नेपाल–भारत–बंगलादेश त्रिदेशीय प्रसारण लाइनको योजना

    1286

    २२ वर्षभित्र बंगलादेशलाई ९ हजार मेगावाट बिजुली बेच्ने

    सन् २०४१ भित्र बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् किन्ने घोषणासँगै यसका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गरिने भएको छ

    बंगलादेश सरकारले आफ्नो योजनामै नेपालबाट बिजुली किन्ने उल्लेख गरेपछि सिधै जोडिने गरी सरकारले नेपाल–भारत–बंगलादेश जोड्ने ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको हो । अनारमणिदेखि सिलगुढी हुँदै बंगलादेशसम्म त्रिदेशीय प्रसारण बनाउने योजना सरकारको छ । यसको सम्भाव्यता अध्ययन हुन बाँकी छ । करिब २२ किलोमिटर भूमि भारतको पर्ने भएकोले तीन देशबीचमा सहकार्य गरेर बनाउने योजना नेपालको छ ।

    नेपालबाट ९ हजार मेगावाट बंगलादेश बेच्नका लागि झापादेखि बंगलादेशसम्म ४०० केभीको प्रसारण लाइन निर्माणको कार्य अघि बढाउन लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । “नेपालदेखि बंगलादेशसम्म सीधै प्रसारण लाइन निर्माणका लागि त्रिदेशीय प्रसारण लाइन निर्माण गर्न लागेका छौं,” उनले कारोबारसँग भने, “भारतसँग नेपाल र बंगलादेश दुवैले कुरा गरेर तीनवटै देशले बनाउने गरी प्रसारण लाइन निर्माणको काम अघि बढाउन लागेका छौं ।”

    ११ सय १० मेगावाटको सुनकोसी दोस्रो तथा ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त आयोजनामा लगानी गर्ने तथा दूधकोसी र अपर अरुणको बिजुली बंगलादेशलाई बेच्नेबारे समेत छलफल अघि बढेको मन्त्री पुनले जानकारी दिए ।
    बंगलादेश बिजुली बेच्नका लागि आवश्यक प्रसारण लाइनको निर्माण हाल प्रारम्भिक चरणमा रहेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ८० किलोमिटर लामो ४०० केभीको न्यू इनरुवा–अनारमणि प्रसारणलाइनको हाल सम्भाव्यता अध्ययन भइरहेको छ भने हेटौडादेखि इनरुवासम्मको प्रसारण लाइनको पनि निर्माण कार्य अघि बढेको छ । अरुण नदीबाट इनरुवासम्म पुग्ने ४०० केभीको १ सय ३० किलोमिटर लामो अरुण–इनरुवा प्रसारण लाइन पनि अध्ययनकै चरणमा छ । त्यसैगरी तिंला–दुधकोसी–ढल्केबर ४ सय केभीको १ सय २५ किलोमिटर प्रसारण लाइन पनि अध्ययनको क्रममा छ । सुनकोसी दोस्रो र तेस्रो आयोजनाबाट उत्पादित विद्युत् खिम्तीमा जोडेर खिम्तीबाट ढल्केबर पु-याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकारणका अनुसार, बंगलादेश लैजानका लागि प्रस्तावित गरिएका आयोजनाहरूबाट बिजुली पु-याउनका लागि आवश्यक अन्तरदेशीय प्रसारण लाइन हाल प्रारम्भिक चरणमा छन् ।

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बंगलादेश पुग्ने प्रसारण लाइन निर्माणका लागि अध्ययनको काम अघि बढेको बताउँछन् । “बंगलादेशले बिजुली किन्ने भनेपछि त्यो विक्री गर्नका लागि बनाउनुपर्ने प्रसारण लाइन आयोजनाहरूको अध्ययन अघि बढ्छ,” उनी भन्छन् । प्राधिकरणका अनुसार अति दु्रत गतिमा बनेमा बंगलादेशका लागि झापासम्म ४ सय केभीको प्रसारणलाइन निर्माण पु-याउनका लागि कम्तीमा ३ देखि चार वर्ष लाग्छ भने भारतीय भूमि प्रयोग गर्न दिएमा नेपालले बंगलादेशलाई सँधै बिजुली बेच्न सक्छ । हाल भारतीय कम्पनी जीएमआरले ५सय मेगावाट विद्युत् बंगलादेश बेच्ने गरी बंगलादेशसँग सम्झौता भएपनि त्यो बिजुली भने भारत हुँदै बेच्न लागिएको हो । भारतीय सरकारी कम्पनीलाई जीएमआरले बिक्री गरेर त्यहाँमार्फत त्यो बिजुली बंगलादेश पुग्नेछ । जीएमआरजस्तै कुनै भारतीय कम्पनीसँग सम्झौता गरेर बेच्नका लागि भने दुई देशबीच ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारण लाइन बनिसकेको छ भने बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ ।

    भिम गौतम

    स्रोत:कारोबार