रसुवामा आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प

2055

रसुवा – रसुवामा निर्माण भइरहेका आधा दर्जन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । कोरोना भाइरसका कारण आयोजनाको काम पूर्ण बन्द भएको हो ।

लकडाउनका कारण निर्माण सामग्री अभाव, कामदार अभाव, सामग्री ढुवानी लगायतमा समस्या आएकाले आयोजनाको काम अघि बढ्न नसकेको हो ।

१४.७ मेगावाटको फलाखुखोला, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए, ५ मेगावाटको फलाखुखोला जलविद्युत् आयोजनाले गएको असारदेखि नै काम गरेका छैनन् ।

नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ कामदार साउनमा चीन फर्किएका थिए । उनीहरू कात्तिकपछि आउने तयारी थियो । तर भिसाको म्याद सकिएपछि उनीहरू आउन पाएनन् । बर्खामा काम नगर्ने भन्दै असारमा चिनियाँ कामदार फर्किएका थिए । अर्को परियोजनामा काम गर्न उनीहरू नेपाल आएका थिए ।

अर्को परियोजनाबाट यो आयोजनामा आएका उनीहरूको पुरानो परियोजनाको काम सकिएपछि यहाँ बस्न सम्भव भएन । वर्किङ भिसामा उनीहरूलाई ल्याउन प्रक्रियागत झन्झट भएपछि ढिलाइ भएको थियो । त्यसपछि दुवै फलाखु खोला आयोजनाले काम रोके ।

वर्षको ६ महिना मात्र काम हुने ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाले पनि साउनयता काम गर्न सकेन । काम गर्ने मुख्य सिजनमा नै कोरोना भाइरसको त्रास बढेपछि आयोजनाको काम रोकिएको आयोजना प्रमुख जीतमान शेर्पाले बताए । यो आयोजनाको ८५ प्रतिशत काम सकिएको छ ।

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको यो आयोजना २०६९ देखि निर्माण सुरु भएको हो । भूकम्प, नाकाबन्दी, ठेकेदार परिवर्तन, वर्षा र हिउँ पर्ने समयमा काम हुन नसक्ने भएका कारण कामले गति लिन नसकेको हो ।
निर्माण कार्य सुरु गर्दै गरेको रसुवा भोटेकोसी जलविद्युत् आयोजनाको काम सुरु नहुँदै रोकियो । आयोजनाको उद्घाटन गरेर निर्माण सुरु गरेको करिब एक महिनामै यसको काम रोकियो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा निर्माण भइरहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाले चीनमा कोरोना फैलन सुरु गरेदेखि नै काम अघि बढाएको छैन । निर्माण प्रक्रिया सुरु हुँदै गरेका आयोजनाले काम नै सुरु गरेनन् भने सुरु भएका आयोजना पनि अहिले बन्द भएका छन् । लकडाउन हटेर सामग्री ढुवानी सहज भएपछि काम अघि बढाउने आयोजनाहरूले जानकारी दिएका छन् ।

स्रोत : नागरिक