Landslide all over Upper Trishuli -3 A hydro project 

    1144
    नुवाकोट-दस दिनअघि गएको भूकम्पले माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजना, यस वरपरको क्षेत्र र पहुँचमार्ग तहसनहस भएको छ। भूकम्पको त्रास, कामदार अभाव र उपकरणसमेत नष्ट भएकाले अहिले निर्माणको पूरै काम रोकिएको छ। 
    नुवाकोट र रसुवाको सीमामा निर्माण भइरहेको ६० मेगावाटको आयोजनामा कार्यरत नेपाली मात्रै होइन चिनियाँ कामदारसमेत निर्माणस्थलमा छैनन्। भूकम्पले दुई जिल्लाका अधिकांश गाविस ध्वस्त भएका छन्। आयोजनामा काम गर्ने सबै नेपाली हिँडेकाले पनि निर्माणस्थल सुनसान छ।
    भूकम्पमा परेर आयोजनामा काम गर्ने ३ नेपालीको मृत्यु र २ चिनियाँ कामदार घाइते भएको आयोजनाको ठेकेदार चाइना गेजुबा ग्रुप कम्पनी (सिजिजिसी) ले जानकारी दिएको छ। सिजिजिसीका अनुसार त्यहाँ काम गर्ने ५ नेपाली सम्पर्कविहीन छन्।
    ‘आयोजनाको हेडवर्क्स लगायत अधिकांश क्षेत्र ध्वस्त भएकाले सम्पर्कमा नरहेका कामदार भूकम्पमा परे वा घर फर्के थाहा छैन,’ सिजिजिसीका आयोजना प्रमुख वाङ जियाङले भने, ‘सम्पूर्ण उपकरण नष्ट भएका छन्, कसरी काम सुरु गर्ने भन्नेमा अन्योल छ।’
    नेपाल विद्युत प्राधिकरणले सहयोग नगर्दासम्म काम सुरु गर्न नसकिने जियाङले बताए। निर्माणाधीन विद्युतगृहदेखि हेडवर्क्ससम्म पुग्ने करिब ७ किलोमिटर सडक पूरै भत्केको छ। ‘ठाउँठाउँमा पहिरो गएको छ,’ उनले भने, ‘पहुँचमार्ग खुलाउनै महिनौं लाग्न सक्छ।’
    भूकम्पले घर भत्काएर बिचल्ली परेका सयौं व्यक्तिलाई अहिले सिजिजिसीले आफ्नो क्याम्पमा राखेको छ। उनीहरुको प्राथमिक स्वास्योपचार समेत उसैले गरेको छ। दर्जनौं व्यक्तिलाई गाउँबाट उद्धार गरेर क्याम्पमा ल्याइएको जियाङले जानकारी दिए। ‘विपत्तिमा के गर्ने, कसरी काम सुरु गर्ने र आयोजना सक्ने भन्ने चिन्ता छ,’ जियाङले भने।
    भूकम्पले नुवाकोट र रसुवाका अधिकांश गाविस क्षतिग्रस्त छन्। आयोजनामा काम गर्ने अधिकांश कामदार स्थानीय भएकाले उनीहरु काममा फर्किन्छन्, फर्किन्नन् निश्चित छैन। तर, ८–१० दिनपछि बाटो खुलाउने काम सुरु हुने आयोजना प्रमुख उत्तम अमात्यले दाबी गरे।
    ‘निर्माणस्थलमा विद्युत बिच्छेद भएको छ, प्राधिकरणले २/३ दिनभित्रै बिजुली सुचारु गर्ने भनिसकेको छ,’ उनले भने, ‘ठेकेदारका केही उपकरण नष्ट भएका छन्, केही पानीमा डुबे पनि निकालेर काम गर्न मिल्छ।’ नष्ट भएका उपकरण नल्याउँदासम्म काम हुँदैन, त्यसैले पूर्णरुपमा काम सुरु हुन करिब महिना लाग्ने उनले बताए।
    भूकम्पले क्षति नपुर्यायएको भए अबको करिब १५ महिनामा आयोजनाबाट बिजुली उत्पादन हुन्थ्यो। तर, अब आयोजनाको निर्माण थप एक वर्ष पछाडि धकेलिने निश्चित भएको छ। आयोजना प्रमुख अमात्यले भने भूकम्पकै कारण आयोजना थप ७/८ महिनामात्र लम्बिन सक्ने दाबी गरे।
    निर्माणमा गम्भीर क्षति पुगेकाले त्यसको पुनःडिजाइन गर्नुपर्नेमा जियाङले जोड दिएका छन्। ‘पूरै डिजाइन परिवर्तन नगर्दासम्म काम गर्न सकिँदैन,’ उनले भने। तर, प्राधिकरण उत्पादन निर्देशनालयका उप–कार्यकारी निर्देशक शेरसिंह भाटले डिजाइन नै परिवर्तन गर्नुपर्ने गरी आयोजनामा क्षति नपुगेको दाबी गरे।
    ‘कुन–कुन कामको पुनःडिजाइन गर्नुपर्ने हो, त्यो ठेकेदारले अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘यदि पुनःडिजाइन गर्नुपर्ने देखिए उसैले चीनबाट प्राविधिक झिकाउनुपर्छ। इपिसी (सिभिल, इलेक्ट्रो तथा हाइड्रोमेकानिकल निर्माण एउटै ठेक्कामा गर्ने) ठेक्का भएकाले यो उसैको जिम्मेवारी हो।’
    तोकिएको समय र लागतमा आयोजना पूरा हुन नसक्ने ठेकेदारले चिन्ता व्यक्त गरे पनि भूकम्पका कारण निर्माणमा लाग्ने बढी समय प्राधिकरणले थप्ने भाटले बताए। तोकिएको समयमा आयोजना नसकिए पनि बैंक ग्यारेन्टी जफत नहुने भन्दै उनले ठेकेदारलाई आश्वस्त पारे।
    आयोजना चिनियाँ एक्जिम बैंकको १२ करोड ५० लाख अमेरिकी डलर ऋण तथा अनुदानमा निर्माण भइरहेको छ। बैंकले उपलब्ध गराएको रकम र ठेकेदारको कामको प्रगतिको आधारमा ठेक्का रकमको करिब ४५ प्रतिशत भुक्तानी भइसकेको अमात्यले जानकारी दिए।
    क्षतिग्रस्त आयोजना अवलोकनमा पुगेका ऊर्जा मन्त्रालय नीति महाशाखाका सह–सचिव केशवध्वज अधिकारीले पनि थप समय र लागतका विषयमा चिन्ता नलिन ठेकेदारलाई आश्वासन दिए। ‘पहुँचमार्ग क्षति भएको हो, यो ठूलो समस्या होइन,’ उनले भने, ‘थप लागत लाग्ने देखिए ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमार्फत चिनियाँ एक्जिम बैंकलाई अग्रह गर्नेछ।’
    गत वर्ष वैशाखमै निर्माण सम्झौता म्याद सकिएपछि प्राधिकरणले २६ महिना समय थपेको थियो। सुरुमा ६० मेगावाट बनाउने गरी सम्झौता गरिएको आयोजना निर्माणको बीचमा ९० मेगावाट क्षमता बढाउने, नबढाउने विवाद हुँदा पनि निर्माण रोकिएको थियो।
    ४ किलोमिटर सुरुङ निर्माण पूरा भएको जानकारी दिँदै अमात्यले आयोजनाको निर्माण हालसम्म करिब ७५ प्रतिशत सकिएको बताए। ठेक्का सम्झौता गर्दा तत्कालीन ऊर्जामन्त्री प्रकाशशरण महतले नै क्षमता ९० मेगावाट बनाउन सक्ने सम्भावना छोडेकाले आयोजना महँगो हुँदै गएको हो।
    आयोजनाको सुरुको लागत ८० लाख ९० हजार अमेरिकी डलर (करिब ९ अर्ब रुपैयाँ) अनुमान गरिएको थियो। एक अमेरिकी डलरको सटही दर ७५ रुपैयाँ हुँदा आयोजनाको ठेक्का सम्झौता भएको थियो। सटही दर बढ्दै गएकाले डलरकै कारणले पनि लागत करिब २–३ अर्ब रुपैयाँ थपिएको छ। 

    त्रिशूली र देवीघाट बन्द

    नुवाकोट– भूकम्पका कारण जिल्लास्थित २४ मेगावाट त्रिशूली र १४ मेगावाटको देवीघाट जलविद्युत आयोजना बन्द भएका छन्। बाँध र पानी सञ्चय गर्ने मुख्य पोखरी चर्केका कारण दुवै आयोजना बन्द भएका हुन्।
    त्रिशूली विद्युतगृहबाट निस्केको पानी प्रयोगमा ल्याएर देवीघाट क्यासकेड आयोजनाको रुपमा निर्माण गरिएको हो। यसैले त्रिशूली बन्द हुँदा देवीघाट स्वतः बन्द हुन्छ।
    मर्मत गरेर डेढ सातामा आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरण उत्पादन निर्देशनालयका उप–कार्यकारी निर्देशक शेरसिंह भाटले बताए।
    नेपाल विद्युत प्राधिकरणले २०२७ मा २१ मेगावाट क्षमतामा त्रिशूली र २०४१ मा देवीघाट बनाएको हो। २०५३ मा त्रिशूलीको क्षमता बढाएर २४ मेगावाट पुर्याएइएको थियो।

    सोंत: नागरिक