पश्चिम सेतीबारे छलफलका लागि चिनियाँ टोली आज काठमाडौं आउँदै

    1227

    पश्चिम सेती जलविद्युत आयोजना निर्माणबारे छलफल गर्न चिनियाँ कम्पनी थ्री गर्जेजको उच्चस्तरीय टोली आज काठमाडौं आउँदैछ ।
    कम्पनीका अध्यक्ष लु चुनसहितको टोली आज नेपाल आउन लागेको हो । चिनियाँ टोलीसँग बार्ताका लागि लगानी बोर्डका कार्यकारी प्रमुख सिईओ महाप्रसाद अधिकारीको संयोजकत्वमा ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका अधिकारी संलग्न टोली बनाईएको छ । ७ सय ५० मेगावट क्षमताको सो आयोजनाबारे भोलि चिनियाँ टोलीसंग भोलि बार्ता हुने लगानी वोर्डका एक सदस्यले जानकारी दिए ।  सो आयोजनामा बिद्युत खरिद सम्झौता पीपीएको दर वढाउनुपर्ने थ्री गर्जेजको मागपछि आयोजना निर्माणमै अन्यौल वढेको थियो । पीपीए दरसम्वन्धमा बिद्युत प्राधिकरण तथा थ्री गर्जेजबीच सहमति हुन नसक्दा संयुक्त लगानी सम्बन्धी सम्झौता हुन सकेको छैन । थ्री गर्जेजको उच्चस्तरीय टोलीसँग काठमाडौंमा भोली र पर्सी हुने बार्तापछि पीपीए दरबारे सहमतिमा पुगिने बोर्ड श्रोतले जनाएको छ ।  ७ सय ५० मेगावाट क्षमताको सो आयोजनामा प्राधिकरणले बर्षायाममा ७ रुपैयाँ १० पैसा  र हिउँदमा १२ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत खरिद गर्न प्रस्ताव गरेको छ । सो दर कम भएको भन्दै थ्री गर्जेज आयोजनाबाट पछि हट्न खोजेको थियो ।  १ खर्ब ६० अर्ब लागत अनुमान गरिएको र खासगरी सुदूरपश्चिमको आर्थिक भविष्यसँग समेत जोडिएको सो महत्वकांक्षी आयोजनामा थ्री गर्जेजले ७५ प्रतिशत, र बाँकी २५ प्रतिशत प्राधिकरणले लगानी गर्ने प्रारम्भिक सहमति भएको थियो । चर्चामा रहेको झण्डै २० बर्षपछि गतबर्ष कार्तिकमा विद्युत प्राधिकरण र थ्री गर्जेजबीच सो आयोजनामा लगानी सम्झौता भएको थियो ।

    स्रोत: कान्तिपुर