अब नदी बेसिनमा प्रसारण लाइन

    1082

    चैत्र ३, २०७३- राजधानीसहित सहरी क्षेत्रमा लोडसेडिङ हटाएको नेपाल विद्युत् प्राधिकरण पुराना प्रसारणलाइनको मर्मत र नयाँ प्रसारण लाइन विस्तारमा केन्द्रित हुने भएको छ । उत्पादित विद्युत्समेत केन्द्रीय प्रसारणमा जोड्न समस्या हुने गरेकाले त्यसलाई हटाउन तथा मुलुकभर नै अवरोधरहित विद्युत् आपूर्ति गर्न प्राधिकरण प्रसारण लाइनमा केन्द्रित भएको हो । ‘हाम्रो अबको ध्यान प्रसारण लाइनतर्फ केन्द्रित भएको छ,’ इनर्जी डेभलपमेन्ट काउन्सिलले बुधबार राजधानीमा गरेको प्रसारणलाइनसम्बन्धी छलफलमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘हामीले देशभित्र र अन्तरदेशीय प्रसारण लाइनमा जोड दिइरहेका छौं ।’

    घिसिङले विद्युत्को सहज आपूर्तिको व्यवस्थापनका लागि प्राधिकरण प्रसारणलाइनमा केन्द्रित भएको बताए । ‘सोलु, काबेलीलगायतको प्रसारणलाइन निर्माण अघि बढेको छ,’ उनले भने, ‘अब हामी नदी बेसिनको आधारमा यस्तो निर्माण अघि बढाउँछौं ।’ उनले वितरण र प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । कार्यक्रममा नेपालको हालको प्रसारण लाइनको अवस्था र भावी योजना प्रस्तुत गरिएको थियो । प्राधिकरण, स्वतन्त्र ऊर्जा उत्पादकलगायतको सहभागिता रहेको छलफल प्राधिकरणले निर्माण भइसकेका, निर्माणको क्रममा रहेका र अध्ययन भइसकेका प्रसारणलाइनको जानकारी दिएको थियो । प्राधिकरणका अनुसार सन् २०३५ सम्ममा २२ हजार मेगावाट विद्युत् उत्पादन हुने अनुमानअनुसार ६ वटा अन्तरदेशीय सञ्जाल र ११ प्रसारणलाइन विकासका लागि पहिचान गरेको छ ।
    कार्यक्रममा बोल्दै स्वतन्त्र उत्पादकका प्रतिनिधिहरूले जलविद्युत् आयोजनापिच्छे फरक व्यवहार गरिएको गुनासो गरेका थिए ।

    कान्तिपुर