चिलिमेको सेयरले फेरेको रसुवाली जीवनशैली

    1684

    रसुवाको भार्खु–६ की देकीछोमो घले अहिले सदरमुकाम धुन्चेमा होटेल चलाउँछिन् । सानो होटेलसँगै उनीसँग केरुङ–काठमाडौं चल्ने एउटा कन्टेनर (स्थानीयले त्यसलाई डिब्बा भन्छन्) छ । यो कन्टेनर घलेले चिया बेचेर मात्रै किनेकी होइनन् । यसमा चिलिमे हाइड्रोपावर कम्पनीको सेयर उनका लागि बलियो आधार भयो । ‘पहिले सेयर धितो राखेर बस किनेकी थिएँ,’ उनले भनिन्, ‘अहिले बस बेचेँ । डिब्बा किन्न पैसा नपुगेपछि फेरि सेयर धितो राखेर ऋण लिएकी छु ।’ घलेको ६ जनाको परिवार छ । उनीहरूले प्रतिव्यक्ति ४० कित्ताका दरले चिलिमेको सेयर पाएका थिए । सुरुमा पाएको जम्मा २ सय ५२ कित्ता सेयर अहिले बढेर ७ सय ८६ कित्ता पुगेको छ । कम्पनीले आर्थिक वर्ष ०६७÷६८ देखि लगातार बोनस सेयर दिन थालेपछि उनीहरूको स्वामित्वको सेयर बढेको हो ।

    ‘सुरुमा सेयर धितो राखेर बैंकबाट ७ लाख रुपैयाँ ऋण लियौँ,’ उनले भनिन्, ‘त्यसमा आफूसँग भएको पैसा पनि मिसाएर बस किन्यौँ ।’ केरुङ नाका सञ्चालनमा आएपछि यात्रुबाहक बस बेचेर मालबाहक कन्टेनर किनेको उनले बताइन् । ‘कन्टेनर किन्दाचाहिँ ४ जनाको सेयर मात्रै धितोमा राख्यौँ,’ उनले थपिन्, ‘त्यसबाट साढे ३ लाख रुपैयाँ ऋण लिएकी छु ।’ दुई वर्षअघि भूकम्पका कारण तातोपानी नाका ठप्प भएपछि केरुङ नाका सञ्चालनमा आयो । त्यसपछि थुप्रै मानिसले केरुङ नाकामा चलाउन कन्टेनर किने । त्यही हुलमा घले पनि मिसिइन् । अहिले पनि उनीसँग सबै परिवारको सेयर सुरक्षित छ । धितोले काम चलेको छ । ड्राइभर राखेर कन्टेनर चलाएकी छिन् । ‘ठीकै आम्दानी भएको छ,’ उनी भन्छिन् ।  घले एक प्रतिनिधिपात्र मात्र हुन् । नुवाकोट र रसुवाको सीमा बेत्रावतीबाट उत्तर लाग्नेबित्तिकै पासाङह्लामु राजमार्गको सडकमा ठाउँठाउँमा कन्टेनर पार्किङ गरेको देख्न सकिन्छ ।

    सेयर दिनुअघिसम्म थुप्रै किसिमका माग लिएर गाउँलेले वेलावेला जलविद्युत् आयोजना नै बन्द गरिदिने गर्थे । बन्द गर्ने धम्की त कैयौँपटक आउँथ्यो । तर,  स्थानीयवासीलाई सेयर दिइसकेपछि त्यसरी आयोजना बन्द गर्ने काम नै बन्द भएको छ । स्थानीय यो त हाम्रो आफ्नै कम्पनी हो भन्दै हिँड्न थालेका छन् । यसले कम्पनीप्रतिको अपनत्व स्थापित भएको  छ । चिलिमेको यही सकारात्मक सिकाइलाई पछ्याउँदै अहिले निजी लगानीमा बन्ने थुप्रै जलविद्युत् आयोजनाले स्थानीयलाई सेयर जारी गर्न थालेका छन् ।

    धुन्चे, भार्खु र स्याफ्रुमा यस्ता कन्टेनरको निकै लामो लाइन हुन्छ । त्यसमध्ये ६० प्रतिशत कन्टेनरमा चिलिमेको सेयरको पैसा प्रयोग भएको स्थानीय बताउँछन् । ‘कसैले सेयर बेचेर पैसा लगानी गरेका छन्, कसैले धितो राखेर ऋण लिएका छन्,’ चिलिमे जलविद्युत् उपभोक्ता सरोकार समितिका अध्यक्ष सिंगी ढिन्डुप तामाङले भने, ‘चिलिमेको सेयर त रसुवावासीका लागि पैसाको बोट नै भएको छ ।’

    चिलिमे जलविद्युत् कम्पनीले स्थानीयवासीलाई थोरै मात्र सेयर दिँदा पनि रसुवावासीले यसबाट ठूलो परिवर्तन महसुस गरेका छन् । ‘जिन्दगीभर कहिल्यै सुन किन्न नसक्नेहरूले अहिले गहना लगाएका छन् । गाउँमा भेडा पालेर बस्नेहरू बजारमा आएर होटेल थाप्न थालेका छन्,’ स्थानीयवासीलाई सेयर दिलाउन नेतृत्वदायी भूमिका खेलेका कानुन व्यवसायी फुर्पा तामाङले भने, ‘धेरैले घरको छाना फेरे । छोराछोरी स्कुल पठाए । अझ सक्नेले निजी स्कुलमै पढाएका छन् ।’

    ‘सेयर पाउनुभन्दा पहिले स्याफ्रुमा पाँचजनासँग मात्रै मोटरसाइकल थियो,’ अध्यक्ष सिंगी भन्छन्, ‘अहिले घरघरमा एउटादेखि ५ वटासम्म मोटरसाइकल छ । डिब्बा र चाइनिज बोक्ने गाडी त्यत्तिकै छ ।’ स्याफ्रुबेसीमा चिलिमे जलविद्युत् कम्पनीको कार्यालयनजिकै पार्किङ गरिएका पचासौँ कन्टेनर देखाउँदै उनले भने, ‘यसमा धेरैजसो डिब्बा कि त सेयर बेचेर कि त धितो राखेर किनिएको हो ।’ उनका अनुसार सेयर बेचेर वा धितो राखेर रसुवावासीले ३ सयभन्दा बढी डिब्बा किनिसकेका छन् । त्यसबाट राम्रो आम्दानी भइरहेको छ ।

    बढ्दै छ उद्यमशीलता
    सेयरले मानिसहरूलाई हातमा पैसाको बिटो थमाएको मात्र छैन, कैयौँलाई उद्यमी पनि बनाएको छ । ‘पैसा भएपछि मान्छेमा आशा पलाउँदो रहेछ,’ रसुवाका पुराना पत्रकार ज्ञानेन्द्र न्यौपाने भन्छन्, ‘चिलिमेको सेयरले मान्छेहरूलाई बरालिन छाडेर उद्यम गर्न सिकाएको छ ।’ गाडी किन्ने वा बजार झरेर पसल चलाउने मात्र होइन, सेयरबाट पैसा कमाएपछि मानिसहरूले चिराइतोको बिउ किनेर खेती गर्न थालेको स्याफ्रु गाउँका लामाढेन्चेन तामाङले बताए । ‘धेरैले सेयर बेचेका छैनन्, मैले त बेचेँ,’ उनले भने । सेयर बेचेर आएको केही पैसा ऋण तिर्न, केही घर बनाउन र बाँकी पैसा चिराइतो खेती गर्न प्रयोग गरेको उनले बताए । लाङटाङ राष्ट्रिय निकुञ्जसँग जोडिएको गाउँ भएकाले जंगली जनावरले नाश नगर्ने चिराइतो त्यहाँको एक मात्र उत्पादन हो । त्यहाँका मानिसले एक सिजनमा १ करोड रुपैयाँभन्दा बढीको चिराइतो मात्रै बेच्न थालेका छन् । उत्तरी रसुवाका गाउँमा अहिले चिराइतोबाहेक चौरी र भेडाच्यांग्रा पालन पनि फस्टाएको छ । सिंगी भन्छन्, ‘व्यावसायिक रूपमा पशुपालन गर्न पनि चिलिमेको सेयरले सहयोग पुर्याएको छ ।’

    सहरमा जोडिँदै छ सम्पत्ति

    सेयर बजारमा यसअघि उछाल आउँदा चिलिमेको सेयरको भाउ प्रतिकित्ता २ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । ‘साथीहरूले २१ सयदेखि २८ सय रुपैयाँ कित्तामा सेयर बेचेर साढे ३ लाख रुपैयाँ आनामा टोखा (काठमाडौं)मा जग्गा किनेका थिए,’ सिंगी भन्छन्, ‘अहिले ९ लाख रुपैयाँ आना पुगिसकेको छ ।’ अहिले स्याफ्रु, चिलिमे, कालिकास्थान, धुन्चे, कटुन्जे, गोल्जुङका धेरै मान्छेले सेयर बेचेर काठमाडौंमा घरघडेरी जोडिसकेका छन् । ‘एक वर्षअघि सेयर बेचेर ४ आना जग्गा किनेको छिमेकीले त्यही पैसा जग्गामा खेलाउँदा खेलाउँदै अहिले स्कर्पियो कार किनेका छन्,’ स्याफ्रुबेसीकी सरस्वती लामाले भनिन्, ‘काठमाडौंमा ५ आना जग्गा पनि किनेका छन् ।’ यी सबै काम गर्ने आँट र स्रोत चिलिमेको सेयर नै भएको स्थानीय बताउँछन् ।

    वित्तीय साक्षरताको कमी

    सेयर बेचेर कमाएको पैसा कहाँ लगानी गर्दा दिगो आयस्रोत बन्न सक्छ भन्ने ज्ञान थोरैले मात्र पाएको देखियो । ‘वित्तीय साक्षरता नहुँदा मानिसहरूले पैसाको सही सदुपयोग गर्न सकेनन्,’ स्थानीय कानुन व्यवसायी फुर्पा तामाङ भन्छन्, ‘त्यसैले धेरै मान्छेको रोजाइमा मोटरसाइकल पर्‍यो ।’ सँगैका मान्छेले त्यही सेयरबाट करोडौँ कमाए पनि धेरै मानिस मोटरसाइकलमै सीमित भएको उनले बताए ।

    ‘धेरै मानिसलाई सेयर भनेको के हो भन्ने नै थाहा छैन,’ कम्पनी सचिव आचार्य भन्छन्, ‘मान्छेहरू चिलिमेले हाम्रो पैसा खाइदियो भन्दै आउने अवस्था पनि छ ।’ कुनै वेला चिलिमेको सेयरको भाउ २८ सय रुपैयाँसम्म पुगेको थियो । पछि ७ सय रुपैयाँको हाराहारीमा पनि झर्‍यो । सेयर बजारमा हुने मूल्यको यस्तो उतारचढावको दोष कतिपय सेयरधनीले जलविद्युत् कम्पनीलाई लगाउने गरेको उनले बताए । ‘सबैभन्दा ठूलो कुरा त्यहाँका मान्छेलाई शिक्षा दिने नै ठूलो आवश्यकता देखिएको छ,’ उनले भने, ‘सेयर सचेतना दिन सकियो भने थुप्रै समस्या समाधान हुन्छ ।’ सेयर बेचेर पैसा आइसकेपछि त्यो पैसा कहाँ खर्च गर्ने वा केमा लगानी गर्ने भन्ने कुरा बुझाउन वित्तीय सचेतना आवश्यक भएको उनले बताए ।

    सेयर दिँदाका फाइदा

    चिलिमेको अनुभवले स्थानीयवासीलाई जलविद्युत् आयोजनाको सेयर दिनु कम्पनीका लागि पनि फाइदा हुने देखिएको छ । ‘स्थानीयलाई सेयर दिँदा यसले नयाँ आयोजनाका लागि पुँजी जुटाउन सहयोग पुग्छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इं भन्छन्, ‘यसले लगानीको वातावरण सिर्जना गर्न पनि सहयोग गर्छ ।’ चिलिमेका कम्पनी सचिव आचार्यले पनि सुरुका दिनमा विभिन्न किसिमका माग राखेर स्थानीयले जलविद्युत् आयोजनामा अवरोध गर्ने गरेको बताए । ‘थुप्रै किसिमका माग लिएर गाउँलेले वेलावेला जलविद्युत् आयोजना नै बन्द गरिदिने गर्थे । बन्द गर्ने धम्की त कैयौँपटक आउँथ्यो,’ उनले भने, ‘तर, स्थानीयवासीलाई सेयर दिइसकेपछि त्यसरी आयोजना बन्द गर्ने काम नै बन्द भएको छ ।’ स्थानीयहरूले आफैँमा त्यस्ता समस्या मिलाउन थालेको उनले बताए । ‘यो त हाम्रो आफ्नै कम्पनी हो भन्दै हिँड्न थालेका छन्,’ आचार्यले थपे, ‘आयोजना बन्द भयो भने हाम्रो लाभांश घट्छ भन्ने उनीहरूले बुझ्न थालेका छन् ।’ यसले कम्पनीप्रतिको अपनत्व स्थापित भएको छ । चिलिमेको यही सकारात्मक सिकाइलाई पछ्याउँदै अहिले निजी लगानीमा बन्ने थुप्रै जलविद्युत् आयोजनाले स्थानीयवासीलाई सेयर जारी गर्न थालेका छन् ।

    यसरी बाँडिएको थियो स्थानीयलाई सेयर

    ०६८ को जनगणनाअनुसार रसुवामा ९ हजार ७ सय ७८ घरपरिवार र ४३ हजार ३ सय जनसंख्या छ । जनगणनाभन्दा दुई वर्षअघि नै सेयर बिक्री गर्दा ३० हजार स्थानीयले चिलिमेको सेयर पाएका थिए । स्थानीयको लामो संघर्ष र मुद्दामामिलापछि करिब ६ वर्षअघि चिलिमे जलविद्युत् आयोजनामा रसुवावासीको स्वामित्व स्थापित भएको थियो । हरेक रसुवाली चिलिमेको मालिक बनेका थिए । आयोजना प्रभावित र स्थानीयवासीका लागि भनेर दुई किसिमका सेयर कम्पनीले बिक्री गरेको थियो । चिलिमे आयोजनाको मुहान चिलिमेमा, सुरुङ गोल्जुङमा र विद्युत्गृह स्याफ्रुमा छ । यी तीन गाविसलाई अति प्रभावित क्षेत्रमा सूचीकरण गरिएको छ । त्यहाँका बासिन्दाले प्रतिकित्ता १ सय रुपैयाँका दरले प्रतिव्यक्ति ४० कित्ता प्राथमिक सेयर पाएका थिए । यी तीनसहित १८ वटै गाविसका नागरिकका लागि प्रिमियमसहित ३ सय २४ रुपैयाँमा प्रतिव्यक्ति ३६ कित्ताको दरले सेयर बाँडफाँड भएको थियो । ‘प्रभावित क्षेत्रका मानिसले दुवै किसिमको गरेर ७६ कित्ता सेयर पाए । बाँकी जिल्लावासीले ३६ कित्ता पाए,’ अध्यक्ष सिंगी भन्छन्, ‘हामीले १ सय रुपैयाँ लगानी गर्नेबित्तिकै त्यो पैसा ६­–७ सय रुपैयाँ भयो । हामी रातारात धनी भयौँ ।’

    अशिक्षाको फाइदा उठाउँदै ठगी

    तीनवर्षे प्रतिबन्धात्मक अवधि सकिएपछि २०७० माघ १२ बाट स्थानीयवासीलाई वितरण गरिएको सेयर दोस्रो बजारमा बिक्री खुला गरिएको थियो । त्यसवेला नै कम्पनीको सेयर मूल्य नेप्सेमा १६ सय रुपैयाँभन्दा माथि थियो । तर, केही दलालले सेयरबारे खासै नबुझेका गाउँलेलाई फकाएर ४ सयदेखि ९ सय रुपैयाँसम्ममा सेयर किनेका थिए । पछि नेपाल धितोपत्र बोर्डले हस्ताक्षर प्रमाणीकरणमा कडाइ गरेपछि काठमाडौंको बालाजु र ठमेलमा बसेर सेयर दलालहरूले ठूलो मात्रामा सेयर किनबेच गरेको खबरहरू बाहिर आए ।

    प्रतिबन्धात्मक अवधि (लकिङ पिरियड) सकिँदासम्म स्थानीयवासीसँग भएको करिब २२ लाख ७१ हजार कित्ता (तत्कालीन बजार मूल्यअनुसार करिब ३ अर्ब ६० करोड रुपैयाँबराबरको) सेयरमध्ये कम्तीमा साढे ३ लाख कित्ता सेयर त्यस्ता ठगको हातमा पुगेको कम्पनीको अनुमान थियो । त्यसविरुद्ध धितोपत्र बोर्डले सेयर बिक्रीको प्रावधानलाई कडाइ गर्दै सम्बन्धित सेयरधनीको कागजातको प्रभावकारी परीक्षण गर्ने, उनीहरूको बैंक खातामा मात्रै रकम भुक्तानी गर्ने, हस्ताक्षर प्रमाणीकरणमा कडाइ गर्नेजस्ता कदम चालेको थियो । त्यति गर्दा पनि बैंकमा नक्कली खाता खोलेर सेयर ठग्ने काम जारी नै रहेको प्रहरी अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालयले ठगहरूको खोजी र कारबाही प्रक्रियालाई तीव्रता दियो । त्यसपछि चिलिमे कम्पनीले सेयर सचेतनाका लागि जिल्लाभर सचेतना अभियान सञ्चालन गरेकाले ठगी नियन्त्रण भएको र कतिपय दलालले सेयर फिर्ता गरेको कम्पनीले बताएको छ ।

    यस्तो छ चिलिमे जलविद्युत् कम्पनी

    काठमाडौंबाट १ सय ३३ किलोमिटर उत्तरतिर रसुवामा २२ दशमलव १ मेगावाट जडित क्षमताको जलविद्युत् आयोजना बनाएको कम्पनी हो चिलिमे हाइड्रोपावर कम्पनी । सन् १९९५ मा कम्पनी स्थापना भए पनि यसले २००३ अगस्ट (विसं २०६०)बाट मात्रै आयोजना सञ्चालनमा ल्याएको थियो । विद्युत् विकास गर्ने सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणसँग चिलिमेको बहुमत (५१ प्रतिशत) सेयर छ । वार्षिक औसत १ सय ५० गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने यो आयोजनामा स्थानीयवासीले १० प्रतिशत र विभिन्न कम्पनी, कर्मचारी र आमसर्वसाधारणले बाँकी ३९ प्रतिशत सेयर लगानी गरेका छन् । चिलिमेले रसुवागढी, मध्यभोटेकोसी र सान्जेन तीनवटा जलविद्युत् उत्पादन गर्ने सहायक कम्पनी स्थापना गरेर रसुवा र सिन्धुपाल्चोकमा चारवटा विद्युत् आयोजनाको एकसाथ निर्माण अघि बढाएको छ । यी सबै आयोजनाको एकमुष्ट जडित क्षमता २ सय ७० दशमलव ३ मेगावाट हुने कम्पनीले जनाएको छ । यिनै आयोजनामा चिलिमेले लगानी गरेका कारण दीर्घकालमा उच्च प्रतिफल पाउने आशा लगानीकर्तामा छ । त्यही आशाले सेयरको दोस्रो बजार कारोबारमा पनि चिलिमे आकर्षक कम्पनी मानिन्छ । गत वर्षसम्म यसलाई सेयर लगानीकर्ताले ‘ब्लुचिप’ कम्पनी भन्ने गरेका थिए । अहिले कम्पनीले पुँजी बढ्दै जाँदा लाभांश घटाएपछि चिलिमेको सेयरको भाउ विगतका वर्षमा भन्दा केही तल झरेको छ ।

    गरिबलाई धनी, धनीलाई गरिब

    चिलिमेको सेयरले रसुवाको आर्थिक असन्तुलनलाई घटाउन पनि सहयोग पु¥याएको जानकारहरू बताउँछन् । ‘धनीले सेयर कम पाए, गरिबले बढी पाए,’ सिंगीले थपे । रसुवाका स्थानीय शिक्षक शिवराम न्यौपानेका अनुसार धनीहरूको परिवारमा थोरै जनसंख्या छ भने गरिबको परिवारमा धेरैजना छन् । गरिबहरूले जनसंख्या नियन्त्रण नगरेका कारण यस्तो भएको हो । चिलिमेले परिवारका आधारमा नभई जनसंख्याका आधारमा सेयरको बाँडफाँड गरेपछि धेरैजनाको परिवार हुनेले बढी सेयर पाए । थोरैजना हुनेले कम पाए । त्यही अनुपातमा बोनस सेयर थपिँदै गयो । धनीको तुलनामा गरिबहरूको स्वामित्वमा बढी सेयर भयो । त्यही सेयर २७–२८ सय रुपैयाँसम्ममा बेचेर धेरैले काठमाडौंमा जग्गा किने । ‘टोखा क्षेत्रमा मात्रै स्याफ्रुका मान्छेले करिब २० रोपनी जग्गा किनेका छन्,’ सिंगी सुनाउँछन्, ‘अन्ततिर पनि किन्ने धेरै छन् ।’ कसैले गाडी किनेका छन् । कसैले होटेल बनाएका छन् । ‘एउटै घरमा १५–२० लाख रुपैयाँ एकैपटक भित्रियो,’ उनले थपे, ‘यसले हिजोका गरिबलाई आज धनी बनाइदियो ।’

    यस्ता थिए सेयर बिक्री गर्दाका समस्या

    नारायणप्रसाद आचार्य
    कम्पनी सचिव, चिलिमे हाइड्रोपावर कम्पनी
    सबैभन्दा मूल कुरा सेयर नै कसकसलाई बाँडफाँड गर्ने भन्ने समस्या आयो । रसुवामा बसोवास गर्नेलाई दिने वा बाहिर रहेका रसुवाका मानिसलाई पनि दिने भन्ने थियो । त्यसमा नागरिकताअनुसार दिइयो । बालबालिकाको हकमा जन्मदर्ताका आधारमा सेयरमा आवेदन लिइयो । अर्को समस्या भनेको त्यहाँ गएर सबैको फारम भर्नुपर्ने अवस्था थियो । उनीहरू सेयरको आवेदन फारम भर्न कोही पनि काठमाडौं नआउने अवस्था थियो । त्यसमाथि अधिकांश मानिस लेखपढ गर्न नजान्ने । उनीहरू हस्ताक्षर गर्न नजान्ने भएकाले ल्याप्चे (औँठाछाप) लगाउनुपर्ने बाध्यता भयो । तर, हाम्रो प्रणालीले ल्याप्चे प्रमाणीकरण नगरिदिने । अझ ठूलो समस्या त आवेदन फारम भर्नका लागि अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र आवश्यक हुन्छ । त्यहाँका धेरै मानिससँग नागरिकता नै थिएन । सबैलाई नागरिकता बनाउन लगाएर सबैलाई फारम भराउन निकै गाह्रो भयो । त्यहाँका स्थानीयले आफ्नो नाम स्पष्ट रूपमा भन्न पनि नजान्ने, लेख्न पनि नजान्ने भएकाले अर्को समस्या पर्‍यो । यस्तो अवस्थाले नाम प्रमाणीकरण गर्नमा पनि समस्या भयो । उनीहरू एउटा हातले फारम दिने र अर्को हातले सेयर लिने भन्दै आए । सेयर नपाएपछि हाम्रो पैसा खाइदियो पनि भन्न थाले । अर्को समस्या भनेको बिक्री प्रबन्धकलाई त्यहाँ लगेर आवेदन संकलन गराउने थियो । गाउँगाउँमा नगद संकलन गरेर पैसा नै बोकेर हिँड्नु पर्ने जोखिमपूर्ण अवस्था पनि पार गर्नुपर्‍यो । त्यसरी सेयर बिक्री गरिएकोमा पछि त्यही सेयर बेच्ने वेलामा फेरि अर्को असजिलो पर्‍यो । कसैको नाम नै प्रमाणीकरण हुँदैन, कसैको हस्ताक्षर (औँठाछापसमेत) प्रमाणीकरण हुँदैन । सेयरधनीहरू लाभांश लिन पनि नआउने अवस्थाले पनि समस्या पार्‍यो । हामीले स्थानीय रेडियोबाट विज्ञापन बजायौँ । स्थानीय शिक्षक र विद्यार्थीलाई खटाएर सूचना प्रवाह गर्‍यौँ । यो सब प्रचारका लागि थियो । धेरै मान्छेले थाहा पाऊन् भन्ने हाम्रो धारणा थियो । त्यति हुँदाहुँदै पनि अशिक्षित जनतालाई झुक्याएर केही दलालले सेयर ठगी गरे । त्यसबारे खबरहरू बाहिर आएपछि हामीले अर्को सचेतना अभियान चलायौँ । प्रशासनले कारबाही अघि बढाएपछि त्यस्तो ठगी धेरै हदसम्म रोकियो ।

    संकटको सहारा: सेयर
    ‘मसँग सेयर थिएन भने मैले आज यो धर्तीमा बाँच्न पाउँथेँ कि पाउँदैनथेँ, थाहा छैन,’ रसुवाको धैबुङ–४ कटुन्जेका देवराज देवकोटा भन्दै थिए, ‘संकट परेको वेला सेयरले मेरो उद्धार गरेको छ ।’ त्रिशूली हुँदै केरुङ जाने राजमार्गसँगै छ उनको घर । पुराना फल्याक र बाँसका फक्ल्याँटाले रिंगै घेरेर टिनले छाएको सानो छाप्रोमा बस्छन् उनी । भूकम्पले घर भत्काएपछि अरू गाउँलेले जस्तै उनले पनि राजमार्गको छेउमै छाप्रो उभ्याएका छन् ।  राजमार्गको सडकमुनि दाउरा चिर्दै गरेका देवराजले बन्चरो बिसाए र भने, ‘मलाई उपचार गर्न मात्रै १ लाख रुपैयाँ खर्च भयो ।’ तीन वर्षअघिको घटना सम्झँदै थिए उनी । ‘भाइको घर गएको वेला एक्कासि टाउको दुख्न थाल्यो, म त एकाएक बेहोस भएछु,’ उनले भने, ‘तेस्रो दिन होस खुल्दा अस्पतालको शैयामा थिएँ ।’ त्यसअघि नै उनी ५–६ लाख ऋणमा डुबिसकेका थिए । ‘घरको आर्थिक अवस्था कमजोर छ ।  धेरै पढ्न पनि सकिएन । छोराछोरीलाई पढाउन पनि पर्ने, सधैँ किनेर  खानुपर्ने अवस्था थियो,’ उनी भन्दै थिए ।  यस्तै, घरायसी आर्थिक समस्या टार्न पैसा कमाउन मलेसिया पुगेका देवराज त्यहाँको भूमिमा टेक्नासाथ बिरामी परे । ‘त्यसवेला पनि सात दिनपछि होस आएको थियो,’ उनले साढे चार वर्षअघिको घटना सम्झे, ‘काम गर्न नसकेर फर्किनुपर्‍यो, कमाइ हुने त कता हो कता, बरु खर्च मात्रै बढ्यो ।’ त्यसरी फर्केका उनी डेढ वर्षपछि फेरि बिरामी भएर समस्यामा परेका थिए । त्यसवेला उनको परिवारले चिलिमेको सेयर बेचेर साढे तीन लाख रुपैयाँ लियो । ‘सुरुमा परेको सेयर बेचेको छैन, बोनस आएको सेयर बेचेको पैसाले  उपचार गरेँ,’ उनले भने, ‘उपचार गरेर बचेको पैसा ऋण तिरेँ ।’

    स्रोत:नयाँपत्रीका