भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी

    1308

    सहमतिअनुसार विकास निर्माणमा नसघाएको भन्दै भेरी–बबई डाइभर्सनको मुख्य कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । आयोजनाको एकचौथाइ काम सम्पन्न भइसक्दा कम्पनीले विकास निर्माण तथा सरसफाइमा सहयोग नगरेका कारण तालाबन्दी गरिएको सरोकार समितिका अध्यक्ष नवीन सारूले बताए । ‘हाम्रै ठाउँका प्राकृतिक सम्पदाबाट हामीलाई फाइदा नपुग्ने भएपछि बाध्य भएर आन्दोलित भएका छौँ,’ उनले भने, ‘सहमतिअनुसारका विकास निर्माणका काम अगाडि बढाए काम गर्ने वातावरण मिलाउँछौँ ।’

    भेरी नदीको पानी बबई नदीमा मिसाएर बनेको योजनाले बाँके र बर्दियाका जनतालाई मात्र फाइदा पुग्ने, तर उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्दा स्थानीयले धुलो, धुवाँ र प्रदूषित वातावरणबाहेक केही नपाउने उनको भनाइ छ । आयोजनाले स्थानीयलाई बाटोघाटो मर्मत, खानेपानी, साना सिँचाइ योजना मर्मत तथा निर्माण, विद्यालय भवन एवं खेल मैदानको व्यवस्था गर्ने सहमति गरेको थियो । तर, अहिलेसम्म ती कुनै सहमतिअनुसार काम नभएको मजदुर युनियनका प्रेम महतराले भने । निर्माण कम्पनीले स्थानीयलाई रोजगारी दिने सहमति गरे पनि विभिन्न बहानामा हटाउने गरेको उनको आरोप छ ।

    मजदुर र स्थानीयका माग के–के हुन् ?
    भेरी–बबई डाइभर्सनमा स्थानीय समुदायले दसबुदेँ र मजदुरले तीनबुँदे माग अघि सारेका छन् । आयोजनाबाट अतिप्रभावित हात्तीखाल र गेरुवानीका सर्वसाधारणले पहिले शुद्ध खानेपानीका लागि दीर्घकालीन योजना तत्काल सम्पन्न गर्न माग राखेका छन् । उनीहरूले हात्तीखाल र गेरुवानीमा लिफ्ट सिँचाइ योजनामार्फत सिँचाइको व्यवस्था गर्न माग गरेका हुन् ।

    त्यस्तै हात्तीखालको जनता प्रावि र गेरुवानीको सरस्वती प्राविलाई ध्वनि प्रदूषणमुक्त बनाउन पर्खाल निर्माण गर्नुपर्ने तथा गाउँमा सम्पन्न हुन बाँकी सिँचाइ कुलो तत्काल निर्माण पूरा गर्नुपर्ने माग अघि सारेका छन् । बाढी प्रभावित क्षेत्रमा पक्की तटबन्ध, कृषि, पशुपालनलगायत अन्य सीपमूलक तालिमको व्यवस्था, खेलमैदान र पिकनिक पार्क निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

    स्रोत:नयाँपत्रीका