जगदुल्ला आयोजनाको क्षमता घट्यो, जडित क्षमता १०६ मेगावाट

1245

काठमाडौं । प्रस्तावित जगदुल्ला जलविद्युत आयोजनाको जडित क्षमता र लागत दुबै घटेको छ । एनईए इञ्जिनीयरिङ लिमिटेडले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) ले आयोजनाको जडित क्षमता १०६ मेगावाट कायम गरेको छ ।

आयोजना बनाउन १९ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान डीपीआरमा गरिएको छ । यसअघि आयोजनाको अनुमानित लागत २२ अर्ब रुपैयाँ थियो । जडित क्षमता घटेपछि लागत पनि कम भएको हो ।

यो आयोजना जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडबाट निर्माण हुन लागेको हो । सुरुमा ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र हुने भएको छ । अर्धजलाशयका रूपमा थालिएको आयोजना छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण भएको छ ।

७  किलोमिटर लामो भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २३ मिटर उचाइ र १०० मिटर चौडाइको जलाशययुक्त बाँध निर्माण हुनेछ ।

छ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ । विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङ लिमिटेडले २७ करोड रुपैयाँमा डीपीआर तयार पारेको हो । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउनेछन् ।

अहिले विद्युत् उत्पादन गृहको माटो जाँचका लागि ३०० मिटरभित्र सुरुङ निर्माण गर्नुपर्ने छ । त्यस्तै इलमा समेत पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले त्रिवेणीदेखि इलसम्मको सडक ट्र्याक छिटो खोलेमा आयोजनाको कामसमेत छिटो हुने आयोजनाको भनाइ छ ।

आयोजना निर्माणका लागि आवश्यक बिजुलीका लागि इलस्थित फेदीखोलाबाट दुई मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट २ मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यताको काम शुरु भएको छ । आयोजना निर्माणस्थल बाँधस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सापकोटाले जानकारी दिए ।

त्रिवेणी, मनमङ र नीलदहमा पक्की पुल जगदुल्ला जलविद्युत् आयोजनाले बनाउने छ । आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न २०७७ पुसमा सार्वजनिक सूचना प्रकाशित गरी प्रभावित क्षेत्रको विवरण दिन आग्रह गरिएको थियो ।

इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गाको प्रतिरोपनी पाँच लाख ५० हजार र काइगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजारका दरले मुआब्जा वितरण कार्य पूरा भएको छ ।

८२ मेगावाटको अर्को आयोजना 

जगदुल्ला जलविद्युत् आयोजनाले ८२ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना पनि निर्माणको तयारी गरेको छ । आयोजनाको डिपिआर सार्वजनिक गरेर सरोकारवालाको राय सङ्कलन पनि गरिसकिएको आयोजना प्रमुख सापकोटाले जानकारी दिए।

क्यासकेड आयोजनाको रूपमा जगदुल्ला ए निर्माण गर्दा अर्धजालाशयको लागत पनि घट्ने र दुवै आयोजनालाई आकर्षक आयोजना बनाउन सकिने बताइएको छ ।

विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई २ प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ ।

विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर छ ।

अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको ५/५ प्रतिशत, जलविद्युत् लगानी तथा विकास कम्पनीको ४ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको २ प्रतिशत प्रवद्र्धक सेयर रहेको छ ।

 

– क्यापिटल नेपाल