सरप्लस म्यानेजमेन्टको युगमा प्रवेश गर्दै प्राधिकरण

    1314

    २०७५ पौष ८ आइतबार |काठमाडाैं

    विद्युत्को माग, आपूर्ति र वितरण प्रणालीबीच व्यवस्थापन मिलाएकै कारण हाल जडित प्रणालीमा बिजुली आपूर्ति निरन्तर छ । गत जेठदेखि सर्वसाधारण मात्र नभएर औद्योगिक क्षेत्रमा समेत घोषित लोडसेडिङको अन्त्य भइसकेको छ । त्यति मात्रै होइन, अहिले रातको समयमा केही मात्रामा विद्युत् खपत नै नहुने अवस्था सिर्जना भएको विद्युत् प्राधिकरणको भनाइ छ । साविकका घरायसी, व्यवसायी तथा औद्योगिक प्रयोजनबाट बढी हुने बिजुलीको व्यवस्थापन प्राधिकरणका लागि चुनौती भइसकेको छ । प्राधिकरण आफैँले पनि ‘इलेक्ट्रिसिटी सरप्लस’को अनुभूति गरिसकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी स्वीकार गर्छन् । ‘लोड म्यानेजमेन्टको सफलतापछि अब सरप्लस म्यानेजमेन्टको युगमा प्रवेश गर्दै छौँ,’ उनले भने, ‘त्यसमा समेत प्राधिकरण सफल हुने गरी लागिपरेको छ ।’

    उनका अनुसार हाल नेपालको माग व्यवस्थापन गर्न भारतबाट करिब ४ सय मेगावाट विद्युत् आयात भइरहेको छ । हाल निर्माणमा रहेका माथिल्लो तामाकोसी, कुलेखानी तेस्रो, त्रिशूली ३ ए जस्ता आयोजनाबाट झन्डै ५ सय मेगावाट विद्युत् उत्पादन हुने निश्चित छ । त्यस्तै अन्य निजी क्षेत्रका आयोजनाबाट झन्डै १ हजार मेगावाटभन्दा बढी विद्युत् २ वर्षभित्रमा थप हुने प्राधिकरण जिकिर छ । आयातीत विद्युत्लाई प्रतिस्थापन गर्न करिब ५ सय मेगावाट विद्युत् नै काफी छ । बाँकी रहेको बिजुली व्यवस्थापनका लागि प्राधिकरणले नयाँ योजना बनाइरहेको उनले बताए । उनका अनुसार प्राधिकरणले आयात प्रतिस्थापन, इनर्जी बैंकिङ, नयाँ औद्यागिक ग्राहक बनाउनेजस्ता अवधारणा अघि सारेको छ । ‘सन् २०२० पछि हामी वर्षको ८०० मेगावाट आवर विद्युत् बैंकिङ गर्न सक्ने अवस्थामा पुग्छौँ,’ उनले भने ।

    ‘सरप्लस म्यानेज’ गर्न खपत दरमा वृद्धि 
    नेपालको प्रतिव्यक्ति ऊर्जा खपत दर विश्वको तुलानमा मात्रै नभएर दक्षिण एसियाली मुलुकहरूको तुलनामा पनि न्यून छ । हाल दक्षिण एसियाको प्रतिव्यक्ति विद्युत् खपत दर औसत वार्षिक ५७० किलोवाट आवर रहेको ऊर्जाविद्हरू बताउँछन् । त्यस्तै, विश्वको औसत वार्षिक प्रतिव्यक्ति विद्युत् खपत दर झन्डै ३ हजार किलोवाट आवर छ । सबैभन्दा बढी आइसल्यान्डको ५३ हजार किलोवाट आवरभन्दा बढी छ भने । तर, नेपालको हाल प्रतिव्यक्ति विद्युत् खपत दर वार्षिक करिब २०० किलोवाट आवर मात्र रहेको प्राधिकरणको भनाइ छ ।

    चालू आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत दर २५० किलोवाट आवर पु-याउने सरकारको लक्ष्य छ । तर, यतिले मात्र पर्याप्त नहुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । ‘नेपालको १० वर्षमा प्रतिव्यक्ति विद्युत् खपत दर १ हजार ५ सय किलोवाट आवर पु-याउने लक्ष्य छ,’ उनले भने, ‘त्यसलाई पूरा गर्न सक्ने योजना बनाउने, विद्युत् उत्पादनलाई प्रोत्साहन गर्ने र विद्युत् खपत बढाउन सरकारले उद्योग कलकारखाना, व्यवसायमा लगानी आकर्षित गर्ने नीति ल्याउनु आवश्यक छ ।’

    केही दिनअघि मात्र ऊर्जामन्त्री वर्षमान पुनले ‘टेक अर पे’ प्रावधानअनुसार विद्युत् खरिद गर्ने निर्णय गरेका थिए । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन र खपतको लक्ष्य पूरा गर्न यस्तो ग्यारेन्टी सरकारले गरेको उनले बताए ।

     

    पुष्प कोइराला

    स्रोत:नयाँपत्रीका