जलविद्युत् र पर्यटनबाट लमजुङको समृद्धि

1418

१८ फागुन २०७५|लमजुङ

१९–२९ फागुनसम्म गण्डकी प्रदेशस्तरीय छैटौँ लमजुङ महोत्सव–२०७५ आयोजना हुँदैछ । महोत्सवले लमजुङ जिल्लाको चिनारी देश–विदेशमा फैलाउने मात्र नभई जिल्लाकै आर्थिक र सामाजिक विकासको क्षेत्रमा महोत्सव कोसेढुंगा साबित हुने विश्वास गरिएको छ । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन : नागरिक समृद्धिका लागि लगानी वातावरण’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको छ । उद्योग, व्यापार, पर्यटन, कृषि, जलस्रोतको प्रवद्र्धन, कला, सीप र सांस्कृतिक सम्पदाले भरिपूर्ण लमजुङको पहिचानलाई उँचो बनाउन महोत्सवले ठूलो भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ ।

घलेगाउँ संसारभर परिचित
हिमाली क्षेत्रमा पशुपालन, पहाडी क्षेत्रमा फलफूल तथा तरकारी र समतल क्षेत्रमा खेतीयोग्य भूमि छ । लमजुङ पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । प्रसिद्ध पर्यटनमार्ग अन्नपूर्ण पदयात्रा जिल्लाको सदरमुकाम बेसीसहरबाट सुरु हुन्छ । यो मार्गमा बर्सेनि १८ देखि २० हजारसम्म पर्यटक आउने गरेको पाइन्छ । घलेगाउँ, काउलेपानी, घनपोखरा, भुजुङ, पसगाउँ, गिलुङ, सिउरुङ, खासुरलगायतका गाउँ ग्रामीण पर्यटकीय गाउँको रूपमा चिनिँदै आएका छन् । सुन्दर घलेगाउँ सार्क भिलेजका रूपमा संसारभर परिचित छ । राइनासकोट, गाउँसहर, चेपेघाट, सिन्दुरेढुंगा, दूधपोखरी, पुरानकोट पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढिरहेका छन् । दूधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, इलमपोखरीजस्ता मनमोहक तालहरू पर्यटकीय दृष्टिकोणबाट अति नै महत्वपूर्ण मानिएका छन् ।

बेसीसहरमा रहेको तमू संग्रहालय र त्यहाँ स्थापना गरिएको स्व. डा. हर्क गुरुङको प्रतिमा स्थापनाले जिल्लाको गौरव झनै बढाएको छ । बाहुनडाँडा र ताघ्रिङको जगतमा रहेको तातोपानी कुण्ड आकर्षक पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेको छ । बेसीसहरबाट सुरु भई उत्तरकन्या, घनपोखरा, भजुङ, पसगाउँ हुँदै कास्कीको मिजुरे निस्कने गुरुङ सम्पदा पदमार्गलगायत आधा दर्जनभन्दा बढी रमाइला पदमार्ग छन् ।

शब्दचित्रमा लमजुङ
लमजुङ ऐतिहासिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक एवं जलविद्युत्को महत्वका हिसाबले अग्र स्थानमा रहेको छ । जिल्लाको क्षेत्रफल १,६९२ वर्गकिलोमिटर छ । समुद्र सतहबाट ३८५ मिटर (रम्घाटार)देखि ८,१६५ मिटर (मनास्लु हिमाल)सम्म उचाइमा रहेको छ । पूर्वमा गोरखा, पश्चिममा कास्की, दक्षिणमा तनहुँ र उत्तरमा मनाङ जिल्ला पर्दछन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह छन् । यहाँ हिमालदेखि तराईसम्मको विशेषता जिल्लाभित्रै अनुभव गर्न सकिन्छ । गुरुङ जातिको बाहुल्यता रहेको जिल्लामा देशकै संस्कृति जोगाउने रीतिरिवाज र परम्परा पाउन सकिन्छ । नेपाललाई चिनाउने संस्कृतिमध्ये दोहोरी गीतको उद्गम स्थलको रूपमा लमजुङलाई लिइन्छ । स्व. भेडिखर्के साइँला अर्थात् दीर्घराज अधिकारीको ठाडो भाकाले लमजुङलाई थप चिनारी दिएको छ ।

सिंगो मुलुकलाई धान्ने विद्युत् क्षमता

जिल्लामा पर्यटकीय दृष्टिकोणबाट सञ्चालित व्यवसाय राम्रोसँग चलेका छन् । जलस्रोतको प्रचुर सम्भावना बोकेको जिल्लामा विद्युत् उत्पादनका लागि विभिन्न आयोजना तीव्र गतिमा अघि बढिरहेका छन् । ७० मेगावाटको नेपालकै दोस्रो ठूलो मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना, चार मेगावाटको खुदी, पाँच मेगावाटको सिउरी खोलाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ । यस्तै, ४.४ मेगावाटको राँधीखोला, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए, २ मेगावाटको छ्याङ्दी, ३.३ मेगावाटको मिदिम खोलाको विद्युत् पनि केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

सुपर मर्स्याङ्दी, तल्लो मर्स्याङ्दी , ङादी, दोर्दी, मिदिम, खुदीलगायतका आयोजनाबाट पनि छिटै विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ । जिल्लामा स्थानीयले आफ्नै सक्रियतामा लघु जलविद्युत् आयोजना निर्माण गरेका छन् । ठूला जलविद्युत् आयोजना, मझौला र लघु जलविद्युत् आयोजनाको सम्भाव्यता हेर्दा सिंगो नेपाललाई नै पुग्ने जलविद्युत् आयोजनाको क्षमता लमजुङसँग छ । पानीको बहाव कम हुँदा २५ सय र बढी हुँदा ३५ सय मेगावाटसम्म विद्युत् उत्पादन हुन सक्ने लमजुङमा जलविद्युत्का मुख्य चारवटा करिडोर छन् । 

पदमार्ग निर्माणको प्रस्ताव 
लमजुङमा पर्यटनमा आधारित उद्यम विकास सम्भाव्यता अध्ययन टोलीद्वारा विभिन्न पर्यटन पदमार्ग निर्माणको प्रस्ताव अघि सारिएको छ । धार्मिक हिसाबले चर्चित गाउँसहर कालिका, करापुटारमा अवस्थित इशानेश्वर महादेव, बेसीसहरको कर्पुरेश्वर महादेव, उदिपुरमा अकला र कालिका मन्दिर, बेसीसहर बजारको मध्यभागमा अवस्थित लक्ष्मीनारायण मन्दिर, सिन्दुरेमा रहेको तुर्लुङ कालिका, नेटाको मालिका मन्दिर, उत्तरकन्याको उत्तरकन्या मन्दिर र चण्डीडाँडामा अवस्थित ह्योल्सो ह्यो गुम्बा, घनपोखरालगायतका दर्जनौँ स्थानमा रहेका बौद्ध गुम्बा र अन्य विभिन्न स्थानमा रहेका मठमन्दिर, मस्जिद र चर्चसमेत जिल्लाका अमूल्य निधि हुन् । धार्मिक र जातीय रूपमा यहाँका बासिन्दा फरक–फरक रहे पनि सबैले सबैको धर्म, परम्परा र संस्कृतिलाई सम्मान गर्ने राम्रो संस्कार रहेको छ । पशुपतिनाथपछिको दोस्रो महत्व बोकेको धार्मिक क्षेत्र ईशानेश्वर महादेव मन्दिर यही पर्छ ।

व्यापारिक केन्द्र बन्दै
लमजुङ व्यापारिक केन्द्र पनि हो । सदरमुकाम बेसीसहर, सुन्दरबजार, भोटेओडार, दुईपिप्ले, भोर्लेटार, रामबजार, सोतीपसल, कुन्छा, खुदी बजार, भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु, जगत च्याम्चे, तीनपिप्ले, कुन्छा, चितीजस्ता व्यापारिक केन्द्र जिल्लामा छन् । मनाङमा समेत बेसीसहरबाटै खाद्यान्नलगायतका सामान ढुवानी हुने गरेको छ । भविष्यमा तिब्बतसँगको नाका खुल्यो भने यसको महत्व अरू बढ्ने देखिन्छ । 

महोत्सवले नयाँ आयाम थप्छ: राजेश थापा
अध्यक्ष, लमजुङ उद्योग वाणिज्य संघ

गण्डकी प्रदेशस्तरीय छैटौँ लमजुङ महोत्वसले जिल्लाको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ । कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा महोत्सवले प्रत्यक्ष एवं परोक्ष भूमिका खेल्नेछ । जिल्लामा रहेका हरेक सम्भावनालाई महोत्सवमार्फत उजागर हुने अपेक्षा छ । 

पर्यटन, जलविद्युत्, व्यावसायिक कृषि प्रणालीलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भए पनि अहिलेसम्म त्यसको पहिचान र सम्बोधन हुन नसक्दा लमजुङको विकासले सोचेजस्तो गति लिन सकेको छैन । महोत्सवमा झन्डै एक लाख ५० हजारको हाराहारीमा दर्शक आउने अपेक्षा गरिएको छ । महोत्सवमा शान्ति सुरक्षाको भरपूर बन्दोबस्त मिलाइएको छ । यातायातको राम्रो प्रबन्ध, पार्किङ तथा शौचालयको व्यवस्था, महोत्सवस्थलमा फोन, खानेपानी तथा स्वास्थ्य सुविधाको प्रबन्ध मिलाइएको छ । इमेल, इन्टरनेटलगायतको व्यवस्थाका साथै ग्रामीण पर्यटन प्याकेजको व्यवस्था पनि गरिएको छ । महोत्सवको अवसरमा सुरु गरिएको प्याराग्लाइडिङलाई व्यावसायिक रूपमा निरन्तर सञ्चालन गर्ने लक्ष्य छ । 

हिमशृंखलाको धनी जिल्ला
लमजुङ हिमशृंखलाको धनी जिल्ला पनि हो । मनास्लु, अन्नपूर्ण दोस्रो, मनास्लु दक्षिण, हिमालचुली, लमजुङ चुली, डा. हर्क पिक, बुद्ध हिमाललगायतका हिमाल छन् । पोखरामा एयर स्पोर्टका लागि भीड बढ्दै गएकाले यसको सम्भावित विकल्पका रूपमा लमजुङलाई लिन सकिन्छ । लमजुङको नाल्मा बाख्रेजगतस्थित शीतलेस्वाँरामा अलपत्र अवस्थामा रहेको विमानस्थलको काम पूरा गरी सञ्चालनमा ल्याउन सके यसले लमजुङको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

यसैगरी, मर्स्याङ्दी, मादीलगायतका नदीमा र्‍याफ्टिङ र दर्जनौँ मनमोहक छाँगा र झरनाहरूमा क्यानोनिङको सम्भावना छ । क्यानोनिङका लागि लमजुङ विश्वकै उत्कृष्ट ठाउँ बन्न सक्ने यसअघि लमजुङका विभिन्न छहरा, झरनाहरूमा गरिएको अभ्यासले पुष्टि गरिसकेको छ । एसियामै पहिलोपटक उत्तरी लमजुङको ताघ्रिङ र घेर्मु गाविसमा क्यानोनिङको आयोजना गरिएको थियो । जसमा संसारका विभिन्न देशबाट २०५ जना क्यानोनरले भाग लिएका थिए । 

स्रोत:नयाँपत्रीका