घलेम्दीको ३० प्रतिशत काम सकियो

    3052

    ghaledi

    नीलगिरि हिमालको फेदीमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको ३५ प्रतिशत सकिएको छ ।

    टनेल, पेनस्टक स्कार्भसन, पावरहाउस र प्रसारण लाइनको काममा ६० प्रतिशत सकिएको कन्सल्ट्यान्ट इन्जिनियर विष्णु थापाले बताए । उनका अनुसार आयोजनाको कुल १ हजार ६ सय ९२ मिटर टनेलमध्ये १ हजार ५५ मिटर, पावरहाउसको स्विच एर्डको ६५ प्रतिशत, पेनस्टक स्काभर्सन लाइन ७० प्रतिशत निर्माण पूरा भएको छ । टनेलको आउटलेटतर्फको काम भइरहेको छ । ट्रान्समिसन लाइन घरापस्थित तातोपानी सानो जलविद्युत् आयोजनाको सबस्टेसनसम्म शत प्रतिशत सम्पन्न भएको छ ।

    ‘आयोजनाको कुल कामको ३० देखि ३५ प्रतिशत सकिएको छ । मोटरबाटोको पहुँच नभएकाले मान्छे लगाएर ढुवानी गर्नुपर्दा केही ढिलाइ भए पनि समय सीमा पछ्याउने लक्ष्य छ,’ इन्जिनियर थापाले भने, ‘यतिबेला काम भइरहेको छ ।’ आयोजनाले टनेलको फोरहेड र इन्टेक दुवैपट्टिबाट दिवा र रात्रि सिफ्टमा कामको धमाधम छ । आयोजना निर्माणमा ३ सय मजदुर र दुई दर्जनभन्दा बढी संख्यामा प्राविधिक खटिएका छन् । आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नारच्याङ १ मा पर्ने घलेम्दी खोलामा निर्माणाधीन आयोजना ‘रन अप दि रिभर’ प्रकारको हो ।

    ‘आयोजनाको निर्माण प्रगति राम्रो छ । हामी आयोजनाको अवस्थाबाट सन्तुष्ट छौं,’ निर्माणस्थलमा निरीक्षणमा आएका भिबोर बैंकका अध्यक्ष सुशीलराज पराजुलीले भने, ‘हाम्रो बैंकको पनि ५५ करोड लगानी छ ।’ अन्नपूर्ण प्रथम र साउथ हिमालबाट झर्ने घलेम्दी खोलाको पानी सुरुङबाट ल्याएर २ सय ६१ मिटर तल नीलगिरि खोलाको छेउमा अर्धभूमिगत विद्युतगृहमा झार्ने योजना छ ।

    आयोजना निर्माणमा आधाभन्दा बढी स्थानीय श्रमिक संलग्न छन् । आयोजनाको २० प्रतिशत जिल्लाबासीको लगानी छ । आयोजनाका अध्यक्षसमेत अधिकांश संस्थापक पनि जिल्लावासी हुन् । आयोजनाले वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद गर्ने गरी प्राधिकरणसँग खरिद सम्झौता गरेको छ ।

    घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीका अनुसार भूकम्पपछि फोरहेडतर्फको भूभागमा रक एभलान्च भएपछि आयोजनाले पावर हाउस राख्न एलाइन्मेन्ट पनि परिवर्तन गरेको छ । एलाइमेन्ट परिवर्तनले हेड बढा चार मेगावाट क्षमताको आयोजनाको पनि क्षमता वृद्धि भई ५ मेगावाट भएको हो ।

    ‘भूकम्प र लगातारको विस्फोटनपछि आयोजनाको फोरहेडतर्फ भौगर्भिक हिसावले सामान्य चुनौती देखिए पनि डर मान्नुपर्ने देखिन्न । यसलाई इन्जिनियरिङ ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ,’ थापाले सुनाए ।

    Source: Kantipurdaily