सोलु प्रसारण लाइन निर्माण अवरोध हट्ने संकेत

2118

आश्विन २९, २०७७

काठमाडौँ — मुआब्जा विवादमा स्थानीयका कारण अवरुद्ध सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो ।

स्थानीयले प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर काममा अवरोध गर्दै आएका थिए । उक्त क्षेत्रबाट संघीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग छलफल गर्दै ऊर्जामन्त्री वर्षमान पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेका थिए ।
ऐलानी जग्गाको मुआब्जा दिने प्रस्तावसँगै उक्त क्षेत्रका जनप्रतिनिधिले आयोजना निर्माणमा स्थानीयको अवरोध हटाउने प्रतिबद्धता जनाएको मन्त्री पुनको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । आयोजनाअन्तर्गत कुल ३ सय २ वटा टावरमध्ये २ सय ८८ वटाको निर्माण सम्पन्न भइसकेको छ । कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाँग्ने कामसमेत सकिएको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग नेपाल विद्युत् प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो ।
स्रोत:कान्तिपुर