आयोजनाले २०७२ सालदेखि विद्युत् उत्पादन शुरू गर्नेछ

    801

     

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा हालसम्म केकति प्रगति भएको छ ?

    मोहनप्रसाद गौतम उपप्रबन्धक एवम् साइट कार्यालय प्रमुख माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, दोलखा
    मोहनप्रसाद गौतम
    उपप्रबन्धक एवम् साइट कार्यालय प्रमुख
    माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, दोलखा

    आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । आयोजनाको सम्पूर्ण निर्माण कार्यलाई चारओटा भाग (लट)मा विभाजन गरिएको छ । तिनलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट चयन भएका ठेकेदार कम्पनीहरूले आफ्नो भागमा परेको काम शुरू गरी निर्माणको विभिन्न चरणमा पुर्‍याएका छन् । लट–१ मा सिभिल कार्य पर्छ । यसअन्तर्गत सुरुङ,बाँध, इण्टेक, बालुवा थिग्र्याउने पोखरी, भूमिगत विद्युत् गृहलगायतको निर्माण भइरहेको छ । कुल १६ किलोमिटर लामो सुरुङमध्ये ९ दशमलव ३ किलोमिटर सम्पन्न भएको छ । लट–२ मा हाइड्रोमेकानिकल कार्य पर्छ । यसअन्तर्गत बाँध, इण्टेक, डिस्याण्डरलगायतमा गेट, स्टपलग, पेनस्टक स्टील पाइपको डिजाइन,जडान, परीक्षण र कमिसनिङको कार्य भइरहेको छ । लट–३ मा मेकानिकल र इलेक्ट्रिकल कार्यअन्तर्गत आयोजनाका मुख्य टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर, स्वीच गियर, भल्ब, गभर्नर र सोसँग सम्बन्धित कार्य भइरहेको छ । लट–४ मा प्रसारण लाइन तथा सबस्टेशनअन्तर्गत विद्युत् गृहस्थल गोँगरदेखि खिम्ती सबस्टेशनसम्म २ सय २० केभी क्षमताको ४७ किलोमिटर प्रसारण लाइन र खिम्तीमा सबस्टेशन कार्यहरूको डिजाइन, निर्माण, परीक्षण र कमिसनिङको काम पनि सुचारु छ । समग्रमा आयोजनाको हालसम्मको प्रगति उत्साहबर्धक छ ।

    आयोजना केकति कारणले अरूभन्दा महत्वपूर्ण छ ?

    नेपालमा जलविद्युत् विकासको पर्याप्त सम्भावना भएर पनि अहिलेसम्म यसको समुचित विकास हुन सकेको छैन । यस्तो अवस्थामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४ सय ५६ मेगावाट) देशकै सबभन्दा ठूलो विद्युत् आयोजना बन्न पुगेको छ । त्यसको साथै यसलाई धेरै पक्षबाट आकर्षक पनि मानिएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको यो आयोजना नितान्त स्वदेशी लगानी र शीपमा निर्माण भइरहेको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । प्रतियुनिट विद्युत् उत्पादन लागतका हिसाबले देशमा हालसम्म निर्माण भएका र अध्ययन गरिएका आयोजनामध्ये सबैभन्दा सस्तो हुनु, ३ सय मिटर अग्लो प्राकृतिक बाँध र ८ सय २२ मिटर ‘वाटर हेड’ उपलब्ध हुनु, आयोजनाको भौगर्भिक अवस्था भूमिगत संरचनाका लागि धेरै अनुकूल हुनु, तामाकोशी नदीको बहावमा धेरै उतारचढाव नहुनु, नदीको पानीमा बालुवाको मात्रा तुलनात्मक रूपमा कम हुनु र आयोजनाबाट न्यून वातावरणीय प्रभाव हुनु यस आयोजनाका विशेष आकर्षक पक्ष हुन् । नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, सञ्चयकोष, राष्ट्रिय बीमा संस्थानजस्ता सरकारी निकाय र दोलखावासीको समेत स्वामित्व हुनुले पनि यस आयोजनाको छुट्टै महत्व झल्किन्छ । यो आयोजना निजी–सार्वजनिक–साझेदारी मोडलमा सञ्चालन भइरहेको छ ।

    आयोजनाले स्थानीयलाई १० प्रतिशत शेयर दिने निर्णय गरेको छ । यसले के महत्व राख्छ ?

    जुन क्षेत्र/जिल्लाअन्तर्गतको नदीबाट जलविद्युत् आयोजना निर्माण गरिँदै छ, त्यहाँका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यले दोलखावासीलाई १० प्रतिशत शेयर उपलब्ध गारउने निर्णय गरिएको हो । यसले प्रत्यक्ष वा परोक्ष रूपमा स्थानीयलाई फाइदा हुनेछ । साथै स्थानीयलाई आयोजनाले १० प्रतिशत शेयर छुट्ट्याउनु एउटा सकारात्मक शुरुआत पनि हो । यसले स्थानीयवासीमा आयोजना/कम्पनीप्रति अपनत्व प्रगाढ बनाउनेछ । यो परिपाटीलाई अन्य आयोजनाले पनि अनुशरण गरेर स्थानीयहरूलाई शेयर प्रदान गर्न थालेको पाइएको छ ।

    आयोजनाको काम ढिला शुरू भएको थियो, निर्धारित समयमा पूरा होला त ?

    सिभिल निर्माण कार्यको ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीलाई केही प्रारम्भिक कार्यहरू गर्नुपर्ने हुन्छ । त्यसैले केही ढिला हुन गएको हो । आयोजना स्थलसम्म पुग्ने प्रवेशमार्गको स्थानीय ठेकेदारहरूबाट ट्र्याक खोल्ने कार्य भयो । पछि चिनियाँ ठेकेदार कम्पनीले उक्त प्रवेशमार्गलाई लामाबगरसम्म नै यातायात चल्ने स्तरको सडक बनाउन केही समय लाग्यो । त्यस्तै, निर्माण उपकरणहरू आयात गर्न सरकारी निकायहरूबाट स्वीकृति लिनुपर्ने, विष्फोटक पदार्थसम्बन्धी प्रक्रियाहरूका लागि सोचेको भन्दा बढी समय लागेको हुँदा शुरूमा आयोजनाको निर्माण कार्य केही ढिला भयो । अहिले सबै पक्षले शुरूमा हुन गएको ढिलाइलाई दृष्टिगत गरी निर्धारित समयमा पूरा गर्न सक्दो प्रयास भइरहेको छ । जलविद्युत् आयोजना निर्माणमा थुप्रै चुनौती/जोखीम हुन्छन् । तर, अहिलेसम्मको प्रगति हेर्दा निर्धारित समयमा आयोजना सम्पन्न गर्न सबै पक्ष प्रतिबद्ध छन् । आयोजना व्यवस्थापन यसमा आशावादी छ ।

    आयोजना निर्माणमा केकस्ता समस्या देखिएका छन् ?

    हालसम्म यस आयोजनामा अन्य आयोजनाहरूको तुलनामा खासै समस्या आएको छैन । निर्माण कार्यको प्रत्यक्ष सुपरिवेक्षण गर्ने काम दक्ष र अनुभवी अन्तरराष्ट्रिय भूगर्भविद् तथा इञ्जिनीयरहरूबाट हुनाले प्राविधिक समस्या तुरुन्त समाधान हुने गर्छन् । मुख्य संरचनाहरू भूमिगत रहेको र आयोजना स्थलको भौगर्भिक अवस्था अनुकूल हुनाले पनि निर्माण कार्यमा समस्याहरू आएका छैनन् । आयोजनासम्म पुग्न प्रयोग गरिने चरीकोटदेखि लामाबगरसम्मको (६८ किलोमिटर) प्रवेशमार्गमा भने समस्या आउने गरेका छन् । विशेषगरी वर्षायाममा बाटो अवरुद्ध भएमा निर्माण कार्यमा प्रत्यक्ष असर पुग्छ । त्यसैले, प्रवेशमार्गलाई चुस्तदुरुस्त राख्न जरुरी छ । यस्ता समस्या समाधान गर्न सबै सरोकारवालाले महइभ्वपूर्ण सहयोग पनि गरेका    छन् । आयोजना निर्माणका लागि छनोट भएका ठेकेदारले विभिन्न सरकारी निकायबाट स्वीकृति, लाइसेन्सलगायत लिनुपर्छ । यसमा धेरै समय लाग्ने गरेको छ । यसका लागि सरकारले ‘एकद्धार नीति’ अवलम्बन गर्दा राम्रो हुन्छ । यसले छोटो समयमा काम सम्पन्न गर्न सघाउनेछ ।

    आयोजनाले स्थानीय स्तरमा कस्ता परिवर्तनहरू ल्याउनेछ ?

    यसले सम्बन्धित क्षेत्रको विकासमा सहयोग पुर्‍याइरहेको छ । प्रवेशमार्ग लामाबगरसम्म पुगेको हुँदा स्थानीयलार्इ  आवतजावतमा सुविधा भयो। साथै टेलिफोन, बिजुलीलगायत सुविधा स्थानीय स्तरमा उपलब्ध भएका छन् । आयोजनामा हाल करीब ८ सय स्थानीयले रोजगारी प्राप्त गरेका छन् । त्यस्तै, पा्र विधिक तहमा काम गर्ने धेरै पनि धेरै छन  । आयोजनाको विकाससँगै स्थानीय स्तरमा रोजगारी, सूचना, सञ्चार, विद्युतिकरण, सडकको पहुचका साथै सामाजिक जनचेतनालगायत परिवर्तन भएको देखिन्छ ।

    देशमा विद्यमान लोडशेडिङ अन्त्यमा आयोजनाले कत्तिको सहयोग पुर्‍याउला ?

    अहिलेको लोडशेडिङ अन्त्य गर्न नसके पनि यसले न्युनीकरण गर्ने निश्चित छ । प्रस्तावित निर्माण तालिकाअनुसार आयोजनाको सम्पूर्ण कार्य २०७२ चैतमा सम्पन्न भई विद्युत् उत्पादन शुरू हुनेछ । यसले वार्षिक औसत ऊर्जा २ हजार २ सय ८१ गिगावाट प्रतिघण्टा (२ अर्ब २८ करोड युनिट ऊर्जा राष्ट्रिय विद्युत् प्रणालीमा थपिनेछ । हिउँदको सुक्खा महीनाहरूमा पनि यस आयोजनाले दैनिक ४ घण्टा ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्ने छ ।

    प्रस्तुति : रवीन्द्र गौतम / अभियान