सिँचाइ र पानीमा सहकार्य गर्न जापान इच्छुक

1334

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले नेपालको सिँचाइ र पानीको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेट्न पुगेको प्रतिनिधिमण्डलका प्रतिनिधिले सिँचाइ र पानीमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँड्नेलगायतमा सहकार्यमा आफूहरू इच्छुक रहेको बताएका हुन् । बिहीबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्तामा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको कृषि क्षेत्रको विकासका लागि सिँचाइको महत्वपूर्ण भूमिका हुने भन्दै यसका लागि सहकार्य गर्न आग्रह गरे । मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी बबई, रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिँदै सिँचाइ क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरे ।

मन्त्री पुनले जल उत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिँचाइ र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए । “नेपालमा के कस्ता सम्भावना छन्, हामी त्यसको अध्ययन, अनुसन्धानका लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ,” उपमहानिर्देशक ताकामीले भने । भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगोसमेत सहभागी थिए । उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको बेला कृषि क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमण दल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए ।

 स्रोत :कारोबार