आश्विन २३, २०७४-निमार्णाधीन ४ सय १० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ । अपर्याप्त बजेट तथा जनशक्ति र स्रोतसाधनको अभावका कारण आयोजना निर्माणले गति लिन नसकेको हो ।
विगत १ वर्षअघिदेखि आयोजनाको मुआब्जा वितरण, पूर्वाधार निर्माणलगायत कार्य अलपत्र परेका छन् । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) कार्यसमेत धीमा गतिमा रहेको छ । अपर्याप्त बजेट, जनशक्ति र स्रोतसाधनको अभावका कारण आयोजना निर्माणले गति नलिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रसिंह भण्डारीले बताए ।
बजेट अभावमा मुआब्जा वितरण कार्य अलपत्र परेको भण्डारीले बताए । चालु आर्थिक वर्षमा मुआब्जा वितरणका लागि १ करोड रुपैयाँ मात्र बजेट रहेको उनले बताए । आयोजनाले हालसम्म २ सय ८१ रोपनी जग्गाको मात्र मुआब्जा वितरण गरेको छ । आयोजनाका लागि ६ हजार रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ । आयोजनाले निर्माणस्थल आसपासको २ सय रोपनीको जग्गा अधिकरणका लागि तत्काल १२ करोड रुपैयाँ मुआब्जा रकमको आवश्यकता पर्ने भण्डारीले सुनाए ।
त्यस्तै आयोजनाको कन्स्ट्रक्सन पावर निर्माण, जग्गा अधिकरण, बाँधस्थलसम्मको पहुँच मार्ग निर्माण, १ सय १२ किलोमिटर दूरीको ४ सय केभी प्रसारण लाइन, कार्यालय भवन निर्माण, वातावरण अध्ययन तथा बस्ती विकासलगाएत कार्य पनि अघि बढ्न सकेका छैनन् । डीपीआरको कार्य सुरु भएको डेढ वर्ष बित्दासमेत कार्यक्षेत्रमा ड्रिलिङबाहेक खासै प्रगति हुन सकेको छैन ।
अस्ट्ेरलियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभी परामर्शदाता कम्पनीले ९४ करोड रुपैयाँ लागतमा डीपीआर निर्माणको जिम्मा लिएको छ । ‘परामर्शदाता कम्पनीले ड्याम, टनेल र पावर हाउस डिजाइनका साथै आर्थिक तथा प्राविधिक र वातावरणीय प्रतिवेदन तयार पार्नेछ,’ भण्डारीले भने । डीपीआर अवधि ३० महिना रहेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । यसअघि आयोजनाको बाँधस्थल र जलाशय आसपासमा अटोमेटिक एन्ड डिसार्ज गेजिङ तथा वेदर स्टेसन स्थापना गर्ने, बिल्डिङ एन्ड क्याम्प प्लान र वाटरसेड म्यानेजमेन्ट प्लान भइसकेका छन् ।
त्यसैगरी फाइनान्सियल मोडालिटी स्टडी, मार्केट सर्भे, ल्यान्ड एन्ड प्रोपर्टी इन्भेन्टोरी सर्भे, सोसियोइकनोमिक बेसलाइन सर्भे, हाइड्रोलोजिकल, भूकम्प सर्भे, भौगर्भिक सर्भे, कोर ड्रिलिङ, पावर अटिमाईजेसन, फिल्ड सर्भेलगायत सम्भाव्यता अध्ययनका कार्य सम्पन्न भइसकेको अधिकृत भण्डारीले बताए ।
जाजरकोटको खगेनकोट दल्लीमा निर्माण हुन लागेको नलगाड आयोजनाको आर्थिक वर्ष ०७४/७५ मा ५२ करोड रुपैयाँ मात्र बजेट रहेको छ । यसमध्ये ३० करोड रुपैयाँ डीपीआरका लागि खर्च हुने भण्डारीले बताए । आयोजनाका लागि २ सय मिटर उचाइ तथा ६ वर्गकिलोमिटर क्षत्रेफलको बाँध, १० किलोमिटर सुरुङमार्ग र खगेनकोटको दल्लीमा भूमिगत पावरहाउस निर्माण हुनेछन् ।
स्रोत:कान्तिपुर






