बुधबार, ०४ पुष
काठमाडौं – दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन्। विदेशी प्रदर्शकको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेका हुन्। एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागी हुन विभिन्न मुलुकका झन्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगायत देशका कम्पनीको सहभागिता रहनेछ। जलविद्युत् प्रवद्र्धक, इक्विपमेन्ट सप्लायर, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेका अर्को आयोजक संस्था एक्स्पो एन्ड एभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए।
जलविद्युत्को क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व रहने छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सले एक्स्पो प्रवद्र्धन गर्नेछन्। एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्ष्य गरी हाइड्रोपावर क्षेत्रमा अभिरुचि भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ।
हाइड्रोपावरसम्बन्धी उत्पादन र सेवाको विकासमा प्रतिस्पर्धा गराई विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी, एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार वितरण गरिनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका हाइड्रोपावर कम्पनीका प्रतिनिधि एक्स्पोमा सहभागी हुँदैछन्। एसियन पेन्ट्स, रेस्ट्रोलोजी, होटल हिमालय र नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन्। एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदानप्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास आयोजकले लिएको छ।
स्रोत: नागरिक





