Concept paper prepered for Energy Emergency

    1702

    ऊर्जासङ्कट निवारण कालको अवधारणापत्र तयार

    energy_emg

    माघ २४, काठमाडौं । ऊर्जा मन्त्रालयले ऊर्जासङ्कट समाधानका लागि ल्याउन लागेको ऊर्जासङ्कट निवारणकालको कार्ययोजना (अवधारणापत्र)  तयार गरेको छ । जलस्रोत तथा ऊर्जा पत्रकार समाज र इनर्जी डेभलपमेण्ट काउन्सिलले आइतवार आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उक्त जानकारी दिएका हुन् ।

    ‘शनिवार बेलुका मन्त्रालयले यससम्बन्धी काम पूरा गरेको छ,’ उनले भने । अब मन्त्रिपरिषद्बाट उक्त अवधारणा पत्र पारित गर्नुअघि प्रधानमन्त्रीलाई ब्रिफिङ गरिने छ । त्यसपछि यसै हप्ता मन्त्रिपरिषद्को बैठकबाट पारित गरिने मन्त्री रायमाझीले जानकारी दिए । ‘मन्त्रिपरिषद्ले उक्त अवधारणापत्र पारित गरेपछि मन्त्रालयले गर्ने काम, मन्त्रिपरिषद्ले गर्ने काम र संसद्ले गर्ने कामको विभाजन हुनेछ,’ उनले भने ।

    अवधारणापत्र पारित भएपछि त्यसमा उल्लिखित कार्ययोजना तत्कालै शुरू गर्ने र दीर्घकालीन तयारीमा पनि लाग्ने मन्त्रालयको योजना छ । अवधारणामा तत्कालका लागि १ वर्षे कार्यक्रम, त्यसपछि २ वर्षे र १० वर्षे कार्यक्रममा बाँडेर काम गर्ने मन्त्रालयको तयारी छ । सङ्कटकाल लगाउनु भनेको दमन गर्नु नभई कामलाई फाष्ट ट्र्याकमा अघि बढाउने उद्देश्य रहेको उनको भनाइ छ ।

    फागुनदेखि ऊर्जाक्षेत्रमा उथलपुथल ल्याउने गरी काम शुरू गरिने उपप्रधान तथा ऊर्जामन्त्रीले दाबी गरे । ‘त्यसपछि पनि काम नभए मेरो आलोचना गर्नुहोला,’ उनले भने । ‘सरकारको पहिलो प्राथमिकता विद्युत् उत्पादन हो र देश ‘आत्मनिर्भर भएपछि मात्र निर्यात गर्ने हो,’ उनले स्पष्ट पारे । उनका अनुसार त्यसपछि प्रसारण लाइन, वितरण प्रणाली प्राथमिकतामा पर्नेछन् । मन्त्री रायमाझीले भारतबाहेक चीन र बङ्गलादेशसँग पनि अन्तरदेशीय प्रसारण लाइन निर्माणबारे छलफल शुरू गरिएको जानकारी दिए ।

    कार्यक्रममा ऊर्जाक्षेत्रका समस्याबारे विस्तृत अध्ययन गर्दा सङ्कटकाल घोषणा गर्न ढिला भएको ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले बताए ।

    १ वर्षमा लोडशेडिङ घटाउने योजना
    अहिले नेपालमा विद्युत्को माग १ हजार ३ सय मेगावाटभन्दा बढी छ । यो आवश्यकतालाई पूरा गर्न सरकारले १ वर्षभित्र विभिन्न स्रोतबाट विद्युत् माग पूरा गर्ने ऊर्जामन्त्रीको भनाइ छ । ‘योजनाअनुसार विद्युत् उत्पादन गरेर जनताले अनुभव गर्ने गरी लोडशेडिङ घटाइनेछ,’ उनले भने ।

    स्रोत : अभियान