जलविद्युतमा बिपिसीको साढे १६ अर्ब लगानी

    364

    बिपिसीले ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण थाल्यो

    काठमाडौं/बुटवल पावर कम्पनी (बिपिसी) ले एकैसाथ ६७.६ मेगावाटका दुई आयोजनाको निर्माण थालेको छ । सहायक कम्पनी स्थापना गरेर बिपिसीले ३७.६ मेगावाटको काबेली ‘ए’ र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना अघि बढाएको हो । दुवै आयोजनाको काम बिहीबारबाट सुरु भइसकेको छ । यी दुवै आयोजनाबाट सन् २०२० देखि विद्युत् उत्पादन सुरु हुने बिपिसीका अध्यक्ष पद्म ज्योतिले जानकारी दिए ।

    दुवै आयोजनामा गरेर करिब १६ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ । काबेलीमा विश्व बैंकको समेत सहयोग छ भने न्यादीमा नेपाली बैंकहरूले ऋण लगानी गरेका छन् । १० करोड अमेरिकी डलर (करिब साढे १० अर्ब रुपैयाँ) लागत रहेको काबेलीमा विश्व बैंकले चार करोड डलर लगानी गर्दै छ । विश्व बैंकको लगानी जलविद्युत् लगानी तथा विकास कम्पनीमार्फत परिचालन हुनेछ ।

    विश्व बैंकको ४ करोड तथा अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को ३ करोड ८० लाख डलर सहुलियतपूर्ण ऋण सहयोग रहेनछ । काबेली ए जलविद्युत् आयोजना अघि बढाउन २१ चैत ०६५ मा सैद्धान्तिक स्वीकृति दिएको थियो । सुरुमा ३० मेगावाटको बनाउने भनिए पनि यो आयोजनाको क्षमता बढाएर ३७.६ मेगावाट पु-याइएको हो । यो आयोजनाबाट वार्षिक २ सय ५ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।

    ३० मेगावाटको न्यादीको लागत ६ अर्ब रुपैयाँ छ । एभरेष्ट बैंकको नेतृत्वमा स्वदेशी बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरणमा यस आयोजनामा लगानी हुँदै छ । एभरेष्टको अगुवाइमा पाँच वित्तीय संस्थाले ४ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । आयोजनामा एभरेष्टले १ अर्ब रुपैयाँ लगानी गर्नेछ भने हिमालयन बैंक, नबिल बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीले ७५-७५ करोड रुपैयाँ लगानी गर्नेछन् । लमजुङको बाहुनडाँडामा आयोजना बनाइनेछ । यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । दुवै आयोजनाको निर्माणको जिम्मा इपिसी मोडलमा चिनियाँ कम्पनी जेजियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसनले पाएको छ ।

    १७ वर्षपछि अघि बढ्दै आयोजना

    काबेली ए जलविद्युत् आयोजना अघि बढाउने चर्चा चलेको १७ वर्षपछि निर्माण थालिएको छ । यो आयोजनाको चर्चा सन् २००१ बाट सुरु भएको पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । ‘अरुण तेस्रो आयोजनाबाट बाहिरिएपछि ठूला आयोजनाको साटो नेपालको कुनै एक सानो आयोजनामा लगानी गर्ने सोच विश्व बैंकले बनाएको थियो,’ खनालले नयाँ पत्रिकासँग भने, ‘त्यसैअनुरूप काबेलीमा लगानी गर्न उनीहरू तयार भए र सन् २००५ मा विश्व बैंकसँग पहिलो सम्झौता भएको थियो ।’ खनाल अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव हुँदा काबेली अघि बढाउन विश्व बैंकसँग सम्झौता गरेका थिए ।

    बिपिसीको स्वर्ण महोत्सव
    बुटवल पावर कम्पनी स्थापनाको ५० वर्ष पूरा भएको छ । ०२२ मा स्थापना भएको कम्पनी ०४९ मा पब्लिक लिमिटेड तथा ०५९ मा निजीकरण गरिएको हो । कम्पनीले १२ मेगावाटको झिम्रुक विद्युत् केन्द्र तथा ९.४ मेगावाटको आँधीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस्तै विभिन्न जिल्लामा ५० हजार घरधुरीलाई विद्युत् वितरणको काम पनि अघि बढाएको जनाएको छ । कम्पनीले छिट्टै एक सय मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी आयोजना र ८.५ मेगावाटको चिनो खोला आयोजना अघि बढाउने जनाएको छ।

    सरोकारवाला भन्छन्
     जनार्दन शर्मा ‘प्रभाकर’, मन्त्री, ऊर्जा
    सरकारले अहिले अघि बढाएको उज्यालो नेपाल अभियानमा निजी क्षेत्रबाट पनि सहयोग भइरहेको छ । नयाँ आयोजना अघि बढाइनु त्यसैको एउटा उदाहरण हो र यो सकारात्मक पनि छ । निजी क्षेत्रलाई जलविद्युत् आयोजना अघि बढाउन परेको समस्या समाधानका लागि सरकार तयार छ । यसअघि पनि नीतिगत सुधारका धेरै काम भइसकेका छन् । अझै पनि आवश्यक कामका लागि सरकार तयार छ । सरकारले अब जलाशययुक्त आयोजनामा आफ्नो ध्यान लगाएको छ । छिट्टै ८ हजार मेगावाटका जलाशययुक्त आयोजनाको काम अघि बढाउनेछौँ । निजी क्षेत्रले नदी प्रवाहमा आधारित (आरओआर) आयोजना अघि बढाइरहेका छन् । अब उनीहरूलाई पनि पिकिङ आरओआरमा प्रेरित गरिनेछ । लगानीका लागि हामीसँग धेरै पुँजी छ । त्यसलाई एकीकृत गरेर अघि बढ्नुपर्छ ।

    पद्म ज्योति, अध्यक्ष, बुटवल पावर कम्पनी
    नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानमा नेपाल सरकारलाई सघाउन निजी क्षेत्र जहिले पनि तयार नै छ । अब नेपाल सरकारसँगै निजी क्षेत्र र विदेशी लगानीकर्ता पनि हातेमालो गरेर अघि बढ्न तयार छन् । हामी सबै एक भएर अघि बढ्नुपर्छ । बुटवल पावर कम्पनी जलविद्युत् उत्पादन तथा वितरणमा पनि सक्रिय छ । अहिले कम्पनीले सफलतापूर्वक झिम्रुक जलविद्युत् आयोजना र आँधिखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । अहिले घोषणा गरिएका दुवै आयोजनाले तीन वर्षपछि विद्युत् उत्पादन थाल्नेछन् । नेपालको जलविद्युत् वितरणको प्रणालीमा यसले महत्वपूर्ण योगदान दिन्छ भन्नेमा म विश्वस्त छु ।

    – नयाँ पत्रिका