सुनकोसी ३ को अध्ययन सुरु

2048

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका १ हजार ७ सय परिवार प्रभावित हुने 

कार्तिक १७, २०७६

काठमाडौँ – राजधानीबाट नजिकको ५ सय ३६ मेगावाटको सुनकोसी ३ जलायशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय अध्ययन सुरु भएको छ । विद्युत् विकास विभागले आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनका सबै चरण पूरा गर्न प्रभावित क्षेत्रका बासिन्दाको सुझाव संकलन सुरु गरेको हो ।

विद्युत् उत्पादन मात्र नभई बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने उद्देश्य राखिएको उक्त आयोजनाबाट सुनकोसी नदी किनारका सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली र रामेछापका करिब १ हजार ७ सय घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अनुमान छ । आयोजनाको जलाशयले चार जिल्लाअन्तर्गत सुनकोसी र इन्द्रवती नदी किनार, अरनिको एवं पुष्पलाल मध्यमहाडी लोकमार्ग आसपासका बस्तीहरू डुबानमा पर्नेछन् ।

भौगोलिक हिसाबले आयोजना बन्ने सक्ने प्रारम्भिक अनुमानपछि वातावरणीय अध्ययन सुरु गरिएको हो । आयोजनाबाट सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका १, ३ र ४ एवं बलेफी गाउँपालिकाको ५ नम्बर वडा प्रभावित हुनेछन् । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाको ९, १०, ११, १२ र १४ वडा प्रभावित हुने अनुमान छ । इन्द्रावती गाउँपालिकाको १०, ११ र १२ तथा मेलम्ची नगरपालिकाको १३ नम्बर वडालाई डुबान क्षेत्र मानिएको छ । उल्लेखित डुबान क्षेत्रका आधारमा सुनकोसी नदीतर्फको चहेरे, सुकुटे, चियाने, भैंसे, बलेफीलाई प्रभावित मानिएको छ । इन्द्रावतीतर्फ वनदेउ, साँगाचोकको सानो भीमटार हुँदै भोटसिपाको तल्लोभाग, माझीगाउँ, ठूलोभिमटार, तथा फटकशिलाको तल्लो भागसम्मलाई डुबान क्षेत्र मानिएको छ ।

काभ्रेको मन्डन देउपुरका ७, ९, १० र १३ र पाँचखाल नगरपालिकाका १३ र ८ वडा डुबान क्षेत्रमा पर्नेछन् । भुम्लु गाउँपालिकाका १, ६,७, ८, ९ र १० तथा चौरीदेउरालीका ६, ७ र ८ वडा डुबान क्षेत्रमा पर्नेछन् । तिमाल गाउँपालिकाका १,२, ३, ४, ६, ७ र ९ वडा सबैभन्दा बढी प्रभावित हुनेछ । उक्त वडाहरूमा बाँध, विद्युत्गृह र डुबान क्षेत्र पर्नेछन् । रामेछापको खाँडादेवी १ र सुनापाती १, ४ र ५ मा डुबान क्षेत्रमा पर्नेछन् । त्यसैगरी सिन्धुलीको सुनकोसी गाउँपालिकाको १, २, ३, ४ र ५ वडालाई डुबान क्षेत्र मानिएको छ । विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाले भने यो क्षेत्र निर्धारणका लागि तय गरिएको डुबान क्षेत्र हो । स्थानीय सुझावलाई ध्यानमा राखेर आयोजनाका कतिपय विषयलाई थप परिमार्जन गर्न सकिनेछ । परामर्शदाता एसआईडीआरआई कम्पनी लिमिटेड र ईआरएमसी प्राइभेट लिमिटेडले जारी गरेको सार्वजनिक सूचनाका आधारमा सर्वसाधारण, स्थानीय निकायलगायत रोकारवालाले सुझाव दिन सक्ने व्यवस्था मिलाइएको छ । सुझावका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं वन मन्त्रालय, विद्युत् विकास विभाग र सुनकोसी जलविद्युत् आयोजनामा सम्पर्क गर्ने सकिनेछ । सरोकारवालाले भौतिक, सांस्कृतिक, जैविक, आर्थिक, सामाजिक विषयमा सुझाव दिन सक्नेछन् ।

थपलियाका अनुसार दुई वर्षअघि चीनको सांघाई इन्भेस्टिगेसन एन्ड डिजाइन इस्न्टिच्युट तथा नेपालको ईआरएमसीले कन्सल्ट्यान्डका रूपमा आयोजानको भौगोलिक अध्ययन सुरु गरेका थिए । यसअघि उक्त आयोजनाको प्रारम्भिक अध्ययन सन् १९८५ मा जापान इन्टरनेसलन कोअपरेसन (जाइका) ले गरेको थियो । रामेछापको खाँडादेवी गाउँपालिका १ र काभ्रेको तिमाल गाउँपालिका ९ को सीमाना लुभुघाटमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरिनेछ । बाँधबाट फर्काइएको ५७० घनमिटर प्रतिसेकेन्ड पानीलाई करिब १ किमि लम्बाइ र ९ मिटर व्यासको सुरुङबाट स्थानीय लुभुघाट नजिकै निर्माण हुने विद्युत्गृहमा पुर्‍याइनेछ । आयोजनाको हेड करिब १६० मिटर हुने अनुमान छ ।
स्रोत:कान्तिपुर