अरुण तेस्रोमा १ अर्ब ३० करोड मुआब्जा

    507

    कार्तिक १५, २०७३- अरुण तेस्रोका प्रभावितलाई जिल्ला प्रशासनले १ अर्ब ३० करोड मुआब्जा वितरण गर्ने भएको छ । बुधबारबाट प्रभावितको बैंकमा खाता खोल्न सुरु गरिएको छ । प्रजिअ खुमकान्त आचार्यले प्रभावितलाई एक कार्यक्रम आयोजना गरेर बुधबार चेक हस्तान्तरण गरेका छन् ।

    उनका अनुसार नुम, पाथिभरा, याफू र दीदिङका प्रभावित २ सय ६५ परिवारलाई मुआब्जा वितरण गरिने छ । ‘९ लाखदेखि ६ करोडसम्म एकै व्यक्तिले मुआब्जा लिने छन्,’ उनले भने, ‘३५ दिनसम्म लिन हामी वितरण गर्नेछौं ।’ प्रभावितलाई दिइने रकम बैंक खातामा जम्मा गरिने छ ।
    जग्गा अधिग्रहण पछिमात्र आयोजनाको भौतिक निर्माण अघि बढाउन सकिने भएकाले प्रशासनले मुआव्जाको मुल्य तोकेको आचार्यले बताए । नुमका प्रभावित विमन पराजुलीका अनुसार त्रिपक्षिय सहमतिका आधारमा मुआव्जा निर्धारण गरिएको हो । भारतिय निर्माण कम्पनी सतलज, प्रशासन र विस्थापितसँगको सहमतिमा रकम मुआव्जाको रकम निर्धारण गरिएको उनले बताए ।
    चारै गाविसमा पाखोको मूल्य प्रति रोपनी आठ लाख २५ हजार तोकिएको छ । खेती लगाउने वारीको मूल्य भने नौ लाख सात हजार पाँच सय कायम गरिएको पराजुलीले बताए । अलैंचीवारीको लागि प्रतिरोपनी १० लाख ४३ हजार पाँच सय र खेत १२ लाख रुपैयाँ तोकिएको छ ।
    प्रभावित क्षेत्रको जग्गाले उत्तर दक्षिण कोशी राजमार्ग छोएको भए थप २० प्रतिशत मुआब्जा दिइने छ । एक रोपनीमा एक मन अलैंची फल्ने मूल्याङ्कन सहित तीन वर्ष सम्म प्रति मन एक लाख मुआब्जा दिन लागेको हो । त्यस बाहेक अलैंचीवारीको जग्गा विकास खर्च प्रति रोपनी २५ हजार, ढुवानी र रोप्न लाग्ने खर्च २४ हजार समेत तीन बर्ष सम्म दिनेछ ।
    त्यस बाहेक बिरुवा हेरचाह गर्न भनेर तीन बर्षको लागि एकमुष्ट प्रति रोपनी १० हजार पाँच सय रुपैयाँ दिइनेछ ।
    ‘घडेरीको मूल्य भने अरु जग्गा भन्दा बढीछ,’, उनले भने, ‘२ सय वर्ग मिटरलाई एउटा घडेरीको रुपमा मुल्याङ्कन गरिनेछ । नुमको फ्याक्सिन्दा दोभानको घडेरी प्रतिगोटा १२ लाख ३७ हजार पाँच सय र त्यहाँ बाहेकको घडेरीलाई प्रतिगोटा ११ लाख कायम गरिएको छ ।’
    भौतिक संरचनाको मूल्य दिदङ्ग र याफुमा केहि बढी तोकिएको छ । घर प्रति वर्ग मिटर सात हजार ८ सय ९८ एवं गोठ तथा खोर तथा चर्पी लगायतका अरु संचरना प्रति वर्ग मिटर दुई हजार ३ सय ६९ तोकिएको छ । नुममा भने यस्ता प्रकारका संरचना सात हजार १ सय १३ र दुई हजार १ सय ३४ कायम गरिएको छ ।
    खेत र वारीका लागि जग्गा विकास खर्च प्रति रोपनी सात हजार ७ सय ५ समेत दिनेछ । यस्तै वसाइसराइ वापत प्रति परिवारले ढुवानी खर्च ६० हजार, घरभाडा तीन महिनाको ३० हजार, श्रमिक खर्च चार हजार ८ सय पाउनेछन् । खाद्य सुरक्षा वापत प्रतिव्यक्ति छ महिनाको १३ हजार ६सय४ रुपैयाा समेत दिने जनाइएको छ ।
    संक्रमणकालिन खर्चको रुपमा अलैंची किसान बाहेक अरुले प्रति रोपनी छ हजार र व्यापारीले प्रति पसल छ महिना १५ हजार पाउनेछन् । घरमा संरक्षण गर्ने व्यक्ति नभएका ६० बर्ष नाघेका जेष्ठ नागरिकलाई समेत विषेश भत्ता दिने जनाइएको छ । फलफूल एवं बोट विरुवाको मूल्य भने सबै गाविसमा समान दिने जनाइएको छ । सबै भन्दा धेरै आापको वोटले प्रति गोटा २४ हजार ५ सय ८३ मुआब्जा पाउनेछ ।
    अनार १७ हजार ३ सय २, सुन्तला ११ हजार ८३, हलुवावेद १० हजार १ सय २२ रुपैयाँ प्रतिगोटा तोकिएको छ । सबै भन्दा कम मूल्य भुइकटहरले प्रतिगोटा २ सय पाउनेछ । फल नदिने विरुवालाई भने उमेरका आधारमा ८ सय ४५ देखि तीन हजार १ सय ८३ सम्म दिइने छ ।
    रुद्राक्षका विरुवा पनि उमेरका आधारमा एक बर्षकोलाई ८ सय ४५ देखि पाँच बर्षकोलाई दुई हजार ५ सय २२ तोकिएको छ । घाँस र दाउराको रुखले प्रतिगोटा दुई हजार ५ सय र वास झ्याङ छ हजार पाउने जनाइएको छ । यो परियोजना भारतीय कम्पनी सतलजले निर्माण गर्ने भएको छ । ९ सय मेगावाटको परियोजनाको कुल लागत १ सय ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।
    उत्पादित बिजुली विजुलीमध्ये नेपालले सित्तैमा २९ दशमलब ९ प्रतिशत पाउनेछ । २५ बर्षमा परियोजना नेपाल सरकारलाई हस्तान्तरण समेत हुनेछ ।

    स्रोत : कान्तिपुर