सिन्धुलीः खिम्ती–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
स्थानीय अवरोधका कारण लामो समयदेखि अवरुद्ध रहँदै आएको खिम्ती–ढल्केबर विद्युत् प्रसारण लाइनको निर्माण कार्य अबको एक महिनाभित्र सम्पन्न हुने भएको छ ।
मुआब्जाको विषयमा स्थानीयले लामो समयदेखि अवरुद्ध गर्दै आएको आयोजना निर्माण कार्यलाई करिब ७ महिनादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षाबीच तीव्रता दिएपछि अन्तिम चरणमा पुगेको सम्पर्क कार्यालय सिन्धुलीले जनाएको छ ।
आयोजनाका सहायक प्रबन्धक सुनिलकुमार महतोका अनुसार पहिलो सर्किटको काम ९८ प्रतिशत पुरा भइसकेको छ ।
बाँकी २ प्रतिशत एक महिनाभित्र पुरा भएर विद्युत सुचारु गर्न सकिने उनले बताए । रतनचुराको खनियाखर्कदेखि भिमेश्वरको खुर्कोट क्षेत्रमामात्रै आयोजनाको तार विस्तार गर्न बाँकी रहेको छ ।
त्यो काम पनि धमाधम काम भइरहेकाले केही दिनमै पुरा हुने सहायक प्रबन्धक महतोले जानकारी दिए । अबको एक महिनाभित्र काम पुरा गर्ने लक्ष्यका साथ निर्माणस्थलमा चार टोली कामदार खटाएको सहायक प्रबन्धक महतोले बताए ।
यो प्रसारण लाइन दोलखा जिल्लाको शहरे गाविस किर्नेटारबाट सुरुवात भई रामेछाप जिल्लाको तामाकोसी नदी क्षेत्रको ६ गाविस हुँदै सिन्धुलीकको खुर्कोटबाट अघि बढ्छ ।
त्यहाँबाट सिन्धुलीगढी महाभारत क्षेत्र पार गरी कमलामाई नगरपालिकाको पूर्वी भाग हुँदै रानीचुरी खण्डबाट महोत्तरीको गौरीबास र धनुषाको तुलसी बेगाडावरबाट ढल्केबर सबस्टेशन जोडिने छ ।