले, ओत लाउने घर बगेपछि आकाशमुनि बास भयो ।’

    अर्का स्थानीय खडक चन्दका अनुसार बाढी पस्न सुरु भएपछि सयौं युवा पेट पाल्न भारत छिरे । गाउँमा अनिकाल सुरु भयो । गोजीमा पैसा हुनेले किनेर पेट पाले, नहुनेले भारतमा नोकरी गरेर जीवन धाने । हरेक वर्षजसो बाढीले क्षति गर्दै पीडा थपिरहेको छ । सोही क्षेत्रका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग तटबन्धका लागि माग राख्दा ढुंगाडबासीलाई अब बम्बैजस्तो सहरमा जीवनयापन गर्न मुआब्जा पाइने भन्दै अरू दु:ख नगर्न भनेको मुखिया कर्ण चन्द स्मरण गरे ।

    थरी–थरीका सपनाहरू
    २२ रोपनी खेतका धनी लोकबहादुर चन्द विगतमा पश्चिम सेती परियोजनाले देखाएका सपनाहरू सम्झेर आजभोलि लज्जित छन् । मुआब्जाबाट फेरिने जीवनशैलीबाट उनी मख्ख थिए । त्यतिबेला उनले आर्थिक रूपले कमजोर अवस्थामा रहेका आफ्ना छोरीज्वाइँ, इष्टमित्रहरू सम्झिए । आफ्नो नाममा रहेको जमिन विवाहित दुई छोरीका नाममा पनि हाले । केही बहिनीहरूलाई पनि बाँडे । आफ्ना पुरोहितलाई दान गरे । ‘म त करोडपति हुन्छु, तराईको जमिनदार हुन्छु सम्झिए,’ चन्दले कान्तिपुरसँग भने, ‘किन छोरी–बहिनीलाई लखपति भए पनि नबनाउने भनेर नाममा हाले तर त्यो सपनामै रह्यो ।’

    उता सोही गाउँका वीरबहादुर महरालाई भत्किएको घरसमेत मर्मत गर्ने मन लागेन । जलविद्युत् आयोजना निर्माणका लागि काम गरिरहेको स्मेक कम्पनीले गाउँका युवाहरूलाई प्रभावित क्षेत्रका बासिन्दाहरूको लगत संकलन गर्ने, उनीहरूका माग र इच्छाबारे सूचना टिप्न दैनिक खटाउँदा महरालाई आफ्नो गाउँ कति बेला छोड्ने हो भन्ने लाग्थ्यो । ‘छोड्नुपर्ने गाउँघरको के माया गर्नु भनेर चुहिएको छानोसमेत टाल्न सकेन,’ महराले भने, ‘त्यो बेला कल्पनै कल्पनामा दिनहरू बित्थे, काम गर्ने मुडै बनेन ।’

    यसैबीचमा स्मेक कम्पनीले जलाशयबाट डुबानमा पर्ने डडेल्धुरा, बैतडी र बझाङका ९ गाविसका करिब ५ हजार घरपरिवारका लागि तराईमा पुन:स्थापना गर्ने भनेर जग्गा खोज्ने काम पनि गरेको स्थानीय एमालेका नेता राजेन्द्र चन्दले बताए । ‘त्यो बेला सबैले अनेकौं सपनाहरू देख्यौं,’ उनले भने, ‘घरको काम गर्न, गाउँको बाटोघाटो मर्मत, सम्पदाहरूको संरक्षण पनि गर्न छाड्यौं ।’ उनले गाउँमा आएका खानेपानी, सिँचाइ र तटबन्धका योजनाहरूसमेत अरू वडामा पठाइदिएको बताए ।

    स्थानीयका अनुसार त्यस बेला कैलालीको लालपुर, श्रीपुर, चुहा, लम्की, बहुनिया, हसुलियालगायतका क्षेत्रमा जग्गा खोज्ने र त्यहाँ लगेर स्थानीय प्रतिनिधिहरूलाई देखाउने कामसम्म भएको थियो ।

    पूर्वाधारका लागि दौडधुप
    विस्थापित हुने भयले थातथलो बिर्सन थालेका स्थानीय अब भने बिस्तारै मोह बढाउन थालेका छन् । बाटोघाटो, कुलो–पँधेरा, खानेपानी, सिँचाइ, तटबन्ध निर्माणका लागि सक्रिय हुन थालेका छन् । विगतबाट पाठ सिक्दै थातथलोमा बसुन्जेल पूर्वाधार चाहिंदो रहेछ भनेर दौडधुप बढाइरहेका भेटिन्छन् ।

    ‘पटक–पटकका आशाहरू कुल्चिएपछि पश्चिम सेती बन्दैन भन्नेमा बढी विश्वस्त छौं,’ शारदा माध्यमिक विद्यालय ढुंगाडका प्रधानाध्यापक मीनबहादुर चन्दले भने, ‘विगतमा देखेका आशाहरूलाई खराब सपना सम्झेर विकास पूर्वाधारहरूका लागि जुर्मुराइरहेका छौं ।’ उनले नेता, पत्रकार, सांसदहरूलगायतलाई विकास माग्न दौडधुप गरिरहेको बताए । अहिलेसम्म तलार र ढुंगाडबासीले शुद्ध पिउनेपानी पाउन सकेका छैनन् । सेती नदीकै पानीले खाना पकाउने, तिर्खा मेट्ने गरिरहेका छन् ।

    भर्खरै मात्र सम्पन्न ढुंगाड गाविस परिषद्बाट गाउँमा सडक ल्याउन रकम छुट्याउन लगाएका छन् । डडेल्धुराको बेलादेवीपुर गाविससम्म पुगेको सडकबाट ८ किलोमिटर ट्रयाक खोलेर ढुंगाडसम्म ल्याउन तयारी गरिरहेका छन् । खच्चरमा मालसामान ढुवानी गरिरहेका ढुंगाडबासी दुई वर्षभित्रमा सडक गाउँ पुर्‍याउने योजनामा छन् । तर गाविसको रकम मात्र प्रयाप्त नहुने हुँदा अझै अन्योलमा छन् ।

    ‘अहिलेसम्म हामी चुप लागेर बसेका थियौं,’ ढुंगाडका कांग्रेस नेता लोकबहादुर चन्दले भने, ‘जिविस र मन्त्रालयले चासो नदेखाएपछि हामी गाविसकै बजेट छुट्याएर भए पनि सडक ल्याउने प्रयासमा छौं ।’ उता डोटीको लामिखाल गाविस तलार गाउँका बासिन्दाले आफ्नै स्रोतबाट बजेट जुटाएर सडकको ट्रयाक खोलेका छन् । वर्षौंदेखि पैदल हिंडेर आवतजावत गरे पनि दुई महिनाअघि मात्र तलारबासीले ८ लाख खर्च गरेर सडक पुर्‍याएका हुन् । भगवती मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बर सिंहले पश्चिम सेती बन्नेमा शंका भएपछि बाध्य भएर सडक ल्याउनुपरेको बताए ।

    ढुंगाड र तलारबासीको मुख्य समस्या बाढी पहिरोको हो । सेती नदीको वारि तलार गाउँ छ भने पारि ढुंगाड पर्छ । तलारको बायाँ र ढुंगाडको शिरतिरबाट तटबन्धको अभावले नदी कटान गरेर बस्ती जोखिममा छ । बर्सेनि खेतीयोग्य जमिन पनि काट्दै लगेको छ । यस वर्ष भने उनीहरूले केन्द्रसम्मै दबाब दिएर तटबन्धका माग गरेका छन् ।

    पश्चिम सेतीको चर्चा
    फ्रान्सेली कम्पनी सोग्रेहले २०३७ सालमा सेती नदीमा पहिलो पटक जलविद्युत् आयोजनासम्बन्धी अध्ययनको सुरुवात गरेको थियो । त्यस बेला ३७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सकिने निष्कर्ष निकालेको थियो ।

    ६ वर्षपछि ०४३/०४४ मा ३ सय ६० मेगावाट बिजुली उत्पादन गर्न सकिने भन्दैं स्नोई माउन्टेन इन्जिनियरिङ (स्मेक) नामक अस्ट्ेरलियन कम्पनीले यसको निर्माणमा रुचि देखाएको थियो । फेरि ०५४ मा ७ सय ५० मेगावाट निकाल्न सकिने ठहरका साथ नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

    तर आयोजना पहिचान भएको ४० वर्ष बितिसक्दासमेत निर्माण कार्यको थालनी हुन नसक्दा सेती किनारका बासिन्दा विकासको गतिबाट पछाडि धकलिएका हुन् । स्मेक कम्पनीको आर्थिक पक्षलाई बलियो पार्न नसकेर अगाडि बढाउन नसकेको आयोजनाको त्यस बेलाको अनुमानित कुल लागत १ खर्ब २० अर्ब जति थियो ।

    भारत, चीन र एसियाली विकास बैंक (एडीबी) साझेदार रहेको आयोजनामा निर्माण कम्पनी स्मेकको कुल बजेटको मा २८ प्रतिशत मात्रै लगानी थियो । यसमा नेपाल सरकारले १५ र नेपाली लगानीकर्ता १४ गरी २९ प्रतिशत लगानी गर्ने समहति भएको थियो । यसैबीचमा निर्माण कम्पनीले गरेको ढिलाइलगायतका कारण देखाउँदै नेपाल सरकारले साउन २०६८ मा स्मेकले पाएको आयोजनाको निर्माण अनुमतिपत्र रद्द गर्‍यो ।

    २०६८ मा चिनियाँ प्रवद्र्धक थ्री गर्जेज कर्पोरेसनले हात हालेको छ । यस कम्पनीले तत्कालीन समयमा ऊर्जा मन्त्रालयसँग सम्झौता गरेको हो । तर अहिलेसम्म यस कम्पनीले आयोजनाको निर्माण कार्य सुरु गरेको छैन ।

    नेपाल सरकारको तर्फबाट नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच कुरा निमल्दा आयोजना अघि बढ्न सकेको छैन । स्थानीय डम्बर सिंहले थ्री गर्जेज कम्पनीबाट असारसम्म काम भएको बताए । उनले पानी नाप्ने, ढुंगा तथा माटो चट्टान जाँच्नेलगायतका केही काम गरेका थिए । ‘तर असारपछि सबै सामान बेवारिसे अवस्थामा छाडेर गएका छन्’ उनले भने, ‘यसपछि फेरि पश्चिम सेती निर्माण काम हुन्छ कि भन्ने आशा अन्योलमै पर्‍यो ।’

    स्रोत:कान्तिपुर