विद्युत् ट्रिपिङले उद्योगहरू संकटमा

    1316

    दैनिक १५ देखि २० पटकसम्म विद्युत् ट्रिपिङ हुँदा उद्योग चलाउन कठिन

    लमजुङ जिल्लामा विद्युत् ट्रिपिङ बढ्न थालेपछि स्थानीय उद्योगहरू प्रभावित हुन थालेका छन् । तनहुँको डुम्रे हुँदै लमजुङ ल्याइएको १ सय ३२ केभिएको प्रसारणलाइनमा विभिन्न कारणले अवरोध आउन थालेपछि जिल्लामा ट्रिपिङको समस्या बढेको हो ।

    विद्युत् ट्रिपिङ भनेको विद्युत् आइरहँदा बीच–बीचमा लाइन आउनु र जानु हो । करिब एक महिनादेखि निरन्तर विद्युत् ट्रिपिङ भइरहँदा उद्योगहरूको उत्पादन क्षमतामा समेत गिरावट आएको युनिक बेकरीका सञ्चालक शिव सिलवालले बताए ।

    उनका अनुसार विद्युत् आपूर्ति नियमित नहुँदा डेढ लाखबराबरको उपकरणमा समेत क्षति भएको छ । ‘विद्युत् ट्रिपिङका कारण १ हप्तासम्म काम प्रभावित भयो,’ उनले भने, ‘एक हप्तादेखि निरन्तर दैनिक १५ देखि २० पटकसम्म विद्युत् ट्रिपिङ हुने भइरहेको छ ।’

    विद्युत् ट्रिपिङले जिल्लामा सञ्चालित इँटा उद्योगहरू, क्रसर, काष्ठ उद्योग, दालमोठ उद्योग, पाउरोटी उद्योगलगायतका साना तथा मझौला उद्योगहरू मर्कामा परेको रञ्जना रश्मि इँटा उद्योगका सञ्चालक रमेशराज पाठकले बताए ।

    विद्युत् अनियमित हुँदा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई समेत असर पु¥याएको छ ।  नेपाल विद्युत् प्राधिकरणको मातहतमा रहेर जिल्लामा विद्युत् वितरण गर्ने जिम्मा लिएको लमजुङ विद्युत् उपभोक्ता संस्था रानीकुवाले प्रवाह गरेको विद्युत्मा कहिले उच्च भोल्टेज त कहिले कम भोल्टेज आउने समस्या देखिएको छ ।

    जिल्लामा ट्रान्सफर्मर पड्किने र जल्नेक्रम बढेकाले छिनछिनमै बत्ती आउने–जाने समस्या भएको विद्युत् उपभोक्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले बताए ।

    जिल्लामा विद्युत् वितरणको जिम्मा पाएको लमजुङ विद्युत् उपभोक्ता संस्थाले कमजोर विद्युतीय संरचनाहरू मर्मत नभएसम्म ट्रिपिङको समस्या समाधान नहुने बताएको छ ।

    विद्युत् ट्रिपिङले उद्योगहरूले ढुक्कसँग काम गर्न नपाएको लमजुङ उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले बताए ।

    बेँसीसहर सेरास्थित होटेल माउन्टेन भ्यूका सञ्चालक विष्णुनिधि लोहनी भन्छन्, ‘सहरबजारको हालत त यस्तो छ भने दुर्गम गाउँहरूमा कस्तो समस्या होला ?’

    लमजुङमा ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी, ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाट क्षमताको राधी खोला जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारणलाइन जोडिएको छ ।

    स्रोत:नयाँपत्रीका