६ वर्षपछि नेपाल–भारत विद्युत् बैठक बस्दै

    1071

    काठमाडौ: नेपाल–भारत विद्युत् आदानप्रदान समितिको ११ औं बैठक ६ वर्षपछि आउँदो मंगलबार भारतको राजधानी नयाँदिल्लीमा हुने भएको छ । विद्युत् आयात र विद्युत्को मुल्य तोक्ने  जिम्मेवारी पाएको यो निकायको वैठकमा नेपालले विभिन्न चार प्रस्ताव गरेको छ ।

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आगामी बुधबार (साउन २५)मा बैठकका लागि प्रस्ताव गरेकोमा नेपाल विद्युत् प्राधिकरणले आगामी साउन २३, २४ र २५ गते बस्नसकिने प्रस्ताव थियो । प्राधिकरणकै प्रस्तावमध्ये भारतको प्राधिकरणले साउन २४ का लागि तय गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

    “भारतीय विद्युत् प्राधिकरणले आगामी मंगलबारको लागि बैठक बस्न पत्राचार भएपछि ६ वर्षपछि बैठक बस्न लागेको छ,” उनले भने । सन् २०११ मा दुई देशबीच विद्युत् आदानप्रदान समितिको अर्को बैठकबाट तय गर्ने गरी तत्कालका लागि ५.५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको थियो । तर, विद्युत् प्राधिकरणले पटकपटक बैठकका लागि प्रयास गर्दा पनि बस्न सकेको थिएन ।

    भारत समक्ष नेपालका ४ प्रस्ताव
    –विद्युत् महसुल पुनरावलोकन
    –तीन नाकाबाट ११० मेगावाट थप आयात
    –टनकपुर सबस्टेसनको क्षमता वृद्धि

    गत चैतमा नेपाल र भारतबीचको सचिवस्तरीय बैठक बस्नुअघि आदानप्रदान समितिको बैठक गर्ने तय गरिएपनि स्थगित भएको थियो । बैठक नबस्दा विगत ६ वर्षदेखि प्रत्येक वर्ष टनकपुर र ढल्केबर–मुज्जफरपुर प्रसारण लाइनबाहेकका अन्य १२ नाकाबाट आयात गरिएको विद्युत्को भाउ प्रत्येक वर्ष ५.५ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भ्रमण अघि नै र भारतीय विद्युत् राज्यमन्त्री पियुष गोयलको भ्रमण अघिनै बैठक बस्नका लागि भारतीय प्राधिकरणले आफै सक्रियता देखाएका थिए ।

    प्राधिकरणका अनुसार मार्च २०१७ सम्मका ३३ केभीमार्फत ल्याएको विद्युत्को भाऊ प्रतियुनिट भारतीय रूपैयाा ६.०८ अर्थात ९.७२ रूपैयाँ, ११ केभीमार्फत भारतीय ६.५३६ अर्थात १०.४५ तथा १३२ केभीमार्फत ५० मेगावाटसम्मको भारतीय ५.६२ अर्थात ८.९९ र ५० मेगावाट माथि भारतीय ५.५५ अर्थात ८.८८ रूपैयाँमा आयात गर्दै आएको छ ।

    प्राधिकरणले ३३ केभीमार्फत रक्सौल, सिरहा, जलेश्वर, कटैया र नानपारा नाकाबाट करिब ५० मेगावाट, ११ केभीमार्फत लाली, हुटी र जौलीजीवीमार्फत ९ सय किलोवाट तथा १३२ केभीमार्फत कटैया–कुसाहा प्रसारण लाइनमार्फत १ सय ३० र गण्डक–रामनगरमार्फत ३० मेगावाट आयात गरिरहेको छ ।

    विद्युत् आदानप्रदान बैठकमा हाल कायम रहेको विद्युत्को भाऊ पुनरावलोकन लगायतका चार प्रस्ताव विद्युत् प्राधिकरणले गर्न लागेको छ । नरावलोकनको प्रस्ताव गर्ने भएपनि कति गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

    बैठकमा रक्सौल–परवानीपुरबाट ५०÷५० मेगावाट विद्युत् थप आयात, धनगढी–पालियाबाट थप १० मेगावाट आयात र हाल ५० एमभीएको रहेको टनकपुर सवस्टेशन १०० एमभीए बनाउन प्रस्ताव गरिने प्रवक्ता अधिकारीले जानकारी दिए ।

    स्रोत:कारोबार