पोखराको फोहोरबाट ४५० किलोवाट बिजुलीको सम्भावना

    343

    पोखरा, असोज ८ – पोखरामा दैनिक खेर गइरहेको फोहोर सदुपयोग गरी मोहोर बनाउन सकिने विज्ञले सुझाएका छन्। जैविक फोहोरबाट बिजुली निकालेर सहर उज्यालो बनाउन सकिने प्रविधिबारे सुझाव दिँदै विज्ञहरूले त्यसका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

    Pokhara City
    Pokhara City

    नेपाल बायो ग्यास प्रबर्द्वन संघले त्यसका लागि आवश्यक प्राविधिक सहयोग गर्न आफू तयार रहेको जनाएको छ। पोखरामा दैनिक ९० टन फोहोर उत्पादन हुने गरेको छ। उपमहानगरपालिकाका ल्यान्डफिल्ड शाखा प्रमुख नेत्रप्रसाद तिमिल्सिनाले दैनिक संकलित फोहोरमध्ये ५० टन जैविक फोहोर हुने गरेको जानकारी दिए। उनले उक्त फोहोर कतै सदुपयोग नभई सधैं ल्यान्डफिल्ड साइटमै फालिने गरेको सुनाए।
    प्राविधिकले भने उक्त फोहोरबाट पोखरामा ४ सय ५० किलोवाट बिजुली उत्पादन गर्न सकिने औंल्याएका छन्। बायो ग्यास प्रबर्द्वन संघका कार्यक्रम अधिकृत पुष्पराज कोइरालाले पोखरामा १० वटा प्लान्ट निर्माण गरी दैनिक संकलित फोहोरबाट ४ सय ५० किलोवाट बिजुली उत्पादन गर्न सकिने जानकारी दिएका हुन्।

    ‘यहाँ एउटा प्लान्टबाट २ सय ३० वटा पोलमा बल्ब बाल्ने हो भने १० वटा प्लान्टबाट २ हजार ३ सय पोलमा बल्ब बाल्न पुग्ने बिजुली उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘मुलुकले सातामा ३५ घन्टा लोडसेडिङ खेपिरहेको बेलो खेर गइरहेको फोहोरबाट मोहर बनाउन सकिन्छ।’
    उनले पोखरा मात्र नभई लेखनाथ र तनहुँको व्याँस नगरपालिकालाई पनि फोहोरबाट बिजुली निकालेर सहर उज्यालो बनाउन सुझाव दिँदै यसमा सघाउने प्रतिबद्वता जनाए। कोइरालाकाअनुसार यस्तो एउटा प्रविधि जडान गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्छ। लेखनाथमा दैनिक पाँच टन र व्यासमा ८ टन जैविक फोहोर उत्पादन हुने ती नगरपालिकाले जनाएका छन्।

    यो प्रविधिअनुसार कुहिने फोहोरलाई छुट्याएर मेसिनमार्फत् लेदो बनाई डोममा हाल्नुपर्छ। डोमबाट मिथेन ग्याँस उत्पादन हुन्छ। त्यसलाई बेलुनमा संकलन गरिन्छ। उक्त ग्याँसलाई पाइपमार्फत् ‘सिंगल फ्युल इञ्जिन जेनेरेटर’सम्म पुर्यालइन्छ। त्यही जेनेरेटरले नै बिजुली उत्पादन गर्छ।
    यसरी उत्पादित बिजुली सिधैं पोलमा वितरण गर्न वा राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न सकिन्छ। यस्तो प्लान्ट सञ्चालन गर्नसमेत सोही बिजुली प्रयोग गरिन्छ। डोमबाट निस्कने लेदोलाई फिल्टर गरेर पानीलाई पुनः सोही प्लान्टमा प्रयोग गर्न सकिन्छ। बाँकी लेदोलाई मलको रूपमा प्रयोग गरिन्छ। यस्तो मल उच्चकोटीको हुने प्राविधिक बताउँछन्।

    ठूला तथा मझौलास्तरका सहर, ठूल्ठूला होटल-रिसोर्ट, सेना तथा प्रहरीको ब्यारेक समेतले यस्तो प्रविधिमार्फत् आफूलाई चाहिने उर्जा उत्पादन गर्नसक्ने उनीहरूले बताए। स-साना होटल, घर र क्यान्टिनले यसै प्रविधिमार्फत् आफूलाई चाहिने ग्याँस उत्पादन गर्न सक्ने कोइरालाले बताए। उनकाअनुसार जिविस कास्कीको क्यान्टिन, नगरविकास प्रशिक्षण केन्द्र र होटल बाराहीलगायत केही होटल तथा संघ/संस्थाले जैविक फोहोरबाट ग्याँस उत्पादन गरेका छन्।

    संघले जिविस कास्की, पोखरा तथा लेखनाथ र व्यास नगरपालिकाका प्रमुखहरुसँग ‘फोहोरबाट बायोग्याँस ऊर्जा उत्पादन’ गर्न सकिने प्रविधिबारे छलफल अघि बढाएको छ। संघको टोलीले केही समयअघि भारतको पुनेमा ‘जैविक फोहोर व्यवस्थापन बायोग्याँस प्लान्ट’को अवलोकन भ्रमण गरेको थियो।

    भारतको पुने नगरपालिकाले एउटा यस्तै प्लान्टबाट उत्पादित बिजुली २ सय ३० पोलका बल्बमा प्रयोग गरी सहर भिलिमिली पारेको हालै भ्रमण गरेर फर्केका संघका क्षेत्रीय कार्यालय संयोजक विष्णुप्रसाद शर्माले सुनाए। उनले एउटा यस्तो प्लान्ट बनाउन करिब १ करोड रुपैयाँ खर्च लाग्ने बताए। प्लान्ट सञ्चालन गर्न करिब १० कर्मचारी आवश्यक पर्छ।

    ‘नगरपालिकाले चासो दिने हो भने ‘सार्वजनिक-निजी साझेदारी’ कार्यक्रमअन्तर्गत यस्ता प्लान्ट निर्माण गर्न सकिन्छ’ शर्माले भने, ‘यसमा समन्वय गरी नगरपालिकाहरुलाई सघाउन तयार छ।’

    वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्वन केन्द्रका वरिष्ठ उर्जा अधिकृत समिर थापाले फोहोरबाट नेपालमा सानो क्षमताका बिजुली उत्पादन गर्ने यस्ता धेरै प्लान्ट सञ्चालन गर्न सकिने बताए। उनले सम्भाव्य ठाउँको अध्ययन गरी यस्ता प्लान्ट निर्माणका लागि अनुदान जुटाउन केन्द्रले स्रोतको खोजी गरिरहेको जानकारी दिए।

    ‘जैविक फोहोर उत्पादन हुने सामुदायिक विद्यालय, सैनिक ब्यारेक, प्रहरी कार्यालय लगायत ठाउँमा समेत स-सानो क्षमताका प्लान्ट जडान गरी बिजुली, ग्यास र लेदो मल प्रयोग गर्न सकिन्छ’ थापाले भने।

    पोखरा उपमहानगरका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले प्रशस्त जैविक फोहोर उत्पादन हुने क्षेत्रहरूमा बिजुली उत्पादन गर्न यस्तो प्रविधि वरदान हुने बताए। उनले पोखरामा यो प्रविधि निर्माण गर्न पहिलो चरणमा राजनीतिक दल, प्राविधिक र सरोकारवालासँग छलफल अघि बढाउँदै आवश्यक सहयोग जुटाउन समेत लागिपर्ने प्रतिबद्वता जनाए।

    ‘सरकारले वैकल्पिक उर्जामा वर्षेनी ठूलो धनराशी खर्च गरिरहेको छ,’ कार्कीले भने, ‘हाम्रै घरआँगनबाट संकलन गर्न सकिने यस्ता फोहोरबाट ठाउँ-ठाउँमा बिजुली निकाल्न सके उर्जा संकटको अहिलेको अवस्थामा यो वरदानसिद्व हुन्छ।’

    प्रस्तुति:  नागरिक